बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकको बन्दसूचीपछि गठबन्धनभित्र कहाँ–कहाँ खुल्यो सहमतिको ढोका ?

मङ्गलबार, ०४ असोज २०७९, १६ : ५४
मङ्गलबार, ०४ असोज २०७९

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस भएका केही क्षेत्रमा सहजता देखिएको छ । सोमबार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि गठबन्धनका नेताहरू पुनः प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका छन् । 

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको कार्यदलका सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । १६५ मध्ये करिब ४५ सिटमा मात्र सहमति जुटाउन गठबन्धनमा सकस परेको छ । त्यसमा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी  र जसपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा दोहोरो दाबी भएका क्षेत्रका नेता समेटिएपछि सिट बाँडफाँटमा केही सहज हुने कार्यदलका एक सदस्यले रातोपाटीलाई बताए ।

गठबन्धनको कार्यदलका एक सदस्यका अनुसार समानुपातिकको बन्दसूचीको केही नाम हेर्दा नेताहरूको क्षेत्र हेरफेरको हुने सम्भावना बढेको छ  । गठबन्धनमा सहमति जुटाउन सबैभन्दा पेचिलो बनेको केही क्षेत्रमा सहमति खोज्न सजिलो दिएको उनको भनाइ छ ।

ती सदस्यका अनुसार अब डोटी, नुवाकोट– १, झापा – २ दाङ–१, धनुषा – १, बारा – ३ र ४, तनहुँ – १ लगायतका क्षेत्रमा सिट बाँडफाँटको सहमति जुटाउन सहजता हुने छ ।

डोटी – एकीकृत समाजवादी

डोटीमा एकीकृत समाजवादीलाई छोडेर कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर कैलाली झर्न सहमत भएको बुझिएको छ ।

बलायरलाई कैलाली – ४ र ५ मध्ये रोजेर उम्मेदवार बन्न देउवाले प्रस्ताव गरेको बालुवाटार स्रोतले बताएको छ । कांग्रेस नेतृ आरजु राणा देउवाले समानुपातिक रोजेपछि कैलाली– ५ मा नयाँ उम्मेदवार खडा हुने परिस्थिति बनेको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी आरजु समानुपातिक बसेपछि बलायर कैलाली आउने सम्भावना बलियो बनेको कांग्रेस नेताहरू बताउँछन् । डोटी कांग्रेसको बैठकमा बलायरले आफूले जिल्ला छोडेको संकेत पनि गरेका थिए ।

नुवाकोट – १ माओवादी

कांग्रेस प्रवक्ता प्रकाशशरण महत समानुपातिकमा बसेपछि नुवाकोट – १ मा सो पार्टीको दाबी कमजोर बनेको छ । ०७४ मा काठमाडौँ – ५ मा पराजित भएका महत यसपटक नुवाकोट – १ बाट चुनाव लड्न चाहेका थिए ।

०७४ मा आफूले जितेको क्षेत्र छोड्न माओवादी केन्द्रले नमानेपछि महतले समानुपातिक रोजेको बुझिएको छ । अब नुवाकोट– १ मा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा आउने निश्चित भएको छ ।

झापा – २  माओवादी

झापा २ मा कांग्रेस र माओवादी दुवै दलको दाबी थियो । कांग्रेसले झापा – २ माओवादी केन्द्रलाई छोड्ने भएको छ । झापा– २ बाट प्रत्यक्षमा चुनाव लड्ने सोच बनाएकी केन्द्रीय सदस्य सरिता प्रसाईँ समानुपातिकमा बसेकी छन् ।

पार्टी सभापतिले झापा – २ माओवादी केन्द्रलाई छोड्नुपर्ने संकेत गरे पनि प्रसाईँले समानुपातिक रोजेको पाइएको छ ।

दाङ - १ एकीकृत समाजवादी

गठबन्धनभित्र दाङ – १ एकीकृत समाजवादीको भागमा पर्ने निश्चित देखिएको छ । कांग्रेसबाट दाङ १ का सशक्त दाबेदार केन्द्रीय सदस्य योगेन्द्र चौधरी समानुपातिकमा बसेपछि यहाँ एकीकृत समाजवादीले पाउने भएको हो ।

कांग्रेसले चौधरीको नाम थारुकोटाको खुलातर्फ एक नम्बरमा राखेको छ । दाङ १ कांग्रेसले नपाए विद्रोह गर्ने बताउँदै आएका चौधरी समानुपातिकमा बसेपछि एकीकृत समाजवादीलाई हाइसन्चो भएको छ ।

धनुषा – १ माओवादी

धनुषा– १ मा कांग्रेसका मुख्य दाबेदार आनन्द ढुङ्गाना समानुपातिक बसेका छन् । ०७४ मा माओवादी केन्द्रका उम्मेदवार मात्रिका यादव विजयी भएका थिए ।

तर कांग्रेसका केन्द्रीय ससदस्य तथा अनुशासन समितिका संयोजक ढुंगानाले धनुषा– १ मा दाबी गरे पनि सिट बाँडफाँटमा सहमति हुन सकेको थिएन । उनी समानुपातिक बसेपछि यहाँ अब माओवादी केन्द्रका लागि मैदान खाली भएको छ ।

बारा – ३ जसपा

बारा– ३ मा जसपाले पाउने निश्चित भएको छ । कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुर समानुपातिक उम्मेदवार बनेपछि त्यहाँ जसपाको एकल दाबी हुन पुगेको छ । प्रत्यक्षमा चुनाव लड्न हठ गर्दा गठबन्धनभित्र समस्या हुने देखिएपछि मन्सुर समानुपातिक उम्मेदवार बनेको बुझिएको छ ।

तनहुँ–१ र बारा– ४

यस्तै बारा– ४ गठबन्धनमा एकीकृत समाजवादीले पाउने भएको छ ।  तनहुँ– १ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडेर एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले बारा –४ रोजेका छन् । ०७४ मा तत्कालीन राजपा (हालको लोसपा)ले जितेको सो क्षेत्रमा गठबन्धनबाट श्रेष्ठ उम्मेदवार बन्ने छन् ।

यहाँ कांग्रेस र जसपाले दाबी गरे पनि तनहुँ– १ छोडेका श्रेष्ठको सम्भावना बलियो देखिएको छ । कांग्रेसका उम्मेदवार पौडेललाई पराजित गरेर ०७४ मा तत्कालीन एमालेबाट तनहुँ १ मा श्रेष्ठ विजयी भएका थिए । अब त्यहाँ पौडेल उम्मेदवार बन्ने पक्का भएको हो ।

काठमाडौँ – २ मा अब कांग्रेस–माओवादी मात्र दाबी

काठमाडौं – २ प्रत्यक्षतर्फ दाबी गरेका एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल समानुपातिक उम्मेदवार बनेका छन् । ०७४ मा तत्कालीन बाम गठबन्धनबाट एमालेका उम्मेदवार (हाल एकीकृत समाजवादीका अध्यक्ष) माधव नेपाल निर्वाचित भएको काठमाडौं २ मा अब माओवादी र कांग्रेसको मात्र दाबी छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट – १ बाट उम्मेदवार हुने भएपछि काठमाडौँ – २ मा हमाल उम्मेदवार बन्ने चर्चा थियो । उनी समानुपातिक बसेपछि काठमाडौं २ अब कांग्रेस र माओवादी मध्ये एउटाले पाउने भएको छ ।

समानुपातिक बस्न नमानेपछि...

सोलुखुम्बु, खोटाङ, सिन्धुपाल्चोक– १ लगायतमा भने गठबन्धनभित्र दोहोरो–तेहोरो दाबीले सहमति खोज्न समस्या देखिएको छ।

सोलुखुम्बुमा कांग्रेस र माओवादीको स्ट्रङ दाबी छ । ०७४ जितेको क्षेत्र छोड्न माओवादी तयार देखिएको छैन भने कांग्रेसका शीर्ष नेता बलबहादुर केसी कुनै हालतमा प्रत्यक्ष चुनाव लड्ने अडानमा छन् ।

पार्टी मातहतका कमिटीले समानुपातिकमा नाम सिफारिस गरेको असन्तुष्टि जनाएका केसीले प्रत्यक्ष चुनाव लड्ने घोषणा गरिसकेका छन् । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा केसीको नाम समेटिएको छैन ।  केसी समानुपातिकमा नबसे पनि सोलुखुम्बुमा सिट बाँडफाँट पेचिलो बन्ने देखिएको छ ।

खोटाङमा पनि कांग्रेस, माओवादी र जसपाको सशक्त दाबी छ । ०७४ मा एमालेले जितेको क्षेत्रमा कांग्रेस, माओवादीसँगै जसपाको पनि दाबी रहेपछि सहमति खोज्न जटिलता थपिएको कार्यदलका एक सदस्यको भनाइ छ ।

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले नै खोटाङबाट चुनाव लड्ने इच्छा देखाएपछि कांग्रेस र माओवादी दबाबमा परेका छन् । ०७४ मा सुनसरी– १ मा एमाले उम्मेदवारसँग पराजित राईले उक्त क्षेत्र छोड्ने सोच बनाएको पाइएको छ ।

गठबन्धनमा सहमति जुटाउन निकै गाह्रो परेको क्षेत्रमा सिन्धुपाल्चोक – १ पनि हो । कांग्रेसका नेता मोहन बस्नेत र सभामुख तथा माओवादीका नेता अग्निप्रसाद सापकोटा दुवैले प्रत्यक्ष चुनाव लड्ने अडान लिएपछि सहमति जुटाउन सकस परेको देखिन्छ । 

बस्नेत र सापकोटा मध्य एक जनालाई समानुपातिक उम्मेदवार बन्न देउवा र प्रचण्डको आग्रह गरेका थिए । तर उनीहरू दुवै जनाले समानुपातिकमा बस्न अस्वीकार गरेको पाएको छ । यद्यपि बस्नेतलाई काठमाडौँ २ वा ३ बाट उम्मेदवार बन्न प्रस्ताव गरिएको खुलेको छ । 

तर अहिलेसम्म उनले सिन्धुपाल्चोक १ बाटै उम्मेदवार बन्ने अड्डी कसेका छन् । बस्नेतकै लागि काठमाडौँ – ३ बाट चुनाव लड्दै आएकी कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई समानुपातिक उम्मेदवार बनाइएको चर्चा छ ।

यी क्षेत्रमा अझै सकस

सप्तरीको १, ३ , सर्लाहीको १, २ र ३ सिरहा २ र ३ सप्तरी १, पर्साका ४ वटै क्षेत्र, अछाम– बझाङ र बैतडीमा गठबन्धनभित्र सहमति हुन सकेको छैन । सप्तरीको १ मा कांग्रेस र जसपाको दाबी छ भने सिरहा ३ मा कांग्रेस र जसपा दुवैको दाबी छ ।

यस्तै सर्लाहीको १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दाबी छ ।  

सिरहा २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।

पर्सामा कुनै सहमति जुटेको छैन । बैतडीमा कांग्रेस र माओवादीको दाबी छ । अछाम क्षेत्र नम्बर १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । बझाङमा कांग्रेस र एकीकृत समाजवादीको दाबी  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप