शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्यानिक सेल’मा लगानीकर्ता, कहिलेसम्म घट्छ सेयर बजार ?

मङ्गलबार, ०४ असोज २०७९, १५ : १६
मङ्गलबार, ०४ असोज २०७९

गत असार १० गते १८ सयको हाराहारीमा आएको सेयर बजार मापक नेप्से परिसूचक साउन १६ गते २२२४ विन्दुमा पुग्यो । ३२ सय विन्दुबाट फर्केको बजार १८ सयबाट बढ्न थालेपछि बजारले अब गति लिन्छ कि भन्ने आश लगानीकर्ताको थियो ।

तर, बजार बढेन । नेप्से परिसूचक फेरि १८ सयको हाराहारीमा आउने गरी घटिरहेको छ । कुनै समय दैनिक कारोबार रकम २१ अर्ब रुपैयाँ पुगेको थियो । अहिले घटेर दैनिक १ अर्ब रुपैयाँभन्दा पनि कम छ ।

तुलनात्मक रूपमा राम्रा सूचीकृत कम्पनीको सेयर मूल्य पनि निकै तल आइसकेको छ । जस्तो कि कुमारी बैंकको सेयर मूल्य १८५ रुपैयाँमा झरेको छ । यस्तै, एनसीसी बैंकको १८४ रुपैयाँ, सनराइज बैंकको १९२ रुपैयाँ, लक्ष्मी बैंकको १८९ रुपैयाँ, एनएमबी बैंकको २२८ रुपैयाँ तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सेयर मूल्य ३९० रुपैयाँ छ । 

अहिले लगानीकर्ता ‘प्यानिक सेल’मा भएको कारण बजार घटिरहेको एक ब्रोकरले बताए । उनले खासगरी ३ कारणले लगानीकर्ता प्यानिकमा भएको विश्लेषण गरेका छन् ।

‘बैंक वित्तीय संस्थाको ब्याजदर निकै बढेको छ, बैंकमा पैसा राखेकै भरमा १२.१३ प्रतिशत प्रतिफल ग्यारेन्टी भएको छ, यस्तो बेलामा जोखिम लिएर सेयर बजारमा लगानी गर्ने कि विना जोखिम १२.१३ प्रतिशतको व्याज खाने भन्ने सुविधा लगानीकर्तालाई छ,’ ती ब्रोकरले भने ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमास नजिकिएको र यही बेला दसैँ जस्तो ठुलो पर्व पनि परेकोले प्यानिक सेल गर्नुपर्ने अवस्था आएको लगानीकर्ताले बताएका छन् ।

‘असोज महिनामा अब आजबाहेक सेयर बजार खुल्ने भनेको १० दिन जति मात्रै हो, यही समयभित्र असोज मसान्तमा तिर्नुपर्ने किस्ताको रकम जोहो गर्नुपर्नेछ, यही समयभित्रमा दसैँको लागि आफ्नो र स्टाफ खर्चको रकम पनि सेयर बजारबाटै निकाल्नु पर्नेछ, बैंकले ऋण नदिने, व्यापार ठप्प हुने, यस्तो बेलामा जतिमा बिक्छ, त्यतिमा सेयर बेचेर पैसा बनाउनुको विकल्प छैन,’ एक लगानीकर्ताले भने ।

अर्का एक ब्रोकर भने सेयर बजारसँग सम्बन्धित कम्पनीको लाइसेन्स खुलेका कारण पनि बजार घटेको बताउँछन् । स्टक एक्सचेन्ज, कमोडिटी मार्केट वा सेयर ब्रोकरको लाइसेन्स लिने भनेको सेयर बजारमा लागेकै मान्छेले हो भन्दै उनले लाइसेन्स लिन चाहिने रकम निकाल्नको लागि पनि सेयर बिक्रीको चाप बढेको उनले बताए ।

‘ब्रोकरको लाइसेन्स सेयरमा लगानी गर्नेले नै लिन खोज्छ, स्टक एक्सचेन्जको लाइसेन्स पनि सेयर बजारमा लागेको व्यक्तिले नै लिन खोज्छ, यही बेला लाइसेन्स खुलेको छ, अनि जतिमा सेयर बिक्री हुन्छ, त्यतिमा बेचेर पैसा जुटाउनेहरू पनि सक्रिय भएका छन्,’ ती ब्रोकरले भने ।

कहिलेसम्म घट्छ बजार ?

सेयर बजार कहिलेसम्म घट्छ वा बढ्छ र बढेर वा घटेर कति पुग्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ । तर, अहिले बजार जुन गतिमा घटिरहेको छ, यो घट्ने क्रम असोजपछि रोकिन सक्ने लगानीकर्ताहरूको विश्लेषण छ ।

‘ब्रोकरको, स्टक एक्सचेन्जको वा कमोडिटी मार्केटको लाइसेन्स लिन सेयर बिक्री गरेको व्यक्तिले त्यस्तो लाइसेन्स लिन चाहिने रकमसम्मको सेयर बिक्री गर्छ, असोज मसान्तको लागि बैंकको किस्ता तिर्न सेयर बिक्री गरिरहेको व्यक्तिले असोज मसान्तपछि सेयर बिक्री रोक्छ, दसँैको लागि रकम जोहो गर्न सेयर बेचेको रहेछ भने दसैँ अघिसम्म मात्रै बिक्री हुने भयो, त्यसैले अहिले देखिएका ३ प्रमुख कारणमध्ये जुन कारणले सेयर बिक्रीको चाप बढेको भएपनि यो चाप असोज मसान्तसम्मको लागि मात्रै हो जस्तो देखिन्छ,’ अर्का एक लगानीकर्ताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप