मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुसद्वारा युक्रेनमा मारिएका आफ्ना सैनिकको संख्या सार्वजनिक

बिहीबार, ०६ असोज २०७९, २२ : ३२
बिहीबार, ०६ असोज २०७९

रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेकै दिन त्यस अभियानमा मारिएको आफ्नो सेनाको संख्या पनि उजागर गर्यो । युद्ध सुरु भएको लगभग ६ महिनापछि हताहतीको पहिलो अपडेटमा दिइएको हो ।  युद्ध सुरु भएको एक महिनापछि मार्च २५ मा रुसले आफ्ना १३५१ सैनिक मारिएको बताएको थियो । 

त्यसपछि रुसी सेनाको हताहतीबारे पश्चिमबाट विभिन्न अनुमान आइरहँदा पनि रुसले विवरण सार्वजनिक गरेको थिएन । अगस्टमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन युद्धमा रुसी पक्षका करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएको प्रक्षेपण गरेको थियो । तर हाल रुसले सार्वजनिक गरेको सैन्य हताहतीको संख्या पेन्टागनको प्रक्षेपणभन्दा निकै कम देखिन्छ । 

बुधबार टेलिभिजनमा बोल्दै रुसी रक्षा–मन्त्री सर्गेई शोइगुले द्वन्द्व सुरु भएदेखि हालसम्म ५,९३७ रूसी सैनिक मारिएको बताए । रक्षामन्त्री शोइगुले सात महिना लामो ‘विशेष सैन्य अपरेशन’ मा रुसले ठूलो नोक्सानी बेहोरेको कीभ र पश्चिमा राष्ट्रहरूको भनाइलाई खारेज गरे  । उनले ९०% घाइते रुसी सैनिकहरू युद्ध मोर्चामा फर्किएको दावी गरे । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसी रिजर्भ फोर्स परिचालन गर्न आदेश दिएकै दिन यो विवरण सार्वजनिक गरिएको थियो । 

युक्रेनमा कयौं पश्चिमी शक्ति विरुद्ध एकैपटक लड्नु परेकाले थप जनशक्ति आवश्यक परेको र त्यसैका लागि रिजर्भ फोर्स परिचालन गर्नुपरेको पुटिनले बताए ।  रक्षा मन्त्री शोइगुले रुससँग २ करोड ५० लाख सम्भावित लडाकू रहे पनि हाल ३ लाख पुरुष मात्र परिचालित हुने बताए ।

क्रेमलिनको वेबसाइटमा प्रकाशित अध्यादेश अनुसार हाल बोलाइएको रिजर्भ फोर्समा पहिले नै सैन्य अनुभव भएकाहरुलाई मात्र परिचालित गर्ने भनिएको छ ।  शोईगुले युक्रेनमा तैनाथ गर्नुअघि उनीहरूलाई थप प्रशिक्षण दिइने बताए । 
मस्कोले आफ्नो छिमेकीलाई निशस्त्रीकरण गर्न र खतरनाक राष्ट्रवादीहरुबाट मुक्त बनाउन ‘विशेष सैन्य अभियान’ चलाएको बताइरहेको छ । –रोयटर्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप