एकल महिलाका आर्तनाद

person explore access_timeअसोज ७, २०७९ chat_bubble_outline0

बुवा बित्दा मेरी आमा ५० वर्षकी हुनु हुन्थ्यो । आमाको निधन ६८ वर्षको उमेरमा भयो । त्यो बीचमा मेरो दाजुहरुको विवाह हुँदा दुलाहा दुलहीलाई भित्र्याउने वेलामा उहाँ पछि हट्नु भयो । त्यसरी पछि हट्न उहाँलाई कसैले भनेको थिएन । पछि मेरी जेठीआमा जो सधुवाई हुनुहुन्थ्यो, भित्र्याउने रीति रिवाज सवै उहाँले गरेर दुलाहा दुलहीलाई घर भित्र लगियो ।  यसो गर्नमा मेरी आमालाई समाजले भिराइ दिएको विधवाले शुभकार्य गर्दा अशुभ हुन्छ भन्ने मान्यताको पगरी थियो । तर पछि मेरो आफ्नै विवाहमा उहाँले आफै हामीलाई भित्र्याउनु भयो । मेरो र दाजुहरुको विवाहको बीचमा करीव १० वर्षको फरक थियो ।


लाग्छ, त्यति वेलासम्म मेरी आमाको चेतमा विधवाले शुभकार्य गर्नु हुँदैन भन्ने मान्यता अमान्य भइसकेको थियो । श्रीमान् विनाको जीवनमा भोगिने एकलपनवाहेक मेरी आमाले त्यस्तो अन्य प्रताडना भोग्नु परेन । तर नेपालमा रहेका लाखौं एकल महिलाहरुको जीवनमा त्यस्तो नियति रहेनछ भन्ने दृश्य हालै मात्र कञ्चनपुरको शुक्लाफाँटा नगर पालिकाका–५ वनसमिति भन्ने गाउँका एकल महिलाहरुलाई भेट्दा थाहा भयो । 



मैले धेरै पटक डव्लुएचआर संस्थाकी संस्थापक अध्यक्ष लिली थापाको अन्तरवार्ता टेलिभिजनमा हेरेको छु । उनको अन्तरवार्ता हेर्दा उनले खास गरि विधवा भइसकेपछि महिलाहरुले लगाउने पहिरनमा फरक ल्याउँदा पनि उनीहरुको मनोवल बढेको लगायतका कुराहरु सुनेको थिएँ । उनको कुरा सुन्दा यो एकल महिलाका सवालहरु भनेको केही गिने चुने महिलाका मात्र सवाल हुन् भन्ने लागेको थियो । 



तर कञ्चनपुरको वनसमिति गाउँका एकल महिलाहरुको कुरा सुन्दा म ठूलो भ्रममा रहेको रहेछु भन्ने महसुस भएको छ । एउटा अध्ययनको सिलसिलामा सो गाउँका २० जना एकल महिलाहरुसंग अन्तरक्रिया गरेको थिएँ । सो क्रममा शुक्लाफाँटा नगरपालिकामा ६ हजार भन्दा वढी एकल महिला रहेको जानकारी पाइयो । 

पछि मैले सो नगरपालिकाको वेभसाइट हेर्दा शुक्लाफाँटा नगरपालिकाको कुल जनसंख्या ४२ हजार भएको देखे, यसरी हेर्दा एकल महिलाको जनसंख्या १४ प्रतिशत हुने रहेछ । एकल महिला नेपालमा कति छन् भन्ने कुरा उनीहरुलाई वितरण गरिने भत्ताबाट पनि थाहा होला । तर यदि नेपालभरी कुल जनसंख्याको १० प्रतिशत मात्र पनि उनीहरुको जनसंख्या हो भने त्यो २९ लाख भन्दा बढी हुन्छ । 

यति ठूलो जनसंख्यासँग सम्वन्धित समस्या कुनै न कुनै रुपमा मैले भेटेका ती २० जना एकल महिलाहरुसँग मिल्दोजुल्दो रहेछ भने त्यो समस्यालाई विकराल मान्नुपर्ने हुन्छ । मूलभूत समस्याका चाङ के रहेछ भनि अब चर्चा गरौं । 

संस्कारगत समस्या

जसरी मेरी आमाले हाम्रो जस्तो शिक्षित परिवारमा समेत समाजको डरले आफ्नै छोरा बुहारीलाई भित्र्याउने आँट गर्नु भएन, केही जनजातिलाई छोडेर बाँकी समाजमा एकल महिलाले परिवार र समाजको प्रताडना विभिन्न रुपमा भोगिरहनु पर्दछ । 

कुनै पनि शुभकार्यमा त्यस्ता एकल वा विधवा महिलाहरुलाई सामेल नगराउनु त सामान्य कुरा भई हाल्यो, बाहिर कुनै कामले निस्कनु पर्यो भने कुनै कारणवश ती महिलालाई देख्नु पर्यो भने प्रतिक्रिया आइहाल्छ, त्यस्ती अलक्षिना आईमाईले देखियो, अब बन्ने काम पनि नबन्ने भयो, मानौ बन्ने कामको साँचो ती महिलाको हातमा छ । 

अब ती महिला गरीब, दलित, एकल र अशिक्षित छन् भने समाजले उनलाई बोक्सीको संज्ञा दिन वेर लाउँदैन । किनभने समाजको मान्यता हुन्छ, ती महिलाले आफ्नो श्रीमान्लाई खाइन् । त्यसैले हाम्रो परिवारमा पनि आँखा लगाएर समस्या खडा गर्छे । यी सवै प्रताडनाबाट मैले भेटेका ती महिला कुनै न कुनै रुपमा गुज्रिएको पाएँ । 

आर्थिक समस्या
नयाँ मुलुक भनेर चिनिने बाँके, वर्दिया, कैलाली तथा कञ्चनपुरमा थारुहरुबाहेक अन्य समुदायका व्यक्तिहरु धेरै पछि वसाइँ सरेका हुन् । किनभने त्यहाँ औलोको प्रकोप धेरै थियो । जजसको जमीनदारी थियो, उनीहरुका त सयौं बिगाहा जमीन आफ्नो हुने भयो, त्यो भनेको राज्यको पद तथा प्रतिष्ठा पाएका व्यक्तिहरु भए । तर बाँकी जनता सुखी जीवनको खोजीमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लावाट त्यहाँ झरेका हुन् । अतः अधिकांश मान्छेहरुसंग जग्गाको लालपूर्जा छैन । जमीन भएकाहरुसंग भने केही धुरदेखि ३ कठ्ठा जमीन भएको र त्यो पनि सवै ऐलानी भएको पाईयो । 

मैले भेटेका २० जना मध्ये दुईजना त त्यस्तो जमीन पनि नभएका रहेछन् । यति थोरै जमीनवाट उनीहरुको गुजारा चल्ने भएन । मुश्किलले खेतीपातीको मौसममा वर्षभरि १५ दिन जतिको काम पाउने रहेछन् र ज्याला दिनको रु ५ सय, त्यो भनेको साढे ७ हजार हो । यतिले उनीहरुको गुजारा हुने कुरै भएन । 

अतः अधिकांश परिवारका युवाहरु भारतका विभिन्न ठाउँमा रोजगारीमा जाने रहेछन् । कोही कोही परिवारसहित जानेहरूले त यहाँ भएका अन्य परिवारका सदस्यलाई एक पैसा पनि नपठाउने हुँदा उनीहरुको गरिबीमा कुनै सहयोग हुने देखिएन । सो ठाउँ डुवान क्षेत्र भएको हुँदा वर्षातको मौसममा खेती पनि राम्रो नहुने, वन्यजन्तु आरक्ष जोडिएको हुँदा जंगली जनावरले दिने दुःख अर्को पाटो भयो । क्षतिपूर्तिको लागि माग गर्दा जमीनको लालपुर्जा चाहिने भयो जो उनीहरुसंग छैन । लालपूर्जाको लागि सरकारी निकायमा निवेदन दिए तापनि त्यसमा निर्णय हुन नसकेको वर्षौं भएको रहेछ । अहिले सक्रिय रहेको भूमि आयोगमा उनीहरु नपर्ने रहेछन् । यसरी जमीनको समस्या पनि तत्काल समाधान हुने देखिदैन । 

एकल, त्यसमाथि अपाङ्ग
मैले भेटेका २० जनामध्ये ३ जना अपाङ्ग थिए, दुई जना सुस्त श्रवण र एकजना खुट्टाको समस्या । एकातर्फ एकल त्यसमा अपाङ्ग भनेपछि समस्या के के होलान् त्यो हामी सपाङ्गहरुले अनुमान पनि लगाउन सक्दैनौं । 
खुट्टामा समस्या भएकी महिलाका दुईटा छोरा त थिए तर उनीहरुले नहेर्ने बरु आमासँग केही रकम भयो भने उल्टो लिदिने रहेछन् । समूह भन्दा बाहिर रहेकी तर आर्थिक रुपले सवल देखिएकी अपाङ्ग एकल महिलाको पनि आफ्नै समस्या देखियो । हामीसँग कुरा गर्ने भनेर आएकी तर उनको गहभरी आँसु देखेपछि हामीलाई कुरा गर्न अप्ठेरो लाग्यो । 

झलारी बजार जस्तो राजमार्गसंग जोडिएको ठाउँमा घर भएकी एउटा खुट्टा नभए पनि स्कुटर चलाएर हिँड्ने ती महिलाका नेपाली सेनामा रहेका छोराहरु रहेका तर उनीहरुले उनलाई विभिन्न प्रकारको मानसिक मात्र नभएर शारीरिक यातना पनि दिने रहेछन् । कारण थियो, उनले धर्मपुत्रको नाममा संरक्षण दिएको एउटा केटो । 

उनका छोराहरुलाई लाग्दो रहेछ, भएको सम्पत्ति सवै उसैलाई दिने भई । तर उनीहरुले ती आमालाई हेरचाह तथा माया दिने काम भने नगरेको बुझियो । यसरी हेर्दा आर्थिक रुपले विपन्न एकल अपाङ्ग महिलाका समस्या त हुने नै भए, आर्थिक रुपले सम्पन्नका पनि अनेक खाले समस्या हुने रहेछन् ।

महिला हिंसाको चाङ
यसरी एकल महिलामाथि हुने हिंसाका स्वरुप अत्यन्तै डरलाग्दो तथा अमानवीय हुने देखियो । रेखा लुहार र लक्ष्मी अवस्थी त्यसका प्रतिनिधि पात्र हुन् । रेखा लुहार उमेरले ३० पनि कटेकी छैनन्, उनको श्रीमान्को धेरै पहिले मृत्यु भएको थियो । उनको परिवारमा सासु र जेठाजु तथा ९ वर्षको अपाङ्ग छोरा छ । 

रेखाको सासु र जेठाजुले उनलाई दैनिकजसो यातना दिन्छन्, कुटपिट समेत गरेको घटनामा महिला समूहले गएर उनीहरुलाई कारवाहीका लागि प्रहरीमा समेत लगेका रहेछन् । उनीहरुसँग धेरै सम्पत्ति त छैन तर पनि भएको सम्पत्तिमा यसले दावी गर्ने भई, सम्पत्ति लिएर यो अर्कैसंग भागी भने त्यो पनि गुम्ने भन्ने डरको कारणले गर्दा उनलाई यातना दिँदो रहेछ । 

एकातर्फ गरीब, अर्कोतर्फ दलित, परिवारबाट यातना अनि छोरा अपाङ्ग अनि उसको स्याहार सुसार गर्नुपर्ने बाँच्नको लागि ज्याला मजदुरी गर्नुपर्ने भएपछि उनको जीवन कस्तो होला, अनुमान लगाउन पनि गार्हो छ । 
लक्ष्मी अवस्थीको अवस्था पनि त्यस्तै हो । खास गरी उनको देवरले  वेला वेलामा कुटपिट समेत गरी चरम यातना दिने हुँदा उनी आवद्ध महिला समूहले उनलाई यातना तथा हिंसाबाट बचाउन प्रहरीको शरणमा लान्छ ।। पीडकलाई प्रहरीले दुई चार दिन थुनेर सहमतिमा घर पठाउँछ । फेरि त्यो नियति दोहोरिन्छ । यस्ता चरम हिंसाका चाङ त्यहाँ धेरै देखियो ।

संरक्षणको समस्या
लैंगिक सवालको कुरा गर्दा हाम्रो समाजमा छोरी माइतमा हुँदा बुवाको संरक्षण, विवाह भएपछि पतिको संरक्षण र पतिको मृत्युपछि छोराको संरक्षण भनिन्छ । अतः आमाको मृत्युपछि छोराछोरीले हेरचाह तथा संरक्षण गर्नु हाम्रो समाजको नियम हो । तर खास गरी कलिलो उमेरमा पति गुमाएका अधिकांश एकल महिलाहरूमा यो नियम लागु भएको देखिएन । सानै उमेरमा पतिको मृत्यु भएपछि खास गरी निम्न वर्गीय परिवारमा छोराछोरीको पालनपोषण गर्ने सम्पूर्ण अभिभारा विधवा आमाको हुन्छ । 

मैले भेटेको समूहका महिलाहरुले पनि आफ्ना छोराछोरीहरूलाई दुःखजेलो गरेर हुर्काएको पाइयो । केही बुझ्न तथा गर्न सक्ने भएपछि उनीहरु आमाको सहारा बन्लान् भन्ने समयमा रोजगारीका लागि भारत वा अन्य ठाउँमा जाने, उतै कमाउने र आफै मात्र रमाउने देखियो । 

आमाहरूलाई सोध्दा उसकै जीउ पाल्न ठिक्क छ हामीलाई के हेथ्र्यो भन्ने जवाफ दिए । संगै रहेका, हुर्केका छोराछोरीले न सघाउने, उल्टै आमाले जसोतसो जोडेको पैसा लिदिने, आमाकै बोझ बनेको वताए । कतिपय त लागूपदार्थको कुलतमा फसेको पनि छन् । त्यस्तो लागु पदार्थको कुलतमा फस्ने समस्या आर्थिक अवस्था राम्रो भएका एकल महिला परिवारमा वढी देखियो । 

एकजना समूहभन्दा बाहिर रहेकी महिलाले आफ्नो छोरालाई ८ कक्षादेखि नै बोर्डिङमा राखिदिदा लागु पदार्थको कुलतमा फसेको र पढाई पनि पुरा नगरेको, हाल आएर केही सुधारपछि कामदारको रुपमा दुबई पठाउन लागेको बताइन् । सामान्यतया आमाको दुःख देखेका छोराछोरीले ठूलो भएपछि आमाको सहारा बन्नुपर्ने ठाउँमा यस्तो वेपर्वाह तथा गैरजिम्मेवार व्यवहार देख्दा दुःख लाग्ने रहेछ । 

पुनर्विवाहका समस्या
कलिलो उमेरमा विधवा बनेपछि महिलाहरुलाई मानवीय जीवन जिउन दिने अर्को अवसरको रुपमा पुनर्विवाहलाई लिन सकिन्छ । तर विधवा विवाह खास गरी हिन्दू समाजमा ग्राह्य छैन । अर्कोतिर विधवाले विवाह गर्ने भनेको त्यस्तै विधुर वा एकल पुरुषसँग हो, तर त्यहाँ पनि सामाजिक र आर्थिक जटिलता देखिन्छ । 

अधिकांश एकल महिलाका ससाना छोराछोरी हुन्छन् । उनीहरुको स्वीकार्यता आमाले विवाह गरेको दोश्रो घरमा अत्यन्त कम देखिन्छ । तर केही जनजातिहरूमा भने परिवारभित्रै दाजु मरेमा भाउजूलाई सकार्ने प्रथा देखिन् । यसवाट ती एकल महिलालाई धेरै राहत भएको हुनुपर्छ । तर केही जनजातिबाहेक अन्यत्र यो प्रथा त्यति प्रखर रुपमा नहुँदा यो पनि दिगो समाधानको उपाय भएको देखिदैन । 

राजनैतिक समस्या
कुनै वेला सरकारले ६० वर्ष उमेर पुगेका विधवालाई भत्ता दिने व्यवस्था गरेको थियो, पछि श्रीमान वितेका जुनसुकै उमेरका महिलालाई भत्ता दिने व्यवस्था गरेको छ । मासिक रुपमा रु २६६० का दरले भत्ता वितरण हुने रहेछ र सो भत्ता त्रैमासिक वा चौमासिक रुपमा पाउने रहेछन् । 

कहिले सरकारबाट वजेट निकासामा ढिलो त कहिले बैंकहरुको प्रशासनिक झमेलाका कारणले सो भत्ता पनि समयमा पाइँदैन । मैले माथि चर्चा गरेका दुईटा पालिकाले सो भत्तामा पनि रु एक सय काटेर दिने रहेछ । 
जे भए नि सो भत्ताले उनीहरुको जीवनमा प्राणवायुको काम गरेको देखियो । किनभने जीवन गुजारा गर्न आवश्यक नून, तेलदेखि लिएर कहिलेकाहीँ बिसन्चो हुँदा पनि सो रकम बहुउपयोगी देखियो । तर अधिकांश महिलाहरुले भत्ता पाउनु अघिसम्म लिएका उधारो तिर्नमै सो रकम नपुग्ने बताउँछन् । 

आर्थिक रुपले अति विपन्न तथा असहाय एकल महिलाहरुलाई स्थानीय सरकारले पनि उचित व्यवस्था गर्नुपर्ने हो तर त्यसमा बजेट नभएर अन्य काम गर्न नसकिने जवाफ वडाबाट पाइयो । वडामा जम्मा ५० लाखको बजेटले अन्य काम गर्नुपर्दा एकल महिलाका समस्या समाधानमा पहल गर्न नसकिएको एक वडाध्यक्षले बताए । तर पीडित सवैको गुनासो थियो वडाध्यक्षले हाम्रो कुरा सुन्दैनन् । 

एकल महिलाहरुको सन्दर्भमा लिली थापा, जो अहिले मानव अधिकार आयोगकी आयुक्त पनि छन्, उहाँले स्थापना महिला मानव अधिकार संस्थाबाहेक अन्य संस्था देखिदैन । जिल्लागत रुपमा पनि उनकै संस्थाका शाखाहरु केही मात्रामा क्रियाशील छन् । तर ती पनि श्रोतसाधनको अभावमा सीमित क्रियाकलाप मात्रै गरिरहेका छन् । 

लिली थापाकै अनुसार अहिले एकल महिलालाई सम्वोधन गर्ने कानून नभएका होइनन् तर ती छरपस्ट रुपमा छन् । सरकारले बजेट वक्तव्यमार्फत् एकल महिला भत्ताको व्यवस्था गरेको छ तर उनीहरुका विविध समस्या सम्वोधन गर्न पनि विभिन्न कानूनमार्फत सिधै वा धेरैजसो घुमाउरो तरीकाले सम्वोधन गरेको देखिन्छ । यसले तीनै तहका सरकारले उनीहरुको समस्यालाई निर्दिष्ट रुपमा सम्वोधन गर्न सकेको वा खोजेको देखिदैन । 
मेरो बुझाईमा जसरी मैले पनि एकल महिलाको समस्या सीमित महिलाहरुको मात्र समस्या हो भनेर बुझेको थिएँ, खास गरी सरकार र पार्टीहरुको पनि बुझाई त्यस्तै देखियो । संस्थागत रुपमै काम गर्ने अन्य संस्था नहुनाले पनि एकल महिलाका विकराल समस्या ओझेलमा परेको देखिन्छ । 

लैंगिक विकासमा नेपालले फड्को मारेको कुरा त संघीय तथा प्रदेश संसदहरूमा महिलाहरुको झण्डै ३३ प्रतिशत प्रतिनिधित्वले देखाउँछ, जुन कुरा विकासको उच्च विन्दुमा पुगेका युरोप तथा अमेरिकी देशहरुमा समेत छैन । तर यो सवै प्रगति एकल महिलाको हकमा कौवालाई वेल पाक्यो हर्ष न विस्मात जस्तो देखिन्छ । उनीहरु जुन खालको अमानवीय जीवन बाँचिरहेका छन्, त्यो हेर्दा नेपालको लैंगिक विकासले उनीहरुको उपहास गरिरहेको जस्तो लाग्छ । 
समाधानका उपाय के त ?
राजनैतिक रुपमा सम्वोधन गर्न पार्टीहरुले एकल महिलाकै वकालत गर्ने महिलाहरुलाई राजनीतिमा ल्याउनु पर्छ र उनीहरुलाई आवश्यक ठाउँमा प्रतिनिधित्व गराउनु पर्छ । नीतिगत रुपमा सम्वोधन गर्न एउटा एकीकृत संघीय कानून ल्याउनुका साथै प्रदेश र स्थानीय तहलाई सोहीअनुरुप कानून बनाई सम्वोधन गर्न लगाउनु पर्छ । 

गैरसरकारी संस्था क्रियाशील रहेको ठाउँमा एकल महिलाका समूह बनाएर काम गरेका छन् तर ती अपर्याप्त छन् । यस्तोमा स्थानीय तहहरुले नै सामाजिक परिचालक नियुक्त गरेर त्यस्ता महिलाहरुलाई संगठित गरी उनीहरुको आर्थिक, सामाजिक तथा राजनैतिक सशक्तीकरणका लागि काम गर्नु पर्दछ । 

हुन त सरकारमा जानेहरुलाई आफ्नै सरकार कसरी टिकाउने र सत्तामा रजाई गर्ने सोचबाहेक एकल महिलासहित देशका तमाम अन्य समस्यामा सोच्ने फुर्सद नभएको देखिन्छ । तै पनि आशा गरौं, सामाजिक न्यायबाट वञ्चित र सवै वर्ग र जातजातिमा विकराल समस्याको रुपमा रहेको एकल महिलाको समस्या समाधानमा सम्वोधन हुँदै जानेछ । 

अन्त्यमा अहिले चुनावको माहोल छ । एकल महिला अधिकारकर्मीहरुले पार्टीहरुलाई उनीहरुको घोषणा पत्रमा एकल महिलाका सवाललाई सम्वोधन गराउने प्रतिवद्धता लेखाउन सकेमा त्यो अर्को समाधानको उपाय हुनेछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।