बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन मूल सडकको बीचमा जाजरकोट

मङ्गलबार, ०४ असोज २०७९, १७ : १४
मङ्गलबार, ०४ असोज २०७९

दुर्गम र पिछडिएको पगरी गुथाइएको जाजरकोटलाई तीन वटा ठूला सडकले बीचमा पारेको छ । छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको बीचमा जाजरकोट रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ । 

जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको कामसमेत जारी रहेको छ । यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभिरमा समेत ‘ट्र्याक’ खोल्ने काम सम्पन्न भएको निर्माण कम्पनी सिंह एण्ड ब्रोदरका विश्वास उप्रेतीले जानकारी दिए । निर्माण कम्पनी ब्रोदरले लिएको ठेक्कामध्ये जाजरकोट कुदुदेखि स्याउलीबजार सम्मको १७ किलोमिटरमा कालोपत्रको काम सम्पन्न भएर स्याउलीदेखि कार्कीगाउँ सम्मको १७ किलोमिटरमा पिचको काम जारी रहेको छ । कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटरमा समेत काम जारी रहेको छ । मन्ताभिर फोडेर कामलाई तीव्रता दिइएको उप्रेतीले जानकारी दिए । 
    
थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडकको कालोपत्रको काम पनि सकिएको छ । थलह बजारमा रहेको नदीमा पुल निर्माण नहुँदा निर्माणका सामग्री लिन समस्या भइरहेको निर्माण कम्पनीले बताएका छन् । यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको काम पूरा गर्ने लक्ष्य रहेको छ । त्यस्तै भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको पासागाड रिम्ना सडकखण्डको कालोपत्र चालु आर्थिक वर्षभित्र पूरा गरिने यती विल्ड्रस प्राली सातदोबाटो ललितपुरका गोरखबहादुर केसीले जानकारी दिए । सत्र किलोमिटर लम्बाई रहको यो सडकलाई दुई खण्डमा विभाजन गरेर कालोपत्र गर्न लागिएको उनले बताए । 

छत्तीस महिनाभित्र निर्माण कार्य पूरा गर्ने भन्दै रिम्ना–तल्लुसम्मको कामसमेत सुरु भएको छ । ४० किलोमिटर लम्बाई रहेको उक्त सडकमा कालोपत्र गर्नका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको केसीले जानकारी दिए । यो सडकसमेत चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दाबी छ ।

भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा ‘बेलिव्रिज’ पुल निर्माण भएर सवारीसाधन आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश वस्यालले जानकारी दिए । डोल्पाखण्डकै रुपगाडमा मात्र ‘बेलिव्रिज’ पुल निर्माण हुन बाँकी रहेको छ । त्यस्तै जाजरकोट र रुकुम पश्चिमकोबीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा लगत्तै सुरु हुने उनले जानकारी दिए । जाजरकोटमा रहेको नलगाड नदीमा ‘बेलिव्रिज’ पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । 
    
त्यस्तै लुम्बिनी–रारा सडकखण्डको कामसमेत जारी रहेको छ । भेरी करिडोरको काम जति छिटो सकिन्छ जाजरकोट र डोल्पामा निर्माण कार्य जारी रहेका जलविद्युत् आयोजनाको कामलेसमेत तीव्रता पाउने देखिन्छ । नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट यही सडक खण्डका बीचमा पर्दछन् । भेरी करिडोर सडकको छेउमै रहेको नलगाड नगरपालिका–७ स्थित दल्लीमा नलगाड जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण हुनेछ । 

त्यस्तै ताक्सुगाड जलविद्युत् आयोजना (७ मेगावाट) समेत भेरी करिडोरभित्र नै पर्दछ । जगदुल्ला जलविद्युत् आयोजना (ए) ८२.३ मेगावाटसमेत यही सडकको बीचमा पर्दछ । जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिवेणीबाट मुड्केचुला–४ इल (विद्युत् उत्पादन गृहस्थल) र जगदुल्ला गाउँपालिका– १ हुरिकोटसम्मा सडक त्रिवेणीबाट नै लिनुपर्ने अवस्था रहेको छ । जगदुल्ला जलविद्युत् आयोजना चालू आर्थिक वर्षभित्र निर्माणको चरणमा जाने जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए । 

त्रिवेणीबाट हुरिकोटसम्मको ४५ किलोमिटरमध्ये सडक निर्माणका लागि वातावरणिय प्रभाव मूल्याङ्क (इआइए) बाँकी रहेको छ, ४५ किलोमिटरमध्ये ३० किलोमिटरको कच्ची कटानको काम सकिएको र बाँकी १५ किलोमिटर सडक मात्र कच्ची कटान गर्न बाँकी रहेको छ । १५ किलोमिटर सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) गर्न बाँकी भएकाले काम अगाडि बढाउन नसकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिए ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त कामलाई सहजीकरण गर्नुपर्ने दायित्व रहेको छ । त्रिवेणीस्थित भेरी नदीको पुल निर्माण कार्यसमेत ढिला हुँदा समस्या भएको छ । अब वर्षायाम सकिनवित्तिकै उक्त काम सुरु हुने सापकोटाले जानकारी दिए । यहाँ अन्य साना पुल सात वटा निर्माण गर्न बाँकी रहेको छ । यी सबै पुल कम्पनीले नै निर्माण गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप