शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला

शनिबार, ०८ असोज २०७९, ११ : ०४
शनिबार, ०८ असोज २०७९

गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गजबले धुलो उडाउँदै गाडीहरू गुडछन्, तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् ।

गाउँमा पुगेका अधिकांश सडक बिना सर्वेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपर्झट अस्पताल पुर्याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ । 

गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौँ स्थानमा पहिराले परिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको निसीखोला गाउँपालिका–१ मा मदन घर्तीमगरले बताए । उनले सडक पहिराले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताए ।

“गाउँमा बाटो छैन भनौं भने छ, तर बर्खामा गाडीनै चल्न सक्दैनन्, हिउँदमा त गाडी निरन्तर चल्छन्, बर्गा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेले निकै दुःख पाए, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ”, स्थानीयवासी घर्तीमगरले भने, “हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलून् ?, दसैँ आउन लाग्यो अझै खुलाउने सुरसार छैन ।”

उनले बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताए । “सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदलयात्रा गर्दा माथिदेखि पहिरो झरेर पुरिने होकि भन्ने डर उस्तै छ, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने ?, बोकेर भए पनि अस्पताल पुर्याउनु पर्यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख,” घर्तीमगरले गुनासो गरे । 

बडिगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढामगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताए । उनले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नुपरेको बताउनुभयो । अब दसैँमा सडक खुलेमात्र गाडी चलाउन सुरु गर्ने चालक बुढामगरको भनाइ थियो ।

“बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठूलो–ठूलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजार तिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो”, उनले भने, “पहिराले गाउँमै अड्कियो, अब दसैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने ?, पोहोर साल त बजारतिर थिए, ठिक ठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नुपर्यो ।”

लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आउनुभएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताए। उनले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलतिर भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताए। विकले अहिले गाउँका सडक पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप