बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनाव चिह्न लौरोबारे स्पष्टीकरण माग, कमजोर बन्यो नेपाली रुपैयाँ

शुक्रबार, ०७ असोज २०७९, २२ : १८
शुक्रबार, ०७ असोज २०७९

आज मिति २०७९ साल असोज महिनाको ७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. लौरो चुनाव चिह्नको विषयमा आयोगको स्पष्टीकरण

स्थानीय तहको निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको चुनाव चिह्न ‘लौरो’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको छ । त्यसैले आसन्न निर्वाचनमा ‘लौरो’ चुनाव चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारले नपाउने भएको निर्वाचन आयोगले प्रस्ट पारेको छ ।

‘हाम्रो नेपाली पार्टी’ नाम गरेको दलले ‘लौरो’ चुनाव चिह्न पाएको तर सो पार्टीले दलीय चुनाव चिह्न लिएर पनि स्वतन्त्र उम्मेदवारकै रुपमा प्रचारप्रसार गरेको भन्दै आयोगले उक्त पार्टीका अध्यक्ष अनन्तराज घिमिरेसँग प्रष्टिकरण माग गरेको छ ।

२. घोषणापत्रमा जुट्यो कांग्रेस

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र निर्माण प्रक्रिया थालेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र तयारी समितिले घोषणापत्र निर्माण गरिरहेको छ । पार्टीका ६ जना सहमहामन्त्री, सात जना केन्द्रीय सदस्य, विभिन्न क्षेत्र र वर्गका विज्ञ सम्मिलित समितिले घोषणापत्र तयार पार्दैछ ।

​३. एमालेतिर ढल्कियो लोसपा

लोकतान्त्रिक समाजवादी पार्टीले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

​नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा झन्डै ३ घण्टा कुराकानी भएको हो ।

​४. कमजोर बन्यो नेपाली रुपैयाँ

अमेरिकी डलरसँगको विनियम दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ ।

​थप अर्थ समाचार

​५. नागरिकतासम्बन्धी रिट हेर्न भ्याइएन

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी परेको रिटको सुनुवाई आइतबार मात्रै हुनु भएको छ । शुक्रबारका लागि पेसी तोकिएपनि ती रिटहरु हेर्न नभ्याइने सूचीमा परेपछि आइतबार सुनुवाई हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएको सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै रिट दर्ता भएको थियो । 

६. आयोगले प्रम बोलाउने

मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ । त्यसका लागि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार आयोगमा बोलाउने तयारी गरेको छ ।

निर्वाचन आयोगले बजेट रकमान्तरबारे अर्थ मन्त्रालयसँग विवरण माग गरेको छ । कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम रकमान्तर गरिएको हो भन्नेबारे आयोगले मन्त्रालयसँग विवरण मागेको हो । आयोगले मन्त्रालयलाई यसबारे २४ घण्टाभित्र  जानकारी उपलब्ध गराउन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अस्थिरताको कारक प्रचण्ड भएको भन्दै आरोपित गर्ने गरेको पनि बताए ।

​७. रवीन्द्र मिश्र राप्रपा प्रवेशबारे

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन प्रस्ताव गरेको छ  । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै उनलाई वरिष्ठ उपाध्यक्ष दिनेबारे औपचारिक प्रस्ताव गरेका हुन् । यद्यपि यो विषयमा थप छलफल र टुंगो लगाउने जिम्मेवारी लिङ्देनलाई नै दिइएको छ ।

​८. २४ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

​९. पूर्व प्रहरीमा नेता बन्ने रहर

इन्स्पेक्टर हुँदादेखि नै प्रहरीमा ‘काबिल अफिसर’को छवि बनाएका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकबाट अवकाशपछि केही वर्ष मौन बसे । तर देशमा चुनावी माहोल तातिँदै गर्दा उनको मौनतापनि तोडिएको छ ।  अर्थात नेता बन्ने महत्वकांक्षाका साथ उनी बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित एमाले मुख्यालयमा आयोजित समारोहका बीच उनी एमालेमा प्रवेश गरेका हुन् ।  खनाल जस्तै करिब एक दर्जन पूर्व प्रहरी अधिकृत राजनीतिमा छन् ।

१०. यो पनि...

त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो ।

गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन ।

थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप