मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको बचाउमा ओली : अभियोग पुष्टि नहुँदै नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा !

बिहीबार, ०६ असोज २०७९, २३ : ०२
बिहीबार, ०६ असोज २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् ।  बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरे ।

‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ ? फागुन १ गते दर्ता भएको महाभियोग प्रस्ताव बाहिर नै निस्कँदैन’, उनले भने, ‘संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई छैन । तर उहाँले गर्नुभयो । ६ महिनासम्म चेपेर राख्नुभयो ।’

उनले अहिले संसदको नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएको बताए । ‘संसदले अभियोग प्रमाणित नभएपछि संसद सभामुख स्वभाविक रुपमा फर्केर जान्छ । तर प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा हो’, ‘यो सरकार खोपडीले सोच्दैन मसलले मात्रै सोच्छ ।’ उनले प्रधानन्यायाधीशको छोरी घरबाट बाहिर निस्कँदा दिनभरी प्रहरी कष्टडीमा राखेको भन्दै गठबन्धनले लोकतन्त्रकै उपहास गरेको बताए । 

उनले व्यक्ति प्रधानन्यायाधीश कस्तो भन्नेमा आफु नजाने भन्दै कानुनअनुसार सबैसँग व्यवहार हुनुपर्ने बताए । ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाए । ‘कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजरबन्दमा राख्नुहुन्छ ?’, प्रधानमन्त्रीलाई जवाफ दिन चुनौती दिए । सेक्युरिटी खोस्ने, पानीको पाइप काट्ने भन्दै लोकतन्त्रको नाम लिन लाज लाग्नुपर्ने ओलीको भनाइ छ । ‘अकुपाई बालुवाटार’ भन्नेहरु कहाँ गए भन्दै प्रश्न गरे । उनले सरकार स्वेच्छाचारितामा चलेको भन्दै गठबन्धन तन्त्रलाई जनताले टिपेर मिल्काइदिने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप