मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

बिहीबार, ०६ असोज २०७९, २१ : ५४
बिहीबार, ०६ असोज २०७९

आज मिति २०७९ असोज महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य भएका घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. राष्ट्रपतिविरुद्ध रिट निवेदन

अधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत विपक्षी बनाइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी संविधानको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्धसमेत सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । सो सहित सर्वोच्च नागरिकता विधेयक प्रमाणीकरण नभएकोसम्बन्धी ५ वटा मुद्दा दर्ता भएको छ ।

सत्तारुढ गठबन्धनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई ‘असंवैधानिक’ संज्ञा दिँदै सोको राजनीतिक र कानुनी प्रतिवाद गर्ने भएको छ । त्यसका लागि गठबन्धनले बुधबारबाटै कानुनविद् र सरोकारवालाहरुसँग छलफल र सम्वाद गरिरहेको नेताहरुको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेको निष्कर्ष निकाल्दै गठबन्धनले कानुनी र राजनीतिक प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो ।

​२. टिकटका लागि माओवादीमा दौडधूप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनको निवास पछिल्लो समय नेताहरुले भरिभराउ हुन थालेको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति नजिकिन थालेसँगै उम्मेदवार बन्न आकांक्षा राख्नेहरू टिकटका लागि नेता निवासमा धाउन थालेका हुन् ।

​३. आयोगको निर्देशन

निर्वाचन आयोगले कर्मचारीहरुको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।

​४.ईभी शो

नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजदेखि शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्रान्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्रान्डको उत्साहपूर्ण सहभागिता छ ।

​५. दुर्घटनाका खबर

रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।  काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ स्थित क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो  । दुर्घटनामा परेर १२ घाइते छन् ।

मकवानपुरको भीमफेदीमा मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतस्थित ना ३ ख ७८५८ नम्बरको मिनी बस काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

​६. डा केसीको माग पूरा भएन

अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा। केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

​नेपालमा साउनयता साढे १९ हजार बढी डेङ्गुबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् ।

​७. स्व. सूर्य बहादुरको स्मरण र राजनीतिक चर्चा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा  मिलनसार र सहयोगी भएको बताएका छन् । स्वर्गीय थापाको आत्मकथा विमोचन समारोहमा प्रधानमन्त्री देउवाले स्वर्गीय थापामा मुलुकलाई ड्राइभ गर्ने कुशलता भएको बताए ।

​८. नेपाल अन्तराष्ट्रिय अनुगमनमा पर्ने जोखिम

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा प्रभावकारी कानुन बनाउन नसकेको कारण नेपाल अन्तराष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ । सरकारले सम्पत्ति शुद्धीकरण रोक्ने सम्बन्धी १४ वटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको भएपनि राष्ट्रियसभाबाट विधेयक पारित हुन ढिलाई भएका कारण यस्तो जोखिम बढेको हो ।

​९. ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् ।  बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोग जस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरे ।

​प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विरुद्ध रिट दायर गरेका हुन्।

​१०. यो पनि

पछिल्लो २४ घण्टामा  ६६ जना कोरोना संक्रमित थपिएका छन् । ३२६२ जनामा गरिएको नमूना परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

​विभिन्न देशमा रहेका नेपालीलाई दशैंको टीका कतिबेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कतिबेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

​राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । बिहीबार बसेको बैठकले लिङ्देन नेतृत्वको समितिमा पूर्व अध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरु र भातृ संगठनका प्रमुखहरुलाई सदस्यमा मनोनीत गरेको हो ।

​यातायात क्षेत्रका मजदुरहरूले २० वर्षको नाममा यातायात क्षेत्रमा हुँदै आएको धरपकड बन्द गर्न माग गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै स्वरोजगार यातायात मजदुर संगठन आबद्ध मजदुरहरूले सरकारले यस्ता सवारी साधनमाथि धरपकड गर्न सुरु गरेको भन्दै यसलाई रोकेर आफ्नो अवैज्ञानिक र अव्यवहारिक व्यवस्था सच्याउन माग गरेका हुन् ।

​विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको महाधिवेशन असोजमा हुने भएको छ । बिहीबार बसेको नेकपाको सचिवालय बैठकले असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

​सर्वोच्च अदालतले कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरेको हो । 

​नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् । 

थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप