कथा : भालेको रस

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

‘हैन यो भालेलाई कालले कुत्कुत्यायो कि के हो ? मेरै अगाडि आएर छेक्नुपर्छ यसलाई ?’ पिँढीमा बसेर सुल्पा तानिरहेको होमबहादुर अर्थात् होमे रिसले जङ्गियो । अनि आफ्नै चप्पल टिपेर झटारो हान्यो भालेलाई । भाले र पोथी दुवै डरले उफ्रेर क्वाक्क्वाक् गर्दै एकैपटक आँगनको पल्लो छेउ पुगे ।


होमे एक्लै फत्फताउँदै चप्पल लिन गयो । चप्पल लिएर फर्कंदा जुठेल्नामा भाँडा माझ्दै गरेकी देउकला खितिति हाँसी । ऊ हाँसेको होमेलाई पटक्कै मन परेन । बरु उसलाई खपि नसक्नु रिस उठ्यो । एक लात जमाएर दिऊँजस्तो लाग्यो उसलाई । तर उसले आफैंलाई समाल्यो । रिसलाई दबायो । 



अरूबेला देउकला यसरी हाँस्दा होमे प्रेमले भुतुक्कै हुन्थ्यो । अनि देउकलालाई बेस्सरी अँगालो मारेर गालामा लामो म्वाइ खान्थ्यो । तर आज उसलाई पटक्कै त्यस्तो गर्न मन लागेन । बरु रिस उठ्यो उसलाई देउकलासँग । मनमनै गाली गर्यो, ‘नकच्चरी, चर्तिकला देखाउँछे आफ्नो ।’



देउकलाले भने उसलाई कर्के आँखाले हेरी । ऊ घायल भयो । के गरूँ के गरूँ भएर छटपटियो होमे । ऊ जुरुक्क उठेर आँगनमा फनफनी घुम्न थाल्यो । 

देउकलाले जुठा भाँडा मस्काउँदै होमे आँगनमा घुमेको हेरिमात्रै रही ।

दुई दिन भयो, उनीहरू बोलेका छैनन् । देउकलासँग होमे रिसाएको छ । 

अस्ति साँझ होमे कामबाट फर्कंदा देउकला र पल्लो गाउँको भक्ते बात मारिरहेका थिए । होमे आँगनमा पुग्दा भक्ते र देउकला कुन्नि के कुराले हो मज्जाले हाँसिरहेका थिए । तर यो हाँसो होमेको मुटुमा सुइरो बनेर बिझ्यो । आफ्नी स्वास्नी अर्कै लोग्नेमान्छेसँग यसरी खुलेर हाँस्नु, त्यो पनि घरमा अरू कोही नभएको बेला । होमेका लागि खपिनसक्नु विषय बन्यो । 

यसै पनि होमेलाई आफ्नी स्वास्नीले अरू कोही लोग्नेमान्छेसँग हाँसेर बोलेको मन पर्दैन । यो कुरा देउकलालाई पनि थाहा छ । त्यसैले ऊ लोग्नेसामु अरू कोही लोग्नेमान्छेसित खुलेर बोल्दिन । चाहिएको बाहेक अरू  केही कुरा गर्दिन । बरु आफ्नो लोग्ने र अरू मान्छे कुरा गरेको घरभित्रैबाट सुनिरहन्छे । 

आज भक्ते कतैबाट आउँदै थियो । आँगनमा देउकला एक्लै कोदो निफन्दै गरेकी देखेर भक्ते पानी खाने निहुँ गरेर आयो । भक्ते देउकलाको बालसखा नै हो । सँगै खेलेर, सँगै हुर्केका हुन् । मेलापर्वमा सँगै डुलेका पनि हुन् । तर माया लाउने कुरामा होमेले बाजी मार्यो । त्यसैले देउकला होमेकी स्वास्नी बनी ।

हुन त भक्तेको मनमा कुनै पाप थिएन । देउकलालाई आँगनमै देखेर एक वचन बोलुँ भनेरमात्रै आएको थियो । कुरा गर्दै जाँदा हाँसो उठ्दो कुरा पनि आए र दुवै जना सँगसँगै हाँसे । कुरा यत्ति हो । तर यत्ति कुरा नै होमेका लागि पहाड पल्टियो । 

होमेले भक्तेका सामु स्वास्नीलाई केही भनेन । केही गरेन । बरु स्वास्नीलाई आँखा तर्दै हुर्रिएर घरभित्र पस्यो । भित्र गएर खाटमा थचक्क बस्यो र रिसले लामो लामो सास फेर्न थाल्यो । बेला बेलामा ढोकाबाहिर पनि चिहायो । बाहिर कोही बोलेको सुनिएन, न भक्ते न देउकला । 

भक्ते अघि नै लुसुक्क हिँडिसकेको थियो । उसलाई थाहा छ, होमेको रिस । कत्तिखेर खुकुरी नचाउँदै आउँछ होमे, कसैलाई थाहा हुँदैन । यो उसको पहिलेदेखिको बानी हो । गाउँमा कसैसित रिस उठ्यो अथवा झगडा पर्यो कि टल्कने खुकुरी नचाउँदै कराउँथ्यो होमे, ‘लौ आओ कोही छ मर्दको छोरो ?’ त्यसपछि झगडियामात्रै होइन, झगडा हेर्ने तमासेहरू पनि पर पर सर्थे ।

भक्ते गइसकेपछि देउकला डराइ डराइ लुसुक्क घरभित्र पसी । होमे रिसले लामो लामो सास फेरिरहेको देखेर देउकलाको सातो गयो । ऊ डरले खुम्चिन थाली । त्यही बेला होमेले पुलुक्क स्वास्नीतिर हेर्यो । देउकलाले लोग्नेको आँखामा आगोको ज्वाला नै देखी । तर उसले साहस बटुलेर भनी, ‘मैले के गरेकी छु र मुख फुला’र बस्या’ नि ?’

होमेले एक पटक फेरि स्वास्नीलाई आँखा तरेर हेर्यो । तर केही भनेन । नबोली रिस देखाउने उसको बानी नै हो । यो कुरा देउकलालाई पनि थाहा भइसकेको छ । यसअघि पनि ठाकठुक पर्दा होमे यसै गरी रिस देखाउँथ्यो । 

देउकलाले केही नहुने काम गरेकी छैन । त्यसैले उसलाई आफूले केही गल्ती गरेको महसुस नै भएको छैन । तर त्यसै त्यसै लोग्ने रिसाएको देखेर भने उसलाई पनि नमज्जा लागेको छ । 

उसले अम्खोरामा पानी हालेर दिई । तर होमेले अम्खोरा समातेन । अनि उसले अम्खोरा भुइँमै राखिदिई ।

अम्खोरा भुइँमा राखिदिइ भनेर होमेलाई रिस उठ्यो । उसले लात्तीले हानेर अम्खोरा पर पुर्याइदियो । पानी उछिट्टिएर भुइँ र भित्तामा समेत लाग्यो । लोग्नेको यस्ता चालाले अब देउकलालाई पनि रिस उठ्यो । ऊ पनि रिसाएर च्याँठ्ठिइ, ‘किन अम्खोरालाई रिस पोख्छौ, मैलाई पोखे भैगो नि ।’ 

होमेले आँखा ठूल्ठूला पारेर हेर्यो स्वास्नीलाई । देउकलालाई पनि रिस उठ्यो बिनसित्तिमा लोग्ने रिसाएकाले । अनि ऊ फेरि च्याँठ्ठिइ, ‘किन बिरालाका जस्ता आँखाले हेर्छौ ? मैले के बिराएकी छु र ?’

नाठोसित इत्रिएर अझ के बिराएँ भन्छेस् ? यसै भन्न मन लागेको थियो होमेलाई । तर उसले भनेन । मनमनै मात्र सोच्यो र मनमनै मात्र भन्यो । 

‘मैले कसैसित बोल्नै नहुने । कस्तो शंका गर्ने बानी ।’ यसरी फतफताउँदै देउकला चामल केलाउन थाली ।

होमे केही नबोली फुत्त बाहिर निस्क्यो । देउकला बाहिर आएर हेर्दा होमे अलप भइसकेको थियो । 

देउकलालाई पीर पर्न थाल्यो । लोग्नेले केही उपद्रो पो गर्ने हो कि ? रिसको झोँकमा गएर भक्तेलाई ठटाउने पो हो कि ? देउकलाको मनमा औडाहा हुन थाल्यो ।

भात पाकिसकेपछि होमे फेरि टुप्लुक्क घरमा आइपुग्यो । तर ऊ अघिजस्तो सद्दे थिएन । अलिअलि हल्लिँदै आयो । होमे चप्पल पनि नफुकाली भित्र पसेको देखेर देउकलाले आँखा तरेर हेरी । अनि चप्पल टिपेर बाहिर हुर्याइदिई । रक्सीको गन्ध ह्वास्सै आयो । नाक थुनेजस्तो गरेर देउकलाले भनी, ‘साइँलीको मुत खान पो गा’ रै’छन् । खान्छु भन्या भा’ त मैं दिन्थेँ नि । घरमै छँदैथियो क्यारे ।’

होमे बोलेन । नबोलेकै जाती भयो । नत्र देउकलाको रिस झन् बढ्थ्यो । अनि झन् ठूलो रडाको मच्चिन्थ्यो ।

होमे भात नखाई सुत्यो । देउकला एक्लैले खाई भात । सासु ससुरासँग छुट्टिएर बसेकाले कसैलाई खुवाउनु र कुर्नु परेन देउकलालाई । यति कुरामा भने हाइसन्चो छ उसलाई । उसकी दिदी रामकलालाई आधा रातसम्म जुठो भाँडा माझ्नुपर्छ । त्यसपछि अझै एउटा काम बाँकी नै रहन्छ, लोग्नेलाई रिझाउने काम । दिदीको पीडा सम्झिरहेकी छे देउकलाले ।

लोग्ने रक्सीको सुरमा भित्तातिर फर्केर सुतेको देखेर देउकलालाई लोग्नेसित टाँस्सिएर सुत्न मन लागेन । उसले भुइँमै ओछ्यान लगाई र सुती । तर उसलाई छिट्टै निन्द्रा लागेन । लोग्नेको न्यानो अँगालोमा बाँधिएर सुत्ने बानी परिसक्यो उसलाई । अनि एक्लै सुत्दा कहाँ लाग्छ निन्द्रा ! 

अरूबेला जत्ति रिसाए पनि सुत्ने बेलामा माया लाग्दो रहेछ । देउकलालाई पनि लोग्नेको माया लाग्यो । अनि ऊ आफैंलाई पनि लोग्नेको मायाको आवश्यकता महसुस भयो । उसले दुई तीन चोटि टाउको उठाएर लोग्नेतिर हेरी । तर उसको लोग्नेले वास्तै गरेजस्तो लागेन उसलाई । आ.. होस् यसो भन्दै ऊ पनि अर्कोतिर कोल्टे फर्केर सुती ।

होमे पनि निदाएको रहेनछ । उसले पनि यसो टाउको उठाएर स्वास्नीतिर हेर्यो । स्वास्नी अर्कैतिर कोल्टो फर्केर सुतेकीले उसको अनुहार देखेन होमेले । अनुहार देखेको भए स्वास्नी रिसाएको र नरिसाएको थाहा पाउँथ्यो उसले । तर अनुहार नदेखेकोले स्वास्नी रिसाएको र नरिसाएको थाहा पाएन उसले । आ.. होस् भन्दै ऊ पनि फेरि भित्तातिर फर्केर सुत्यो । 

रातभरि दुवैलाई राम्रोसँग निन्द्रा लागेन । होमेलाई स्वास्नी सँगै सुत्न आए नि हुन्थ्यो जस्तो लागिरह्यो । देउकलालाई पनि लोग्नेले सँगै सुत्न बोलाए हुन्थ्यो नि जस्तो लागिरह्यो । तर दुवैले दुवैलाई बोलाएनन् । दुवैको रात छटपटीमै बित्यो । न्यानो न्यानो रात चिसो चिसोमै बित्यो । 

आज होमेलाई काममा जान पन मन लागेन । भात खाएर पिँढीमै बसिरह्यो ।

कुखुराका भाले पोथीका जोडी क्वाक्क्वाक् गर्दै फेरि आँगनमा घुम्न थाले । एकातिरको पखेटा फिँजारेर भाले बेला बेलामा पोथीको वरिपरि घुम्न थाल्यो । पोथीचाहिँ नखरा पार्दै भालेकै नजिक चारा खोज्न थाली । 

होमे टोलाएर बसिरह्यो । ‘कुखुरीको जत्ति पनि सोमत नभा’की आइमाई । लोग्नेका सामु कसरी प्रस्तुत हुनुपर्छ भन्ने पनि नजानेकी ।’ होमे एक्लै फत्फताइरह्यो ।

फेरि पनि त्यो भालेले एकातिरको पखेटा फिँजारेर पोथीको वरिपरि एक फन्का लायो । पोथी थ्याच्च बसी । त्यही बेलामा भालेले फेरि एकचोटि छेकिहाल्यो । 

रिसले टोलाइरहेको होमेलाई खपिनसक्नु भयो । ‘जहिले नि’ मेरै अगाडि आएर छेक्नुपर्छ ?’ भन्दै होमेले भाले पोथी दुवैलाई ताकेर एक हातको दाउराले झटारो हान्यो । यसपटक भाले पोथी दुवै तर्सिएर ठूल्ठूलो स्वरमा क्वाक्क्वाक् गदै आँगनमै घुम्न थाले । उनीहरूलाई के थाहा झटारो हान्ने होमे त्यहीं पिँढीमै छ भन्ने कुरा । रिसले तातेको होमेले भाले पोथी दुवैलाई लखेट्न थाल्यो ।

पिँढीको पल्लो छेउमा बसेर लोग्नेको क्रियाकलाप नियालिरहेकी देउकलालाई हाँसो थामिनसक्नु भयो । ऊ खितिति हाँसी । उसले लोग्ने रिसाएको छ भन्ने पनि बिर्सी । स्वास्नी हाँसेको सुनेर होमेलाई झन् रिसले खपिनसक्नु भयो । ऊ भालेको पछि बेतोडले दौड्यो । तर्सिएर भाग्दै पिँढीमा उक्लिँदै गरेको भालेको एउटा खुट्टा च्याप्प समात्यो होमेले । भाले पखेटा फट्कारेर भ्याट्भ्याट् गर्न थाल्यो । यसो गर्दा भालेका प्वाँखहरू उछिट्टिएर हावामा उड्न थाले । होमेले बल गरेर भालेको दुवै खुट्टा समात्यो । त्यसपछि भालेको दुवै पखेटा अँठ्याएर काखीमा च्याप्यो । 

मुसुमुसु हाँस्दै लोग्नेको हरकत हेरिरहेकी देउकलालाई हेरेर होमेले भन्यो, ‘स्याँगी ले त, म यसको गर्दन छिनाल्छु । निकै आफ्नो बहादुरी देखायो यसले मलाई । आज म यसको टाउको खान्छु ।’ यसो भन्दै गर्दा होमेले आफू स्वास्नीसित रिसाएको छु भन्ने पनि बिस्र्यो । 

देउकलाले पनि आफूसित लोग्ने रिसाएको छ भन्ने कुरा बिर्सेर खुरुक्क भित्रबाट स्याँगी ल्याएर लोग्नेलाई दिई ।

यतिखेर होमेलाई स्वास्नीसित भन्दा आफ्नै अगाडि पटक पटक पोथीलाई छेकेर बहादुरी देखाउने त्यो भालेसित रिस उठेको थियो । दुई दिनदेखि त्यस्तो बहादुरी देखाउन नपाएर भित्रभित्रै गुम्सिएको होमेलाई अब आफ्नै पनि बहादुरी देखाउने जङ चल्यो । 

होमेले स्याँगी हातमा लिएर भालेलाई बेसरी अँठ्यायो र काखीमा च्याप्यो । अनि एक हातले भालेको टाउको दोबारेर अर्को हातले त्यसको घाँटीमा रेट्यो । भालेको घाँटीबाट रगतको सिर्का छुट्यो । त्यो सिर्का आँगनको बीचसम्म पुग्यो । होमेले भालेको छिनेको टाउको हातमा खेलाउँदै जिउचाहिँ पिँढीमै भ्यात्त फालिदियो । बल्ल उसको रिस शान्त भयो । 

भालेले निकै ठूलो चुनौती दिएको थियो होमेलाई । त्यसको ज्यानै लिएर त्यो चुनौती समाप्त गरिदियो होमेले ।

देउकला छक्क परेर हेरिरही लोग्नेको क्रियाकलाप । उसलाई न भाले काटिएकोमा दुःख लाग्यो, न त लोग्नेको रिस मरेकोमा खुसी नै लाग्यो । ऊ प्रतिक्रियाविहीन भएर उभिइरही । पोथी क्वाक्क्वाक् गर्दै भालेलाई खोज्दै आँगनमा घुम्न थाल्यो ।

‘ला, यसलाई भुत्ल्याउँदै गर् । म यसो मसला लिएर आउँछु ।’ यसो भनेर होमे सरासर बजारतिर लाग्यो । गाउँ नजिकको बजार पुग्न पनि झन्डै एक घन्टा लाग्छ ।

भालेको टाउको र जिउ दुइटै एक ठाउँमा राखेर देउकलाले मनमनै भनी, ‘यी लोग्नेमान्छेको रिसले गर्दा व्यर्थमा भालेको ज्यान गयो । अर्काको प्रेम पनि देख्न नसक्ने कस्तो रिस ?’ यस्तो सोचिरहँदा देउकलाको आँखामा पोथीको पछिपछि लाग्दै भालेले उसलाई छेकेको दृश्य झल्झली आइरह्यो । त्यतिखेर उसको मनमा कताकता काउकुती लागेजस्तो भयो । ऊ एक्लै फिस्स हाँसी । लोग्ने छ कि भनेर यसो पिँढीतिर हेरी । तर उसको लोग्ने त मसला किन्न भनेर अघि नै बजारतिर हिँडिसकेको थियो ।

अघिसम्म भालेले पोथीलाई खोज्दै हिँड्थ्यो । अब पोथीले भालेलाई खोज्दै हिँड्न थाल्यो । 

देउकला लोग्नेलाई कुर्न थाली । उसले भालेलाई भुत्ल्याएर काटकुट पनि गरिसकी । 

पोथी भालेलाई खोज्दै छटपटिन थाल्यो । त्यस्तै छटपटी अलिअलि देउकलालाई पनि हुन थाल्यो । ऊ लोग्ने फर्कने बाटोतिर आँखा बिछ्याउन थाली ।

होमे बजारबाट मसला किनेर फर्कंदै थियो । उसले बोकेको झोलामा मसलासँगै दुई बोत्तल बियर पनि थियो । आज भालेको रससँगै आफू पनि बियर खाने र स्वास्नीलाई पनि खुवाउने रहर लागेको छ होमेलाई । भालेको रस र बियर खाएर रमाउने रहर लागेको छ होमेलाई । ‘कत्ति खानु घरकै तीनपाने मात्रै । कहिलेकाहीं स्वाद पनि फेर्नुपर्छ ।’ यस्तै यस्तै सोच्दै हिँड्दै थियो होमे । 

बाटोमा हिँड्दा हिँड्दै उसले स्वास्नीलाई सम्झ्यो । स्वास्नीलाई सम्झेर ऊ रोमाञ्चित हुनुपर्ने थियो । दुई दिन र दुई रात नै भइसक्यो उसले स्वास्नीलाई माया नगरेको । यस्तो बेलामा स्वास्नीलाई माया गर्न आतुर हुनुपर्ने हो होमे । तर उसलाई यस्तो आतुरी यतिखेर चाहिँ भएन । बरु बैराग लाग्यो उसलाई । 

स्वास्नीलाई सम्झेर रोमाञ्चित हुनुपर्ने आवश्यकता नै ठानेन होमेले । बरु सोच्यो– अहिले पनि म नभा’को मौका पारेर त्यही भक्तेसँग इतरिरहेकी होली । यस्तो सोचेर उसलाई एक्कासि रिस उठ्यो स्वास्नीसँग र त्यो भक्तेसँग पनि । ‘म नभा’को मौका पारेर मेरी स्वास्नीलाई भेट्न आउने त्यो भक्तेको म आज गर्दन छिनाउँछु भालेको गर्दन छिनाएजस्तै ।’ 

भक्तेलाई सोचेर हिँड्दा होमेको मुटुको धड्कन बढ्न थाल्यो । थाहै नपाई उसका पाइला पनि छिटो छिटो चल्न थालेछन् । ऊ छिट्टै आफ्नो घरको आँगनमा पुग्यो ।

उसले सोचेको थियो उसकी स्वास्नी र त्यो भक्ते आपसमा इतरिरहेका हुनेछन् । तर घरको आँगनमा पुगेर उसले जुन दृश्य देख्यो, त्यो उसले सोचेजस्तो थिएन । बरु उसले सोच्दै नसोचेको दृश्य देख्यो । उसकी स्वास्नी देउकला घाँटी तन्काई तन्काई उसकै बाटो हेरिरहेकी थिई । उसलाई देख्नेबित्तिकै देउकलाले भनी, ‘कत्ति बेर लगा’को । बाटो हेर्दा हेर्दा आँखै थाकिसके ।’ 

नसोचेको दृश्य देखेर र स्वास्नीको नसोचेको मायालु बोली सुनेर होमेको रिसको पारो सयबाट शून्य डिग्रीमा झर्यो । उसँग बोल्ने कुनै शब्द नै भएनन् ।

उसले हातको झोला खुरुक्क देउकलालाई दियो । देउकलाले उसै गरी खुरुक्क झोला हातमा लिई । झोलामा मसलाको पोकोसँगै दुईटा बियरको बोत्तल पनि देखेर देउकला लोग्नेतिर हेरेर मुसुक्क मुस्कुराई । अब भने होमे पनि नमुस्कुराइ बस्न सकेन । स्वास्नीको मीठो मुस्कान देखेर उसलाई भालेको रस र त्यो बियर नखाँदै मात लागेजस्तो हुन थाल्यो । अनि उसले मुसुक्क मुस्कुराउँदै स्वास्नीलाई पुलुक्क हेर्यो । देउकला मस्किँदै घरभित्र पसी । होमेचाहिँ थकाइ मार्न पिँढीमै थचक्क बस्यो ।

होमेको थकाइ नमर्दै घरभित्रबाट मासुको मीठो बासना आउन थाल्यो । बासना पछ्याउँदै होमे घरभित्र पस्यो ।

देउकलाले प्लेटमा अलिकति चिउरा र कचौराभरि भालेको मासु राखिदिई । अलिकति रस पनि थपिदिई । आफूलाई पनि एउटा प्लेटमा अलिकति चिउरा र कचौरामा मासु हाली । अलिकति रस पनि थपी । यो दिउँसोको खाजा खाने समय हो । 

दुई दिन र दुई रातपछि होमे र देउकला सँगै खान बसे । बस्दा एकले अर्कोलाई छुने गरी बसे । देउकलाको शरीरले छुनेबित्तिकै होमेको शरीरमा करेन्ट दौडन थाल्यो । उस्तै करेन्ट देउकलाको शरीरमा पनि दौडन थाल्यो । दुवै जनालाई आफ्नै शरीर समाल्न पनि गाह्रो हुन थाल्यो ।

भालेको रस र बियर खाएपछि त्यो करेन्ट दुवैको शरीरमा झन् बेगले दौडन थाल्यो । दुवै जनालाई भालेको रस र बियर एकैचोटि लाग्न थाल्यो । 

त्यसपछि होमे र देउकलाले रातिसम्म पर्खने धैर्य गर्न सकेनन् ।

 हालै प्रकाशित कथासङ्ग्रह ‘रित्तो रथ’ बाट ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।