शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभाबाट सुविधाबापत लिइएका ५ गाडी फिर्ता, १० वटा फिर्ता हुन बाँकी

शुक्रबार, ०७ असोज २०७९, २२ : ४०
शुक्रबार, ०७ असोज २०७९

प्रदेश १ प्रदेशसभाका सदस्यहरु एक हप्ता अघि (असोज १)मा औपचारिक रुपमा बिदा भएर गइसकेका छन् । प्रदेशसभा अधिवेशन अन्त्यपछि सांसदहरु चुनावी गतिविधिमा सक्रिय हुन थालेका छन् । आफ्नो कार्यकाल सकेर ताजा जनादेशको प्रक्रिया सुरु हुन लागेसँगै विभिन्न पार्टीका संसदीय दलका नेता, उपनेता तथा संसदीय समितिका सभापतिहरूले धमाधम सरकारी सुविधा बापतको गाडी फिर्ता गर्न थालेका छन् ।

एक साता यता ५ जनाले प्रदेशसभाबाट सुविधा स्वरुप प्राप्त गरेको गाडी फिर्ता गरेका छन् । प्रदेश १ प्रदेशसभामा सभामुख, उपसभामुख, दलका नेता, उपनेता, प्रमुख सचेतक, संसदीय समितिका सभापतिहरुका लागि १५ वटा गाडी प्रयोग हुँदै आएको छ । १० वटा गाडी भने फिर्ता हुन बाँकी छ ।

सबैभन्दा पहिले गाडी बुझाउनेमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला छन् । उनले प्रयोग गरेको को१झ ६५४ नम्बरको गाडी प्रदेशसभा सचिवालयलाई फिर्ता गरेका छन् । यस्तै अर्थ समितिका सभापति मोहनकुमार खड्काले पनि सरकारी गाडी फिर्ता गरेका छन् । उनले प्रयोग गर्दै आएको को१झ ६६० नम्बरको गाडी फिर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले प्रयोग गरेको को१झ ६५९, सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले प्रयोग गरेको को१झ ६५०, नेकपा एमाले संसदीय दलकी उपनेता यशोदा अधिकारीले प्रयोग गरिरहेको को१झ ५२८ नम्बरको गाडी पनि फिर्ता भएको छ ।

प्रदेश १ मा सरकारी सुविधाको गाडी कार्यकाल सकिएको कति दिनमा फिर्ता गर्ने भन्ने नै कतै उल्लेख नरहेको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले बताए । ‘सामान्यतः कहिलेसम्ममा फिर्ता गर्ने भन्ने विषय हाम्रो नियमावलीमा छैन,’ पराजुलीले भने, ‘अन्य प्रदेशमा ७ दिन भन्ने रहेछ, त्यसो हुँदा अब फिर्ता गर्नु भनेर सबैलाई भनेका छौं, सबैले बुझाउँछौं भन्नुभएको छ, कुराकानी भइरहेको छ ।’

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले आफूले प्रयोग गरेको गाडी तत्काल फिर्ता गर्ने बताए । ‘मैले प्रदेशसभामा जानकारी दिएको छु, अबको २ दिनमा फिर्ता गर्छु,’ राईले भने ।

प्रदेशसभामा सभामुख प्रदीपकु्मार भण्डारी र उपसभामुख सरस्वती पोखरेलका लागि ३ वटा गाडी प्रयोग हुँदै आएको छ । विषयगत समितिका सभापतिहरुसँग कुल ७ वटा, कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाका लागि १, विपक्षी दलका नेता भीम आचार्यले १, एमाले संसदीय दलका उपनेता यशोदा अधिकारीले १, कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राई र प्रतिपक्षी दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले एउटा गाडी सुविधा बापत प्राप्त गरेका हुन् ।

निर्वाचन आयोगले सरकारी सुविधाका गाडी प्रयोग गरेर निर्वाचन प्रचारप्रचार गर्न नपाउने गरी आचारसंहिता बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप