पुस्तक अंश

अझै मेटिएका छैनन् डा हर्कको समर्थनमा लेखिएका नारा

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

२०४३ सालको बसन्त ऋतु । घलेगाउँको उत्तरकन्या प्राथमिक बिद्यालय ८ वर्ष पूरा भयो । गाउँलेले छोरीलाई पनि स्कुल पठाउन थाले । यही हिउँददेखि दलित बस्तीका बालवालिका स्वतःस्फूर्त पढ्न आउन थालेका छन् । पहिले जसरी उनीहरुलाई चकलेट दिएर स्कुल आउ भन्दै फकाइरहन पर्दैन । गाउँ टोलमा छोराछोरीलाई सँगै स्कुल पठाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।


स्कुल खोलेको बेला दलित बस्तीमा डुलेर पढ्न जानेलाई मिठाई दिन्छु भन्दा, धेरैले “मिठाई खान्न, स्कुल पनि जान्न” भन्थे । अहिले तिनै बालवालिकाहरु पाँच कक्षा पास गरेर छ कक्षा पढ्न छिमेकी गाउँका स्कुल जान थालेका छन् । यो देखेर हाम्रो मन फुरुङ्ग हुन्थ्यो । हामीलाई शिक्षा क्षेत्रमा एउटा सफलताको खुड्किलो पार गरेको अनुभूति हुन्थ्यो ।



घलेगाउँ अगाडिको हिमाल सधैँ मुस्कुराउँथ्यो । हिमाल हेर्दै, घाम ताप्दै स्कुलमा आएको परिवर्तनका देखेर हामी झन् बढी मुस्कुराउँथ्यौं । फुर्सदका बेला रमाइलो कुरा गरिन्थ्यो । ठिक यसै बेला देशमा चुनावी सरगर्मी सुरु भयो । २०४३ को राष्ट्रिय पञ्चायत सदस्य (रापंस) को चुनाव मेरा लागि निकै स्मरणीय छ । यो ३० वर्षे पञ्चायत कालको अन्तिम चुनाव पनि हो । चुनावका विषयमा सबैले आ–आफ्नै बिश्लेषण गर्थे । गाउँ टोलमा चुनावकै विषयमा कुरा हुन्थ्यो । गाउँमा अहिले त धेरै गुरुङका छोराहरु चुनाव लडेका छन्, कसले बाजी मार्ला भन्ने अड्कल गरिन्थ्यो ।



कसैले जिल्ला पञ्चायतका सभापति लेखनाथ अधिकारी जुँगे पनि राष्ट्रिय पञ्चायत सदस्यमा उठेका छन् भन्ने खवर ल्याउँथे । कसैले टक्सार गाउँका पृथ्वीसुब्बा गुरुङ जेलबाटै चुनाव लडेका छन् भन्थे । जेलबाट कसरी चुनाव लडिन्छ होला ? हामी आ–आफ्नै अनुमान लगाउँथ्यौं ।

गाउँका अग्रज बुद्धिजीवीहरु राजाले मुनिन्द्रजंग गुरुङलाई उम्मेदवार बनाएर पठाएका छन् रे भन्थे । कसैले भन्थे, “डा डिल्लीरमण रेग्मीको छोरा मदन रेग्मी पनि चुनाव लड्दै छन् । उनले त आफ्नो प्रतिवद्धतापत्र, चुनावी पोस्टर, पम्प्लेट गाउँगाउँमा पठाइसके रे ।”

कसैले डा हर्क गुरुङ राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पदबाट राजीनामा दिएर चुनाव लड्न जिल्ला आउने रे भनेर ल्याउँथे । कसैले डा हर्कको टोली अहिले भोट माग्दै सबै गाउँमा डुल्दै छन् रे भनेर सुनाउँथे । कसैले हर्क भोटेओडारबाट बेसीशहर तिर आउँदै गरेको खवर ल्याउँथे ।

जनमत संग्रहपछि भएको त्यो निर्वाचनमा काँग्रेस र बामपन्थी राजनीतिमा झुकाव भएकाहरुले पनि जनपक्षीय उम्मेदवारी दिएका थिए । त्यसले चुनावी माहोल गर्माएको थियो । नेपालैभरि सरकारी वा राजाका उम्मेदवारले चुनाव जित्लान् कि जनपक्षीय उम्मेदवारले बाजी मार्लान् भन्ने अड्कलबाजी हुन्थ्यो । फलानो उम्मेदवारले पैसाको खोलो बगाउँदै छ पनि भन्थे ।

हामी स्कुलमा पढाइरहेको बेला रुकस्याक बोकेका एक हुल अपरिचितहरु खवरै नगरी विद्यालयमा आए । हामी पढाउनै छाडेर उनीहरुसँग गफिन थाल्यौं । उनीहरुमध्ये एक जना हामीले नाम सुनेको उम्मेदवार डा हर्क गुरुङ हुनुहुँदो रहेछ । बेलायत गएर धेरै पढेको, नेपाल फर्केर मन्त्री भइसकेको डा हर्कको हुलिया हामीले अड्कल गरे जस्तो थिएन । असाध्यै साधारण हुलियामा देख्दा सुरुमा तिनै डा हर्क यी होइनन् कि जस्तो लाग्यो । हामी शिक्षकहरु मुखामुख गर्यौं ।

मैले साँच्चै तपाईं मन्त्री भइसकेको हर्क गुरुङ हो र ? भनेर सोधें । हर्कको टोलीका सदस्यहरु गललल्ल हाँसेर ‘हो’ भनेपछि बल्ल विश्वास भयो । डा हर्कको साधारणपन देखेर हामी निकै प्रभावित भयौं । त्यसपछि बल्ल हामी सबैले एक अर्कासँग चिनापर्ची गर्यौं ।

डा हर्कले विद्यालयमा सम्बोधन गर्नु भयो । उहाँको छोटो सम्बोधनबाट हामीले धेरै कुरा थाहा पायौं । उहाँसँग गफिएको र उहाँका सम्बोधन सुन्दा घण्टा बित्यो । तर हामीलाई मिनेट बितेको जस्तो पनि भएन । त्यहीबेला उहाँले भन्नुभयो, “मैले संसारका धेरै ठाउँ घुमेको छु । नेपाल जस्तो सुन्दर ठाउँ संसारमा कहीँ छैन । यहाँ हिमाल, पहाड, हरिया जंगल, खोलानाला, झरना, सम्म परेका फाँटहरु छन् । देशमा भएका प्राकृतिक सम्पदालाई सदुपयोग गर्न सकियो भने हामीले त्यसबाट धेरै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।’

हर्क भन्दै गए, ‘हाम्रो गाउँघरका प्रकृति र संस्कृतिको प्याकेज बनाएर बिक्री गर्न सकियो र यहाँको पर्यटन प्रवद्र्धन गर्न सकेमा धेरै विदेशी भित्र्याउन सकिन्छ । हाम्रै डाँडाकाँडा, भीरपाखा, घुम्न आउने पर्यटकबाट हामीले घरमै बसेर हजारौं रुपियाँ कमाउन सक्छौं । हजार रुपियाँ कमाउनका लागि भर्ती हुन पर्दैन । मलाया जानु पनि पर्दैन ।”

त्यसबेला हामी शिक्षकहरुको मासिक तलव तीन सय पनि हुन्थेन । हामीले कसरी यस्तो होला भनेर आश्चर्य मान्दै उहाँको विचार सुन्यौं ।

उहाँले थप्दै जानु’भो, “तराईका जंगलमा बाघ, हात्ती, गैंडा प्रत्यक्ष देख्न सकिन्छ । हिमालयमा हिउँचितुवा, हिमालयन थार, झारल, घोरलहरु छन् । चराहरुको आफ्नै संसार छ यहाँ । हामीसँग हिमाल छ, यतिबेला हाम्रा पहाड लालीगुराँसले रङ्गिएका छन् । हाम्रो गाउँठाउँमा यस्ता जंगली जनावर र चराहरु छन् भनेर संसारभर हल्ला गरियो भने यहाँ जनावर र चरा हेर्न आउनेको घुँइचो लाग्छ । यसबाट पनि मनग्ये कमाउन सकिन्छ ।”

उहाँले देशका सबै गाउँघरले अथाह सम्भावना बोकेका कुरा सुनाउँदा हामी दंग पर्यौं । यस्ता सकारात्मक उर्जा दिने कुरा हामीले यस अगाडि कहिल्यै सुनेका थिएनौं । चुनावको बेला सुनेकाले “गफै त होला’ नि जस्तो पनि भयो ।

सम्वोधन सकिएपछि उहाँले हामीलाई आफ्नो चुनावी प्रतिवद्धता पत्र दिनु भयो । त्यहाँ नेपालको राजधानी चितवनमा सारिनुपर्ने, नेपाल–भारतको खुला सिमाना काँडेतार लगाएर व्यवस्थित गरिनुपर्ने जस्ता कुरा उल्लेख गरिएका थिए ।

मैले उहाँको प्रतिवद्धता पत्र पूरै पढें । पर्यटन विकासले नेपालको मुहार फेर्न सकिन्छ भन्ने कुराहरु उहाँको प्रतिवद्धतापत्रमा लेखिएको थियो । उहाँको पत्र पढेर मैले केही प्रश्न पनि गरें । उहाँले बुझ्ने गरी सरल भाषामा जवाफ दिनु भयो ।

उहाँसँगको पहिलो बसाइँमा मलाई राष्ट्र, राष्ट्रियता, पर्यटन र विकासको बारेमा केही कुरा बुझ्ने मौका मिल्यो । त्यो बेलासम्म मलाई  राष्ट्रियता, पर्यटन, ग्रामीण विकास केही पनि थाहा थिएन । उहाँसँगको एक बसाइँमा धेरै कुरा थाहा पाएँ ।

तर गाउँका सबै बुद्धिजीवीहरु मुनिन्द्रजंग गुरुङ राजाले समर्थन गरेको उम्मेदवार हुन् भन्दै उहाँकै प्रचारमा लागेका थिए । तर मुनिन्द्रजंगसँग चुनाव जितेमा यस्तो काम गर्छु भन्ने ठोस भिजन थिएन । तर सरकारी उम्मेदवार भएकाले प्रहरी प्रशासन उनैको पक्षमा थिए । घलेगाउँमा डा हर्कको पक्षमा जनमत सिर्जना गर्नुपर्छ भन्ने लाग्यो । तर यो काम सजिलो थिएन । समाज अशिक्षित थियो ।

हामी शिक्षकहरुले डा हर्कलाई भन्यौं, “हामीहरुले सबै गाउँलेलाई एकै ठाउँमा भेला पार्छौ । तपाईंले यहाँ व्यक्त गरेका विचार सरल भाषामा गाउँलेलाई पनि सुनाउनु पर्छ ।” गाउँमा पुगेर यस्तै सम्बोधन गरिदिनु पर्यो भनेर आग्रह गरियो । तर उहाँको टोली केही दिनपछि आउँला भनेर स्कुलबाट घनपोखरातर्फ लाग्यो । हाम्रो मन खिन्न भयो । उहाँहरु पछि आउनुहोला भनेर हामीले अनुमान पनि गरेनौं ।

उहाँको सम्बोधन सुनेपछि मैले पनि राष्ट्र, राष्ट्रियता, पर्यटन र गाउँको विकासको बारेमा सोच्न थालें । त्यसपछि हामी शिक्षक, गाउँका अग्रजहरुसँग उहाँले व्यक्त गरेका बिचारका बारेमा गफिन थाल्यौं । हामीले डा हर्कले व्यक्त गरेका कुरा गाउँमा सुनाउँदा कसैले पत्याउँदैनथे ।

केही दिनपछि उहाँहरु घलेगाउँमा आउनु भयो । मेरो घरमा दुई दिन बस्नु भयो । म सुत्ने खोपीमा सुत्नु हुन्थ्यो । हामीले घलेगाउँ र आसपासका अन्य गाउँलेलाई गाउँको ठाँटीमा भेला पार्यौं । म आफै उद्घोषक भएँ । मैले स्थानीय भाषामा डा हर्कको परिचय गराएँ । उहाँको भिजनको बारेमा गाउँलेले बुझ्ने गरी छोटो भाषण गरें । मैले डा हर्कको चुनावी प्रतिवद्धतापत्र पनि गाउँलेले बुझ्ने गरी पढेर सुनाएँ ।

मैले भने, “उहाँको प्रतिवद्धता पत्रमा धेरै राम्रा कुरा छन् । सोहीअनुसार काम गर्न सक्ने क्षमता पनि छ उहाँसँग । उहाँ हाम्रै गुरुङको छोरो पनि हो । त्यसमा पनि धेरै पढेलेखेको विद्वान । अरु मान्छे बेलायतमा काम गर्न जान्छन् । तर उहाँले बेलायतमा पढाउनु हुन्छ । बेलायत छाडेर नेपाल आउनु भएको हो । गाउँ फर्क अभियानमा काम गरिसकेको, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र मन्त्री भइसकेकोे मान्छे हो । हामीले यसपाली उहाँलाई जिताउनु पर्छ । उहाँको लागि होइन । हाम्रो लागि, हाम्रो भविष्यको लागि र हाम्रा सन्ततिको लागि ।”

त्यसपछि डा हर्कले सम्बोधन गर्नु भयो । उहाँले राष्ट्र, राष्ट्रियता, विकास, पर्यटन आर्थिक क्षेत्रका बारेमा बुझ्ने गरी भाषण गर्नु भयो । यसैको लागि भनेर मत माग्नु भयो । गाउँलेहरु पनि उहाँको भाषण सुनेर निकै प्रभावित भए । अन्तमा मैले फेरि सम्बोधन गरें । मैले भनें, “म उहाँको पक्षमा छु । यसपालि हामी सबैले घैंटो चिन्हमा भोट हालेर उहाँलाई जिताउनु पर्छ ।” गाउँलेहरु र डा हर्कको टोली सबै खुसी भए ।

डा हर्क जसरी नै अरु उम्मेदवारहरु पनि गाउँमा भोट माग्न आए । तर उनीहरुसँग चुनाव जितेपछि काम गर्ने ठोस एजेन्डा केही थिएन । हामीले प्रश्न गर्दा चित्तबुझ्दो उत्तर दिन पनि सक्थेनन् । उम्मेदवारलाई प्रत्यक्ष भेटेको र नभेटेकामा धेरै फरक पर्ने रहेछ । त्यसैबेला मादल चिन्ह लिएर चुनाव लडेका पृथ्वीसुब्बा गुरुङ जेलमा भएकाले घरदैलोमा आउन सक्नु भएन । बामपन्थी झुकाव र छिमेकीको नाताले हामीले उहाँलाई भोट हाल्नु पर्ने हो । त्यसबेला हामीले उहाँका विचार सुन्न र एजेन्डामा छलफल गर्न पनि पाएनौं । मदन रेग्मीले उम्मदेवारी फिर्ता लिनु भयो । 

चुनावको चहलपहल बढ्न थाल्यो । डुम्रेदेखि बेसीशहरका खोलाका ढुङ्गा र घरका भित्तामा डा हर्कको समर्थनमा चुनावी नारा लेखिए । त्यहाँ लेखिएको थियो, “डा हर्क लमजुङ फर्क । हर्क गुरुङ फर्क लमजुङ । विकासका लागि हर्क गुरुङ ।”

बेसीशहरमा डा हर्क गुरुङको विशाल आमसभा आयोजना गरियो । मैले गाउँबाट सयौं मान्छेलाई उहाँको भाषण सुन्न लिएर गएँ । उहाँले ग्रामीण विकास र पर्यटनको बारेमा पनि आफ्नो विचार राख्नु भयो ।

त्यसबेला डुम्रे–बेसीशहर सडक ट्रयाक मात्र खुलेको थियो । बेसीशहरसम्म राम्रोसँग गाडी चल्ने अवस्था थिएन । उहाँले यो सडक बन्दै गर्दा लमजुङे जनता गाम्रीण विकासमा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले जिल्लाबासीलाई सम्बोधन गर्दै भन्नु भयो, “यो सडक राम्ररी सुचारु हुने बेलासम्म हामीले हाम्रो गाउँघर हराभरा बनाइसक्नु पर्छ । गाउँगाउँमा धान, मकै, कोदो लगायतका अन्नपात, फलफुल र तरकारी अहिलेभन्दा बढी फलाउनु पर्छ । डुम्रेबाट आएको गाडीलाई हामीले आफ्नै पाखाबारीमा फलाएको अन्नपात, फलफुल र तरकारीले भरेर पठाउनु पर्छ । यसबाट लाभ लिन सकिन्छ । डुम्रेबाट सामान भरेर आएको गाडी यताबाट रित्तै फर्कियो भने त्यसको कुनै अर्थ हुँदैन ।”

बिडम्बना के भयो भने डा हर्क गुरुङलाई अन्य उम्मेदवारहरुले मोटरबाटोको विरोधी भनेर अनर्गल प्रचार गर्न थाले । कसैले त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा जिल्लाको विकासमा वास्ता पनि गरेन, अहिले यस्तो भाषण गर्ने ? भन्ने जस्ता कुराहरु उठाए । हामीले त्यसको खासै वास्ता गरेनौं । लमजुङे जनता विवेकशील छन् र सक्षम उम्मेदवारलाई मतदान गर्छन् भनियो ।

२०४३ ताका युवा जोस भएकाले कहिले भोट हाल्ने दिन आउला र डा हर्कलाई भोट हाल्न पाइएका जस्तो मात्रै हुन्थ्यो । भोट हाल्नी दिन आयो । चुनावको दिनमा म अरु दिन भन्दा चाँडै उठें । आफूले भ्याएसम्मका सबैलाई डा हर्कलाई जिताउनु पर्छ भन्दै मतदान केन्द्रमा लगें । हाम्रो गाउँका धेरैले डा हर्कलाई भोट दिए । त्यसबेला हाम्रो ठाउँबाट हर्क गुरुङलाई १८५, मुनिन्द्रजंग ११०, लेखनाथ अधिकारी ३०, पृथ्वी सुब्बा गुरुङलाई १८ मत खस्यो ।

हामीहरु मतपेटिकासँगै सदरमुकाम बेशीसहर गयौं । डा हर्कले चुनाव जित्नु हुनेछ भन्नेमा विश्वस्त थियौं । विडम्वना लालटिन चिन्ह लिएर उठेका लेखनाथ अधिकारीले चुनाव जित्नु भयो भने डा हर्कले हामीहरुको मन । यो चुनाव हाम्रो लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मत बन्न पुग्यो ।

अविरजात्रा, नाराबाजी र बाजागाजासहित लेखनाथको विजयी जुलुस निस्कियो । हामी निराश भयौं । त्यो विपक्षीको जुलुस हामीलाई हेर्न पनि मन लागेन । तर डा हर्क विजयी जुलुसमा सहभागी हुनुभयो । जुलुसको अगाडि दौडिदै आफूलाई चुनाव हराउने लेखनाथ विजयी जुलुसको फोटो खिच्न थाल्नु भयो । डा हर्कले के गरेको होला भनेर हामी छक्क पर्यौं । पछि उहाँले त्यो विजय जुलुुसको फोटाहरु लेखनाथलाई दिनु भएको रहेछ ।

यही बेलादेखि उहाँसँग मेरो सम्वन्ध नजिकिएको हो । पछि उहाँले लेखेका पुस्तकहरु पनि दिनु भयो । यसबाट पनि धेरै कुरा सिकियो । उहाँकै संगतले म ग्रामीण पर्यटनको क्षेत्रमा लागेको हुँ ।

२०५६ सालमा जमिन्द्रमान घले लमजुङ जिल्ला विकास समितिको सभापतिमा निर्वाचित हुनुभयो । त्यसको केही वर्षपछि डा हर्कलाई जिविसले सम्मान गर्ने प्रस्ताव लिएर हामी (एमालेका नेता डा भिष्म अधिकारी, जमिन्द्रमान घले र म) उहाँलाई भेट्न काठमाडौंस्थित उहाँको निवासमा पुगियो । तर उहाँले सम्मान स्वीकार गर्नु भएन । हामी खिन्न भयौं । तर लमजुङको विविध विकासको बारेमा छलफल गरियो ।

उहाँसँग मेरो निरन्तर भेटघाट भइरहन्थ्यो । हामीले घलेगाउँमा भर्खरै होमस्टे (ग्रामीण पर्यटन) को सुरुवात गरेका थियौं । उहाँले घलेगाउँको बारेमा चासो लिएर सोध्नु भयो । उहाँले भन्नुभयो, “रैथाने संस्कृति र पर्यटनको हिसावले तिम्रो गाउँ धेरै धनी छ । मैले २०४३ मै तिम्रो गाउँले पर्यटनको सम्भावना बोकेको छ भनेको थिएँ । अहिले मेरो छोराछोरीहरु अमेरिकामा छन् । अब आउनी दसैंमा अमेरिका जान्छु । त्यहाँबाट फर्किएपछि मेरो नयाँ पुस्तक प्रकाशन हुनेछ । त्यसमा घलेगाउँका कथाहरु पनि लेखेको छु । त्यसले तिम्रो गाउँको पर्यटन प्रवद्र्धनमा केही सहयोग गर्नेछ ।”

उहाँले त्यसो भनेको केही हप्ता नबित्दै उहाँ जहाज दुर्घटनामा पर्नु भयो । २०६४ असोज ६ गते उहाँको निधन भयो । त्यसपछिका प्रत्येक असोज ६ गते म उहाँलाई बढी सम्झन्छु । उहाँले आफ्नो प्रकाशोन्मुख पुस्तकमा घलेगाउँको बारेमा के लेख्नु भएको थियो होला ? आफैलाई प्रश्न गर्छु । उत्तर पनि आफै अनुमान लगाउँछु ।

डा हर्कबाट प्रभावित भएर सुरु गरिएको होमस्टे (ग्रामीण पर्यटनको विकास) को विकासबाट घलेगाउँले ठूलो फड्को मार्यो । अहिले घलेगाउँ ग्रामीण पर्यटनको केन्द्र बनेको छ । २०६४ फागुनमा दक्षिण एशियाको नमूना गाउँ (सार्क मोडेल भिलेज) घोषणा भयो । २०७६ साल मंसिर १७ गते देशकै पहिलो स्मार्ट भिलेज र २०७९ बैशाख १ गते नेपालको पहिलो सुखी गाउँ घोषणा गरियो । घलेगाउँको होमस्टेलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ ।

डा हर्क हामी माझ हुनुहुन्न । उहाँ बाँचेको भए यो गाउँले अझ कति फड्को माथ्र्यो होला भन्ने भान हुन्छ । स्वर्गबाटै उहाँले हामीलाई आशीर्वाद दिनु भएको छ जस्तो अनभूति हुन्छ । अझै पनि लमजुङका केही पुराना घरमा डा हर्कको समर्थनमा लेखिएका नारा मेटिएका छैनन् । त्यो देख्दा मन ढक्क फुल्छ ।

(ग्रामीण पर्यटनका अभियन्ता प्रेमबहादुर घले क्व्होलासोथार गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यो लेख घलेको (बायोग्राफी) प्रकाशोन्मुख अंग्रेजी पुस्तक दी वार अफ इयर्स बाट नेपालीमा उल्था गरिएको हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।