घरबासको आकर्षक परिकार रातो च्याउ

person explore access_timeअसोज ७, २०७९ chat_bubble_outline0

बागलुङमा पछिल्लो समय घरबास पर्यटन निकै फस्टाउँदै गएको छ । बिदाका समयमा घुम्ने, रामाइलो गर्ने र पर्यटकीयस्थलको भ्रमण गर्ने परिपाटीसँगै आन्तरिक पर्यटक जिल्लाका विभिन्न घरबासमा पुग्ने गरेका छन् । 


बागलुङको ताराखोला गाउँपालिकाको एक घरबासले भने अन्य घरबासको तुलनामा फरक परिकारको स्वादले मनै लोभ्याउने गरेको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरबासको मुख्य आकर्षणका रुपमा जङ्गली रातो च्याउ रहेको छ । दुर्गम स्थानको ठूलो हिले सामुदायिक घरबासले आफ्नो घरबासको मुख्य परिकारका रुपमा रातो जङ्गली च्याउको परिकार पाहुनाले खुबै रुचाउने गरेका छन् । ताराखोलाको डुडेलेकको जङ्गलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरबासमा पुग्ने गरेका छन् । 



घरबासमा पुग्ने पाहुनाले त्यहाँको प्राकृतिक मनोरम दृश्य र सँगै अर्गानिक उत्पादनले आफूलाई आकर्षित गरेको ठूलोहिले सामुदायिक घरबासका सञ्चालक तेजेन्द्रबहादुर श्रीसले बताए । “ताराखोला भन्नासाथ रातो च्याउको नाम आउँछ, हामीले घरबासमा यसलाई मुख्य परिकारका रुपमा अगाडि सारेका छौँ, त्यसबाहेक सेतो च्याउ र फापरको पीठो दोस्रो आकर्षण हो”, श्रीसले भने, “डुडेलेक एक आकर्षक पर्यटकीय गन्तव्य हो, हामीले पर्यटकलाई आकर्षित गर्न घरबास सञ्चालनमा ल्याएका हौँ ।” बर्खामा बाटोका कारण पर्यटक घटेको भए पनि च्याउको कोसेली पठाउन फोन आउनेसमेत गरेको छ । 



घरबासमा रातो च्याउबाहेक जङ्गली सेतो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल घारबासको मुख्य परीकार हो । पर्यटकीय क्षेत्र डुडेलेक पुग्ने र स्थानीय परिकारका पारखी ठूलो हिले पुग्ने गरेका छन् । तीन वर्षदेखि सञ्चालनमा आएको ठूलो हिले सामुदायिक घरबास पर्यटकीय क्षेत्रमा भएकाले पर्यटकको रोजाइमा पर्न थालेको हो । तारोखोला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो छ । प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख रहेको छ । 

घरबास नखुल्दैसमेत यहाँ सामान्य पर्यटक घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् । घरबासमा आउने जोकोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेको घरबास सञ्चालक बताउँछन् । पाहुनाले आफ्नो परिवारका सदस्य रहेको युरोप, जापान, अष्ट्रेलिया तथा अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गरेर पठाउँदै आएको पाइएको छ । सुकेको रातो च्याउ लामो समय रहने भएकाले विदेशमा कोसेलीका लागि लैजाने गरेका छन् । 

जङ्गली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्ने ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीले बताए । “जङ्गलमा गएर ल्याउनै सकस हुन्छ, च्याउको सिजनमा जङ्गलमा च्याउ टिप्नेको लर्को नै लाग्छ”, घर्तीले भने, “निकै दुःख गरेर ल्याइन्छ यसको महत्वसमेत धेरै भएकाले मूल्य राम्रो छ, परिवारले पनी खानैप¥यो, आफन्तलाई पठाएर रहेको मात्रै बिक्री गर्ने हो ।” 

घर्तीले जङ्गली रातो र सेतो च्याउको माग धान्नै नसकेको बताए । स्थानीयवासीले जङ्गलमा घाँस, दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण भने हुन सेको छैन । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै गएको र मूल्य बढ्दै गएको स्थानीय धनबहादुर बुढाले बताए । बुढाका अनुसार समयअगावै च्याउ टिप्दा बिउ मासिने अवस्था रहेको बताउँदै यसलाई व्यावसायिक उत्पादनकारुपमा अगाडि बढाउनुपर्ने बताए । उच्च पहाडी भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ ।

जङ्गलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । ताराखोलाको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ । रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोला लगायतको घना जङ्गलमा समेत पाइन्छ । रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँन थालेपछि गाउँपालिकाले रातो च्याउलगायत ताराखोलाको भाँगो, सिन्की र आलुलाई ब्राण्ड गर्ने नीति तथा कार्यक्रममै समावेश गरेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विश्वकर्माले स्थानीय अर्गानिक उत्पादनको ब्राण्डिङ, प्याकेजिङ र बजारीकरण गाउँपालिकाले गर्ने योजना बनाएको बताए । 

उनले ताराखोलाको भागो र आलुको माग निकै रहेको बताए । ताराखोलामा ठूलो हिलेसहित किकल्टा घरबासमा समेत रातो च्याउसँगै सिस्नोको परिकार खान पाइने गरेको छ । किकल्टा घरबास ताराखोलाको भागमा रहेकाले जिल्लाकै चर्चित घरबासमा पर्ने गरेको छ । सिताके च्याउको व्यावसायिक उत्पादन थाले जस्तै वैज्ञानिक तरिकाले रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष राजबहादुर थापाले बताए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।