मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

अमिनीको मृत्युपछि इरानमा प्रदर्शन चर्किँदै, सरकारद्वारा इन्टरनेट अवरुद्ध

विहीबार, ०६ असोज २०७९, २१ : ०५
विहीबार, ०६ असोज २०७९

इरानले तेहरान र कुर्दिस्तान क्षेत्रका कयौं भागमा इन्टरनेट पहुँच कटौती गरेको छ । इन्स्टाग्राम र ह्वाट्स एपमा प्रदर्शनका फोटो तथा भिडियो देखेर युवाहरु थप भड्किने डरमा सरकारले उक्त कदम चालेको आशंका छ ।  सेप्टेम्बर १६ मा २२ वर्षीया कुर्द युवती महसा अमिनीको मृत्युपछि देशको धार्मिक प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन सुरु भएको छ । 

बिहीबार प्रदर्शनकारीले केही स्थानमा प्रहरी स्टेसन र सवारी साधन जलाइदिएका थिए ।  शासन विरोधी प्रदर्शनका क्रममा महिलाहरुले तिनको हिजाब जलाइरहेका छन् । हिजाब जलाएका भिडियोहरू अनलाइनमा भाइरल भएका छन् । 

कयौं महिलाहरुले महसा अमिनीको सम्झनामा तिनको कपाल काटेका भिडियो पनि पोष्ट गरिरहेका छन् ।  महसा अमिनी सेप्टेम्बर १६ मा गलत तरिकाले हिजाब लगाएको आरोपमा पक्राउ परेकी थिइन् । अभियन्ताहरुले महसालाई हिरासतमा टाउकोमा गम्भीर रुपमा हानिएको र त्यही कारण उनको ज्यान गएको आरोप लगाएका छन् । 

तर अधिकारीले भने यी आरोप खण्डन गर्दै अनुसन्धानको माग गरेका छन् । प्रहरीले भने महसालाई हिरासतमै हृदयाघात भएको र त्यही कारण मृत्यु भएको बताएको छ । इरानी सरकारी मिडियाले बुधबार देशभरका १५ सहरमा प्रदर्शन फैलिएको बताएको छ । 

प्रहरीले प्रदर्शनलाई निस्तेज बनाउन पक्राउ तीव्र बनाएको छ । साथै धेरै स्थानमा भीडमाथि अश्रु ग्यास प्रयोग भएको छ ।  बिहिबार इरानको शक्तिशाली रिभोलुस्नरी गार्ड गोर्पले एक विज्ञप्ति जारी गर्दै न्यायालयलाई झुटो समाचार र हल्ला फैलाउनेहरूमाथि कठोर कारबाही गर्न माग ग¥यो । 

इरानमा हाल भैरहेको प्रदर्शन सन् २०१९ नोभेम्बरको प्रदर्शनपछि ठूलो मानिएको छ । पछिल्लो प्रदर्शनमा महिला र पुरुष सँगसँगै देखिएका छन् । भिडियोहरुमा महिलाहरु हिजाब जलाइरहेका छन् भने पुरुषहरु प्रहरीसँग भिडिरहेको देखिन्छ । 

यसअघिको सन् २०१९ को प्रदर्शनमा पनि सरकारले लामो समय इन्टरनेट सेवा अवरुद्ध पारेको थियो । एम्नेष्टी इन्टरनेसनलले इरानमा भएका प्रदर्शनमा हालसम्म आठ जनाको मृत्युको सूचना आफूकहाँ आएको बताएको छ । तीमध्ये चार जनालाई सुरक्षाकर्मीले नजिकबाट गोली हानेको संस्थाले आरोप लगाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप