मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न जसपा र लोसपामा अलमल

बिहीबार, ०६ असोज २०७९, १५ : १५
बिहीबार, ०६ असोज २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिन गठबन्धनभित्रका दलहरुलाई सकस देखिएको छ ।

मधेसवादी भनिएका दलहरु पनि उम्मेदवार चयनमा अलमल गरिरहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दल आफूले पाउने भागबण्डा तय भइसकेपछि उम्मेदवार छान्ने प्रक्रियामा प्रवेश गर्ने तरखरमा रहँदा गठबन्धन बाहिर रहेका दल सकेसम्म कुनै न कुनै गठबन्धनमा सामेल हुने र त्यसपछि उम्मेदवार चयन गर्ने प्रयासमा छन् ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टी नेपालले प्रत्यक्षतर्फका उम्मेदवार चयनको प्रक्रिया नै सुरु गरेको छैन । गठबन्धनभित्र सिट बाँडफाँट नटुङ्गिएका कारण प्रत्यक्षतर्फको उम्मेदवार चयन प्रकृया सुरु नभएको सो पार्टीका नेताहरु बताउँछन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं प्रवक्ता मनिष सुमनले भने, ‘समानुपातिक उम्मेदवारी सूची बुझाउँदाको थकान मेटिएको छैन, प्रत्यक्षतर्फका लागि पार्टीमा आन्तरिक छलफल भइरहेका छन् तर मुख्य कुरा गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो नलागेका कारण केही अलमल देखिएको छ ।’

क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारको सिफारिस केन्द्रसम्म आइसकेको प्रवक्ता सुमनले बताए । गठबन्धनबाट प्राप्त भागबण्डाको आधारमा उम्मेदवारको टुङ्गो लगाउनुपर्ने भन्दै उनले अहिले पार्टीले मात्र उम्मेदवार टुङ्गो लगाउनुको अर्थ नरहने प्रस्ट पारे ।

पार्टीले उम्मेदवार चयन गर्न सात बुँदे मापदण्ड बनाएको र गठबन्धनमा सहमति भइसकेपछि सोही मापदण्ड अनुसार आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने उनको भनाइ छ । पार्टीको विचार, नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात गर्ने, पार्टीको समितिमा संगठित र सक्रिय रहेको, पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने, स्वच्छ समाजिक छवी तथा नैतिकवान, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको, सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको तथा सुशासनको प्रत्याभूत गर्न सक्नेले मात्र पार्टीको तर्फबाट उम्मेदवार बन्न पाउने मापदण्ड पार्टीले बनाएको उनले जानकारी दिए ।

सत्तारुढ गठबन्धनभित्रका दललाई मात्र होइन, गठबन्धन बाहिर रहेको लोसपा पनि प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्न अलमलमा देखिएको छ । समानुपातिक सूचीलाई लिएर पार्टीमा विवाद बढ्दै गएपछि प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने काम प्रभावित भएको छ ।

लोसपाले चुनावका लागि गठबन्धन गर्ने योजना बनाएको छ । उसले गठबन्धनका लागि नेकपा एमालेसँग छलफल अगाडि बढाएको छ । एमालेसँग गठबन्धनको खाका बन्न बाँकी रहेको र आफूले कति सिट पाउने भन्ने टुङ्गो नलागेकै कारण पनि लोसपाले उम्मेदवार छान्न नसकेको हो ।

सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलगायतका दलहरुसँग पनि लोसपाले गठबन्धनका लागि पहल गरिरहेको छ ।

उता, कांग्रेसले पनि लोसपालाई तान्न खोजेको छ । केही सिट दिएर कांग्रेसले लोसपालाई आफैसँग राख्न खोजेको छ । त्यसका लागि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लोसपाका अध्यक्ष महन्थ ठाकुरको सम्पर्कमा रहेको बताइएको छ ।

यसरी विभिन्न दलसँग गठबन्धनका लागि छलफल भए पनि अहिलेसम्म कोसँग गठबन्धन गर्ने भनेर लोसपाले निर्णय गरिसकेको छैन । त्यसले गर्दा पार्टीभित्र प्रत्यक्ष उम्मेदवार चयन गर्न अलमल भइरहेको लोसपाका नेता बताउँछन् ।

लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले चुनावमा दलहरुसँग तालमेल गर्ने कुरा भइरहेको र अहिलेसम्म त्यसको टुङ्गो नलागेका कारण प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न केही ढिलो भइरहेको बताए । उनले भने, ‘भर्खर समानुपातिक उम्मेदवारको बन्दसूची तयार गरी आयोगमा बुझाइएको छ । अब चाँडै नै प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नेतिर पार्टी लाग्छ ।’

समानुपातिकमा जस्तो प्रत्यक्षमा उम्मेदवार चयन गर्ने समस्या नहुने उनले बताए । जिल्ला तथा प्रदेशबाट आएको सिफारिसका आधारमा लगभग प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लागिसकेको उनले बताए । गठबन्धन गर्ने निश्चित भएपछि त्यसलाई अन्तिम रुप दिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप