शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको दबदबा तोडेर बंगलादेशको उदय, नेपाल यथास्थितिमै

शुक्रबार, ०७ असोज २०७९, १३ : १२
शुक्रबार, ०७ असोज २०७९

हालै दशरथ रंगशालामा सम्पन्न महिला साफ च्याम्पियनसिपले भारतको दबदबा तोडिएको छ । साफले बंगलादेशलाई नयाँ च्याम्पियन पाउँदा नेपालका लय भने पुरानै देखिएको छ । पाँचौं संस्करणसम्म पुग्दा एकै टोली अर्थात् भारतले बर्चस्व जमाएको साफको छैटौं संस्करणमा भने नयाँ च्याम्पियन पाएको छ । यसअघि नेपालले खेलेका साफको चारवटा संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफको पाँचवटै उपाधिमा भारतले एकलौटी कब्जा जमाएको थियो ।

दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको प्रतियोगिता भदौ २१ बाट दशरथ रंगशालामा सुरु भएर असोज ३ मा सकिएको थियो । साफको यो संस्करणमा पाकिस्तानले आठ वर्षपछि फुटबलमा पुनरागमन गरेको थियो । पाकिस्तानको पुनरागमन पनि सम्झन लायक रह्यो । उसले एक खेलमा जित पनि हासिल गर्यो ।

प्रतियोगितामा भएका १२ खेलमा ५९ गोल भए । त्यसमा च्याम्पियन बंगलादेशले सर्वाधिक धरै गोल गर्यो । उसले २३ गोल गर्दा १ गोलमात्रै खायो । यसपाली साफमा श्रीलंका र माल्दिभ्स गोल र अंकविहीन बने । नेपाल समूह चरण र सेमिफाइनलमा अपराजित हुँदा फाइनलमा भने हार बेहोर्याे ।

नेपालले भारतमाथि साफ इतिहासमै पहिलो जित निकाल्यो । १२ वर्षको साफ इतिहासमा नेपालले पहिलो पटक भारतलाई १–० गोल अन्तरले हराउँदै नयाँ इतिहास कोर्यो । यता भुटानले पनि पहिलो जितसँगै साफ इतिहासमा पहिलो पटक सेमिफाइनलमा स्थान बनायो । भुटानले यसअघिका पाँच वटा संस्करणमा जित निकाल्न सकेको थिएन ।

साफको फाइनल खेलबाट नेपाली टोलीका सदस्य पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरे ।

बादशाह बंगलादेश

बंगलादेश साफ महिला फुटबलको दोस्रो पटक फाइनलमा पुगेको टोली हो । यसअघि सन् २०१६ मा बंगलादेश साफको फाइनलमा पुगेको थियो । उक्त फाइनल खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो । यो पटकको बंगलादेश बादशाह बन्यो । बंगलादेश अपराजित हुँदै साफको फाइनलमा पुग्न सफल भयो । फाइनलमा घरेलु टोली नेपालमाथि ३–१ गोलको जित निकाल्दै साफ च्याम्पियन बन्न पुग्यो ।

साफका लागि बंगलादेशको तयारी राम्रो थियो । सो टोलीले विगत दुई वर्ष यता महिला फुटबलमा राम्रो लगानी गरेको थियो । यसकारण बंगलादेशले आफ्नो तगारो बनेको भारतलाई पनि सेमिफाइनलमा ३–० गोल अन्तरले हराउन सफल भयो ।

भुटानको ऐतिहासिक यात्रा

साफ फुटबलको इतिहासमा भुटानले एक मात्र जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । समूह चरणको खेलमा श्रीलंकालाई हराउँदै भुटानले सेमिफाइनलको यात्रा तय गर्यो । भुटानका लागि उक्त जित साफ इतिहासमै सम्झन लायक जित भयो ।

भुटान अघिल्लो संस्करण भन्दा बलियो रुपमा प्रस्तुत भयो । साफ इतिहासमा १२–१३ गोल खाने इतिहास रहेको भुटानले यो पटक भने एक जित अनि सम्रगमा १२ गोल ब्यहोर्याे । भुटानले श्रीलंकालाई ५ गोल पनि हान्यो । भुटानले पछिल्लो समय एकेडेमिक फुटबलमा राम्रो लगानी गरेको छ । भुटानले युवा खेलाडीलाई समेट्दै राम्रो टोली बनाएको थियो । उसको सफलतामा कोरियाली प्रशिक्षक क्युङ सुक होङको पनि ठूलो भूमिका छ ।

बंगलादेशकी कप्तान सविना खातुन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले साफ फुटबलमा दुई ह्याट्रिकसहित ८ गोल गरिन् । यता बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा उत्कृष्ट गोलरक्षक चुनिइन् । बंगलादेशले फेयर प्लेको अवार्ड पनि हात पार्यो ।

पाकिस्तानको पुनरागमन

पाकिस्तानले पछिल्लो सयम फुटबलमा पुनरागमनसँगै लगानीको सम्भावना पनि देखाएको छ । फलस्वरुप पाकिस्तानको यो पटकको साफमा प्रदर्शन सम्झन लायक भयो । आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको पाकिस्तानले एक जित निकाल्यो । साफको पहिलो खेलमा नै बलियो टोली मानिएको भारतसँग ३–० गोलको नतिजा निकाल्दै पाकिस्तानले फुटबलमा पुनरागमन गरेको हो ।

फिफाको प्रतिबन्धका कारण पाकिस्तान पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्धित थियो । साफको समूह ‘ए’ मा रहेको पाकिस्तान तीन खेलमा २ हार र एक जितको नतिजा निकालेको थियो । पाकिस्तनले माल्दिभ्सलाई ७–० गोल अन्तरले हराएको थियो  भने बंगलादेशसँग ६–० ले पराजित भएको थियो ।

भारतको दबदबा अन्त्य

भारत महिला साफ इतिहासमा बलियो टोली हो । उसले अघिल्ला पाँच संस्करणमा अपराजित रहँदै उपाधि जितेको थियो । भारतले पाँचमध्ये चार संस्करणमा नेपाललाई हराउँदै उपाधि जित्यो भने बाँकी एक संस्करणमा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

तर, यो पटक भने बंगलादेश र नेपाल दुबैले भारतलाई हराए । समूह चरणमा भारतलाई बंगलादेशले ३–० गोल अन्तरले हरायो । त्यस्तै सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । यसअघि भारत साफ इतिहासमा २५ खेलमा अपराजित थियो । भारतले एक खेल मात्र बराबरी खेलेको थियो ।

सन् २०१६ मा समूह चरणमा भारतले बंगलादेशसँग बराबरी खेलेको थियो । तर, सोही संस्करणमा भारतले बंगलादेशलाई फाइनलमा हराउँदै उपाधि जित्यो ।

चार ह्याट्रिक

बंगलादेशकी खेलाडी सविना खातुनले साफको यो संस्करणमा दुई ह्याट्रिक पूरा गरिन् । उनले पाकिस्तान विरुद्धको समूह चरणको खेलमा ह्याट्रिक गर्दा भुटान विरुद्धको सेमिफाइनल खेलमा पनि ह्याट्रिक पूरा गरिन् । भारतकी अन्जु तामाङले माल्दिभ्स विरुद्धको समूह चरणको खेलमा ह्याट्रिक गर्दा पाकिस्तानकी नादिया खानले पनि माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक पूरा गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप