बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थप उपचारका लागि काठमाडौं नजाने गोविन्द केसीको अडान

मङ्गलबार, ०४ असोज २०७९, १५ : २९
मङ्गलबार, ०४ असोज २०७९

धनगढीमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो ।

सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए । 'उहाँ धनगढी मै बस्ने अडानमा हुनुहुन्छ । जतिसक्दो चाडो सरकारले माग सुनुवाई गर्‍यो त्यसपछि मात्र थप उपचार गराउने भन्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ,' सुवेदीले भने । 

उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको पेटमा कडा खालको अल्सर देखिएको बताएको छ । ९ दिनदेखि भोक हड्तालमा रहेका केसीलाई सेती प्रादेशिक अस्पतालका विज्ञ टोलीले हेर्दै आएका छन् । उनमा धेरै कमजोरी, टाउको दुख्ने, रिँगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, जस्ता समस्या देखिएको अस्पतालले जनाएको छ । उनको शरिरमा रक्तचाप र अक्सिजनको मात्रा कम, मांशपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखिएको अस्पतालले जनाएको छ । 

डा. केसीले मुखबाट पानी र नशाबाट रिङगर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ नलिने भनि निषेध गरेका छन् । मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न चिकित्सको सल्लाह छ । सोही आधारमा उनलाई काठमाडौं रिफर गर्न खोजिएको हो । तर, उनले माग पुरा नभएसम्म धनगढीबाट कतै नजाने अडान लिएका छन् ।  

उनको माग सम्बोधनको विषयमा सरकार र केसीको प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा रहेका सुवेदीले कुनै निष्कर्ष ननिक्लिएको बताए । 'अहिले पनि वार्तामै छौं । अहिलेसम्म केही पनि भएको छैन् । हाम्रो तर्फबाट डाक्टर केसीले उठान गरेका माग राखेका छौं । सरकारी टोलीले केही जवाफ दिएको छैन्,' सुवेदीले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप