मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुलु मुकारुङको बाटो : इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो...

शनिबार, ०८ असोज २०७९, ११ : ५४
शनिबार, ०८ असोज २०७९

इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो,
कसकी हौ छोरी, पातली मोरी लैजाने आँट हाम्रो ।
(शब्द : गंगाराज मुकारुङ । संगीत : बुलु मुकारुङ । स्वर : बुलु मुकारुङ, कुन्ती मोक्तान ।) 

बुलु र कुन्तीले यो गीत ०३९ सालमा गाएका हुन्, जति बेला बुलु २३ वर्षका थिए । पूर्वेली लोकलयमा बनेको यस गीतले बुलुलाई गायकको रूपमा चिनायो, तर समय क्रमसँगै उनी संगीतकार र संस्कृतिकर्मीका रूपमा स्थापित भए । 

बुलुले १६ वर्ष लगाएर एउटा पुस्तक लेखेका छन्, ‘नेपाली संगीतको अभिलेख’ । ०७१ सालमा प्रकाशित यस पुस्तकमा करिब ६ हजार स्रष्टा, सर्जक तथा सुरकर्मीका विवरण उल्लेख छन् । डा. जगमान गुरुङ उनको पुस्तकको भूमिकामा लेख्छन्, ‘अहिलेसम्म नेपाली संगीतको अभिलेख लेखिएको थिएन । पहिलोपटक तयार भएको यस अभिलेख ग्रन्थले नेपाली संगीतको गुह्य उत्खनन गर्दै लाने र विशेष सन्दर्भमा सूचनाको काम अवश्य गर्नेछ भन्ने मलाई लागेको छ ।’

रेडियो नेपालमा ३८ वर्ष बिताएर ०७६ देखि अवकाश लिएका बुलुको लेखन तथा सम्पादनमा डेढ दर्जन पुस्तक प्रकाशित छन् । अहिलेसम्म दुई दर्जन गीतमा स्वर दिएका बुलुले ६ सय हाराहारी गीतलाई संगीतको आत्मा भरेका छन् । यतिखेर उनको कर्म विशेषतः ‘संगीत पुस्तकालय तथा अभिलेखालय’ स्थापनामा केन्द्रित छ । 

नेपाली संगीत र संस्कृतिको संवर्द्धनमा साधनारत र नेपाली संगीतको अभिलेखनमा अभ्यस्त बुलु स्वयंको जीवन–कथा कस्तो होला ? उनकै जीवन संघर्षको पाटोलाई नियाल्न दुई साताअघि हामी चावहिलस्थित उनको घरमा पुगेका थियौँ । ६३ वर्षीया बुलु आफ्नै कार्यकक्षमा पुस्तक, संगीतका दस्ताबेज तथा क्यासेट लगायत सामग्रीको माझमा थिए । 

आमाले कुखुरा–बाख्रा बेचेर दिएको दुई सय ४५ रुपैयाँ र ६ माना चामल बोकेर बुलुले ०३५ सालमा भोजपुरदेखि काठमाडौंको यात्रा गरेका थिए । यो ४४ वर्षको अन्तरालमा बुलुले के कमाए, के गुमाए ? उनी कहाँ हराए वा कता रमाए ? 

‘तिमीहरूको जीवन यो बत्तीजस्तै बलिरहोस्’

एक दिन, साँझको खाना खान सितारवादक विद्या लामाले बुलुलाई ज्ञानेश्वरस्थित आफ्नो घरमा निम्तो दिइन् । साथीको निम्तोलाई बुलुले सहजै स्विकारे । खाना खाएर फर्कने बेला विद्याकी आमाले भनिन्, ‘यो बत्ती बलेजस्तै तिमीहरूको जिन्दगी बलिरहोस् । 

साँझपख चिम बलिरहेको थियो । उनले त्यही चिम देखाएर भनेकी थिइन् । बुलु छक्क परे । त्यतिबेला माग्न आउनेहरूले विद्यालाई हैरान पारेका रहेछन् । उमेर पुगेकी आत्मनिर्भर छोरीले आलटाल गरिरहेपछि विद्याका बाबुआमालाई लागेछ, कतै छोरीले कसैलाई मनपराएकी त छैन ? उनीहरूले भनेछन्, ‘तैँले कसैलाई मन पराएकी छस् भने हामीलाई भन् । घरमा लिएर आइज, हामी पनि हेर्छौं । होइन भने हामीले भनेको केटासँग बिहे गर् ।’ 

बुलुको मन घुमिरह्यो । विद्याले आफूलाई मनपरेको केटाको रूपमा घरमा देखाउन लगेको बुलुले बुझिहाले । उनी भोलिपल्ट बिहानै विद्याको घरमा पुगे र विद्याकी आमालाई सोधे– ‘हिजो हजुरले यसो–यसो भन्नुभयो, खास कुरा के हो ? विद्या र मबीच त्यस्तो केही कुरा भएकै छैन । हामी साथीका रूपमा मात्रै छौँ ।’ 

विद्याले बिहेको कुरा टार्न बुलुलाई घरमा लिएर गएकी रहिछन् । त्यतिन्जेलसम्म उनीहरूबीच त्यस्तो केही कुरा भएकै थिएन । बुलुले प्रज्ञा प्रतिष्ठानबाट एकवर्षे संगीतको तालिम लिँदा विद्या त्यहाँ सितारवादकका रूपमा जागिरे थिइन् । त्यहीँ बुलु र विद्याबीच सामान्य परिचय भएको थियो । पछि बुलु रेडियो नेपालमा जागिरे भए । विद्या कहिलेकाहीँ रेडियोको रेकर्डिङमा सितार बजाउन पुग्थिन् । रत्न रेकर्डिङले पनि उनलाई सितार बजाउन बोलाइरहन्थ्यो । सितार बजाएबापत विद्याले पाएको ५० रुपैयाँको चेक साट्न राष्ट्र बैंक पुग्नुपथ्र्यो । त्यतिबेला बुलुले विद्यालाई साथ दिन्थे । उनीहरू रेडियो नेपालबाट हिँड्दै राष्ट्र बैंक पुग्थे ।

भएको यही थियो, एकैपटक विद्याकी आमाबाट अनौठो कुरा सुनेपछि बुलु सोचमा परे, आमाको अगाडि भने उनी अक्क न बक्क भएका थिए । खाना खाएपछि उनलाई बाटोसम्म छाड्न विद्या आइन् । बुलुले सोधे– विद्याजी ! तपाईंको आमाले के भनेको त्यस्तो ?

उनले भनिन्, ‘डन्ट माइन्ड, केही होइन । उहाँले त्यत्तिकै भन्नुभएको हो ।’

बुलुको मन घुमिरह्यो । विद्याले आफूलाई मनपरेको केटाको रूपमा घरमा देखाउन लगेको बुलुले बुझिहाले । उनी भोलिपल्ट बिहानै विद्याको घरमा पुगे र विद्याकी आमालाई सोधे– ‘हिजो हजुरले यसो–यसो भन्नुभयो, खास कुरा के हो ? विद्या र मबीच त्यस्तो केही कुरा भएकै छैन । हामी साथीका रूपमा मात्रै छौँ ।’ 

छोरीले खाना खान बोलाएपछि विद्याकी आमाले ठानिछन्– छोरीले मन पराएको केटा यही हो । बुलु गएर सत्य बताएपछि माहोल सकारात्मक बन्यो । त्यस बिहानको खाना बुलुले विद्याकै घरमा खाए । विद्याकै अगाडि बुलुले भने, ‘तपाईंहरूले विद्या र मेरो बिहे होस् भनेर चाहेको हो भने अब कुरा अघि बढ्छ ।’

बुलुलाई विद्या मन नपरेको होइन, तर कुरा गर्ने मौका मिलेको थिएन । विद्या र विद्याकी आमाले बाटो दिएपछि बुलु अगाडि बढे । 

त्यसपछि बुलुले आफ्ना लाहुरेदाइलाई चिठी लेखे, दाइबाट सकारात्मक जवाफ मात्रै आएन, अलिकति सुन र हङकङको सारी पनि आयो । गाउँदेखि बुलुकी आमा आइन्, बुलु र विद्याले बिहे गरे । बुलुलाई ससुरालीले दाइजोका रूपमा चावहिलमा घडेरी दिएका थिए । दुवैको कमाइले बिहेको ६ वर्षमै (०४६ मा) उनीहरूले घर बनाए, यही घरमा छोराछोरी हुर्के । उनीहरूका छोरा मञ्जिल मुकारुङ नेपाल प्रहरीमा छन् । अहिले यही घरमा बुलु दम्पतीले अवकाश जीवन बिताइरहेको छ । विद्याकी आमाले भनेजस्तै यो जोडीको सम्बन्ध बत्तीजस्तै बलिरहेकै छ ।

जीवनको यो घुम्तीसम्म आइपुग्दा बुलुको संगीतका अधिकांश गीतमा विद्याले सितार बजाएकी छन् । गीतमा मात्रै होइन, बुलुको जीवनको लयमै विद्याको सितारको धुन मिसिएको छ । 

गितार र डाँडैको स्कुल

बुलुको जन्म भोजपुरको तत्कालीन अन्नपूर्ण गाउँपञ्चायत, बुलुम्पा भन्ने ठाउँमा भएको हो । बुलुम्पामा जन्मिएकाले बुवाले उनको नाम बुलुहाङ राई राखिदिए । बुलुका बाजेले १८ वटी श्रीमती ल्याएका थिए, त्यसमध्ये नौवटीबाट सन्तान भए, जसमध्ये बुलुका बुवा सहरमान सबैभन्दा जेठा थिए । सहरमानले केही वर्ष भारतीय सेनामा बिताए । राणाशासनको उत्पीडनका कारण पहाडका जनजाति ठिटाहरू सुन र नुन किन्न लाहुरे हुनु एक समयको नियति र संंस्कृतिजस्तै थियो । घरको जेठो छोरो भएकाले घर हेर्न भनी सहरमान जागिर छाडेर फर्के र कृषिमा लागे । २०२० सालमा उनको निधन भयो ।

चार भाइमध्ये बुलु कान्छा हुन् । उनका जेठा दाइ ब्रिटिस सेनामा भर्ती भए, माइलादाइ गाउँघरमै झारफुक विद्यामा लागे भने साइँलादाइ धरान बसेर पढ्थे, अञ्चलस्तरीय भलिबल खेलाडी पनि थिए उनी । 

बुलुले नौ वर्षको उमेरदेखि स्कुल पढ्न सुरु गरेका हुन्, गाउँकै अन्नपूर्ण प्राइमरी स्कुलबाट । उनले पढ्न सुरु गर्दा स्कुलको भवन बनिसकेको थिएन । डाँडामा खुला आकाशमुनि पढाइ हुन्थ्यो । बस्नका लागि विद्यार्थीले घरदेखि पिर्का बोकेर जान्थे । 

बुलुहरूले गाउँघरमा नाचगान गरी चन्दा उठाएर स्कुलको जग बसाएका हुन् । दशैँ–तिहार लागेपछि स्कुलमा शिक्षकले नाच्नेलाई नाच्न र गाउनेलाई गाउन सिकाउँथे । केही गीत र नाच तयार भएपछि शिक्षक र विद्यार्थीहरू घरघर गई नाचगान गरेर चन्दा उठाउँथे । स्कुल पढ्दैदेखि बुलुले गितार र हार्मोनियम बजाउने अवसर पाएका हुन् । सानैदेखि आफैँ बाँसुरी बनाएर बजाउने बुलुमा केही सुरको ज्ञान जन्मजात प्रतिभाकै रूपमा थियो । उनका साइँलादाइले धरानबाट घरमा गितार लगेका थिए । बुलुले त्यही गितार बजाउन सिक्दै गए । 

बुलुको पढाइ, संगीतको अनौपचारिक ज्ञान र विद्यालयको भवन सँगसँगै अगाडि बढेका हुन् । उनीहरूले नाचगान गरी चन्दा उठाएको पैसाबाट चित्राले छाएर विद्यालय भवन बनाए, डेस्कबेन्च तयार गरे । यता स्कुल तयार हुँदै गयो, उता बुलु कक्षा चढ्दै गए र ०३४ सालमा उनी एसएलसी पास भए । 

एसएलसीपछि उनले भोजपुर वा धरानमै पढ्न सक्थे । तर, जीवनमा केही गर्ने उनीभित्रको उत्प्रेरणाले उनलाई काठमाडौंसम्म डोर्‍यायो ।  

गाउँले अभावको जीवन बुझेर आएका बुलुलाई चार महिनाको सुख र मोजमस्तीले झस्कायो– केटा ! तैँले यस्तो जीवन जिउने होइन, तँ त बिग्रिइस् । 

‘दाइ, म काठमाडौंमा बिग्रिएँ, मलाई पैसा नपठाउनू’ 

काठमाडौंको लाजिम्पाटमा बुलुकी फुपूको घर थियो, उनका फुपाजू बकरबहादुर बान्तवा राजा महेन्द्रको पालामा अञ्चलाधीश थिए । काठमाडौं आएर बुलु सुरुको तीन महिना फुपूकै घरमा बसे । लाजिम्पाटमा स्थानीय क्लब थियो, साँझपख बुलु त्यहाँ पुग्थे र गितार बजाउँथे । गीत–संगीतमा रुचि भएका उनको संगत पनि उस्तै थियो । फूपुको घरमा अलि बन्देजजस्तो महसुस गरेपछि उनी एक्लै बस्न थाले ।

भाइले काठमाडौंमा बसेर पढ्दै छ, बुलुका लाहुरेदाइका लागि यो खुसीको खबर थियो । उनले पल्टनबाट भाइका लागि मासिक चार सय ५२ रुपैयाँ पठाउन थाले । जुन रकम त्यो बेला अधिकृतको तलबभन्दा बढी थियो । हरेक महिना मानभवनस्थित ब्रिटिस क्याम्पमा उनका लागि पैसा आउँथ्यो, बुलुलाई कुनै कुराको दुःख थिएन । उनी साथीभाइसँग घुमफिर गर्थे, पैसा उडाउँथे, जीवन मोजमस्तीको थियो । 

गाउँले अभावको जीवन बुझेर आएका बुलुलाई चार महिनाको सुख र मोजमस्तीले झस्कायो– केटा ! तैँले यस्तो जीवन जिउने होइन, तँ त बिग्रिइस् । 

उनले हङकङमा रहेका दाइलाई चिठी लेखे– दाजू ! म तपाईंले पठाएको पैसाले बिग्रिएँ, पढिनँ । मलाई अबदेखि पैसा नपठाउनू । आफूलाई चाहिने पैसा म आफैँ कमाउनेछु । ‘मलाई त छिटो बुद्धि आएको हो,’ बुलु भन्छन्, ‘दाइले पैसा पठाइदिइरहेको भए म खतमै भएर जान्थेँ ।’

दाइलाई चिठी पठाएको दुई महिनासम्म उनलाई पैसा आइरह्यो । किनभने उनको चिठी पुग्नै दुई महिना लागेछ, त्यसपछि उनलाई दाइले पैसा पठाउन छाडे । चिठी पाएपछि उनका दाइलाई लागेछ– अहो, मेरो भाइलाई छिटै ज्ञान आएछ, पढ्न गएको भाइले पैसा नपठा भन्छ त ।

काठमाडौं आएर उनले आर्टस् पढ्नका लागि विभिन्न कलेजमा इन्ट्रान्स दिएका थिए, तर त्रि–चन्द्रमा फिजिक्सका लागि उनको नाम निस्कियो । म्याथमा अलि बढी नम्बर ल्याएको आधारमा फिजिक्समा नाम निस्केको रहेछ । नेपाली माध्यमबाट पढेका बुलुले दुई महिनासम्म पढाएकै बुझेनन्, उनको पढाइ अगाडि बढेन । 

पढाइ अगाडि नबढे पनि क्याम्पसमा हुने सांस्कृतिक कार्यक्रममा उनी अगाडि थिए । क्याम्पस प्रवेश गर्नेहरूलाई विद्यार्थी संगठनले स्वागत कार्यक्रम गर्थे, बुलुले कांग्रेस–कम्युनिस्ट दुवैको कार्यक्रममा गाउने–बजाउने गरे । मानिससँग जस्तो प्रतिभा छ, त्यही देखिने हो । बुलुको गाउने–बजाउने सीपबारे क्याम्पसमा चर्चा चलिसकेको थियो । 

त्यहीबीचमा पञ्चायतवरोधी आन्दोलन सुरु भयो । ०३५ को चैतमा पाकिस्तानमा जुल्फिकार अली भुट्टोलाई फासी दिइयो । त्यसको विरोधमा पनि काठमाडौंमा आन्दोलन भए । साथी–संगतका कारण बुलु आन्दोलनमा सरिक हुन पुगे । अन्ततः उनी अखिल पाँचौँमा लागेर एक महिना जेल पनि परे । साथीहरूले उनलाई माओको किताब पढ भनेर दिन्थे । कहिले कहाँ ढुंगा हान्न जाने भन्थे, कहिले कहाँको आन्दोलनमा बोलाउँथे । भक्तपुरमा नेपाल बन्द गर्न जाँदा उनी पक्राउ परे । ६ महिनाको राजकाज मुद्दामा उनीहरू ६२ जनालाई थुनिएको थियो । जसमा विरोध खतिवडा, टंक कार्की लगायत थिए । 

संंगीतको लयमा बुलु

०३६ सालमा प्रज्ञा प्रतिष्ठानले संगीत लगायत पाँचवटा कला विद्यामा एकवर्षे तालिम दिने भयो । त्यसमा बुलुले २० जनामा नाम निकाले । उनकै ब्याज हुन्– रंगकर्मी सुनील पोखरेल, लोकगायक लोकबहादुर क्षत्री, सितारवादक प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी, कलाकार शैलेन्द्र सिम्खडा आदि । 

एकवर्षे संगीत तालिम लिँदा बुलुका गुरु थिए, अम्बर गुरुङ । त्यही तालिमको सर्टिफिकेट उनी रेडियो नेपाल छिर्ने हतियार बन्यो । ‘त्यो तालिमपछि संगीतप्रतिको मेरो बुझाइ र सीपमा विस्तार भयो,’ बुलु भन्छन्, ‘वाद्य, गायन, सुरताल आदि बुझ्ने र सिक्ने अवसर पाएँ । विश्व संगीत के हो, नेपाली संंगीत के हो भन्ने कन्सेप्ट ममा आयो ।’ बुलुले तालिमसँगै तीन सय रुपैयाँ भत्ता पनि पाउँथे, एकवर्षे तालिम लिँदासम्म उनलाई पैसाको दुःख भएन । 

बुलुसँगै तालिम लिएका लोकबहादुर क्षेत्री रेडियोमा जागिरे भएका थिए । बुलुले रेडियो नेपाल छिर्ने ढोका देखिरहेका थिएनन् । एक दिन साथी लोकबहादुरले उनलाई सुझाए– गणेश रसिकलाई भन्न लगाउन यार । सहरमा गणेश रसिकको नाम बनिसकेको थियो ।

गाउँदेखि गाउँद–बजाउँदै आएका बुलुमा रेडियो नेपाल गएर गीत गाउने रहर हुर्कंदो थियो । काठमाडौं आएकै साल उनले रेडियो नेपालमा स्वर परीक्षा दिए, उनको नाम वैकल्पिकमा निस्कियो । त्यसपछि पुनः एक हप्तापछि स्वर परीक्षा दिन पाए । त्यतिबेला उनले गाउँमा आफ्ना माइलादाइबाट सुनेको शब्द र भाका टिपेर गाएका थिए– 

रामसाइँलो सुरुगुरु लाँकुरीको लंकै पुग्यो जरा,

रामसाइँलो आमा छैन बाउ छैन कसले भन्छ बरा । 

यो गीतबाट बुलुले स्वरपरीक्षा पास मात्रै गरेनन्, रेडियो नेपालमा गायक हुने ढोका खोले, गाउँमा गायक बनेर पनि चिनिए । पछि ०३८ सालमा उनी र लोकबहादुर क्षत्रीले यो गीत रेकर्ड गरे, यो गीत रेडियो नेपालमा खुबै बज्यो । 

बुलुसँगै तालिम लिएका लोकबहादुर क्षेत्री रेडियोमा जागिरे भएका थिए । बुलुले रेडियो नेपाल छिर्ने ढोका देखिरहेका थिएनन् । एक दिन साथी लोकबहादुरले उनलाई सुझाए– गणेश रसिकलाई भन्न लगाउन यार । सहरमा गणेश रसिकको नाम बनिसकेको थियो । एक दिन बुलुले रसिकलाई भेटेर भने– दाजू ! मलाई संगीतमा धेरै रुचि छ, एकवर्षे तालिम पनि लिएको छु । रेडियो नेपालमा छिराउनुपर्‍यो ।

रसिकले उनलाई हिरण्य भोजपुरेसँग भेट गराए । भोजपुरे त्यतिबेला रेडियो नेपालमा शाखा–अधिकृत थिए । भोजपुरेले बुलुलाई अर्को दिन रेडियो नेपाल आउन भने । भोजपुरेले रेडियोमा कार्यरत संगीतकार नातिकाजीलाई भने– नातिदाइ ! यो भाइ वाद्यवादनमा काम लाग्छ कि ! हजुरले उसको वाद्यवादन हेर्नुपर्‍यो । 

नातिकाजी नाम र संगीत साधनामा वरिष्ठ भए पनि पदमा सुब्बा थिए । भोजपुरेले भनेपछि उनले बुलुलाई सोधे– के के बजाउँछौँ भाइ ?

बुलुले भने– बाँसुरीदेखि गितार, हार्मोनियम, भ्वायोलिन बजाउँछु । 

कहाँ सिकेको ?

गाउँदेखि नै बजाउँथेँ । एकेडेमीमा एकवर्षे तालिम पनि लिएको छु । 

नातिकाजीले उनलाई कन्सर्ट फ्लुट बजाउन लगाए । एकवर्षे तालिम लिँदाका बखत बुलुले श्याम परियारबाट कन्सर्ट फ्लुट सिकेका थिए । उनले ‘घरबारीमा तोरी फुल्यो मन बारीमा गीत’ भन्ने धुन बजाएर सुनाए । यो गीत फत्तेमानले गाएका हुन् भने यसमा संगीत नातिकाजीकै हो । यो कुरा बुलुलाई थाहा थिएन । बुलुले बजाएको नातिकाजीले ध्यानपूर्वक सुनेका थिए तर केही भनेनन् । 

टेस्ट दिएर सकेपछि बुलु घरतिर निस्कन लागेका थिए । उता हिरण्य भोजपुरे र नातिकाजीबीच कुरा हुँदै थियो । भोजपुरेले बोलाएर भने– भोलि सर्टिफिकेट लिएर आउनू । यसरी बुलुले ०३८ सालबाट रेडियो नेपालमा अस्थायी जागिर सुरु गरे । उनलाई मुखिया पदका लागि तीनमहिने अस्थायी नियुक्ति दिइएको थियो– तलब थियो– दुई सय ८५ रुपैयाँ । 

जीवनमा बुलुलाई पुरस्कारको पनि कमी रहेन । ‘नातिकाजी संगीत पुरस्कार’, ‘छिन्नलता पुरस्कार’, ‘नारायणगोपाल पुरस्कार’, ‘बबरसिंह थापा स्मृति पुरस्कार’, ‘रानूदेवी पुरस्कार’, रेडियो नेपालको ‘आधुनिक संगीत पुरस्कार (२०४१, २०४७ र २०५०) लगायतबाट उनी पुरस्कृत भइसकेका छन् । 

जागिरे जीवन सुरु गरेपछि उनले प्राइभेट रूपमा परीक्षा दिन थाले । टियुबाट संस्कृतिमा र प्रयाग संगीत समिति इलाहाबादबाट संगीतमा उनले स्नातकोत्तर गरेका छन् । त्यतिबेला रेडियो नेपालमा अस्थायी सेवा अवधि १० वर्ष पुगेपछि स्थायी बनाउने प्रावधान थियो । ०३८ सालमा बुलु स्थायी भए । मुखिया, खरदार, सुब्बा, अधिकृत हुँदै उनी सातौँ तहसम्म पुगे । 

पहिले रेडियो नेपालमा लाइभ रेकर्डिङ हुन्थ्यो । रेडियोमा उनले नातिकाजी, शिवशंकर, तारादेवी, कोइलीदेवी, पुष्प नेपाली, पन्नाकाजी आदिको संगत पाए ।

एक जमाना बुलुका संंगीतका गीत रेडियो नेपालबाट खुबै बज्थे, अझै पनि बज्छन् । उनको संगीतमा भक्तराज आचार्य, तारादेवी, फत्तेमान, प्रेमध्वज प्रधान, मीरा राणा, ज्ञानु राणा, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, कुन्ती मोक्तान, योगेश वैद्य, रामकृष्ण ढकाल, राजेशपायल राई, उदय सोताङ, मनिला सोताङ, लाक्पा शेर्पा, लासिमित राई, लोचन भट्टराई, यम बराल, सुक्मित गुरुङ लगायत स्थापित गायकगायिकादेखि थुप्रै नयाँ पुस्ताका गायकगायिकाले गाएका छन् । 

बुलुको संगीतका थुप्रै गीत लोकप्रिय छन् । ‘माया तिमीलाई केही भन्न मन लाग्छ, नभनुँ त मनमनै प्यास लाग्छ’ (शब्द : बुद्धवीर लामा । स्वर : भक्तराज आचार्य र कुन्ती मोक्तान), ‘मिर्मिरेमा तिमीलाई हेर्न मन लाग्छ’ (शब्द : नरेन्द्रराज प्रसाई, स्वर : सुकमित गुरुङ), ‘जुनीभरिलाई पीर सँगालेर अब टाढा टाढा हुँदैछु’ (शब्द : भीमविराग अधिकारी, स्वर : सुरेन्द्र मुखिया)– बुलुको संगीतका यी र यस्ता गीत सुनेर हुर्केको एउटा पुस्ता नै छ । 

जीवनमा बुलुलाई पुरस्कारको पनि कमी रहेन । ‘नातिकाजी संगीत पुरस्कार’, ‘छिन्नलता पुरस्कार’, ‘नारायणगोपाल पुरस्कार’, ‘बबरसिंह थापा स्मृति पुरस्कार’, ‘रानूदेवी पुरस्कार’, रेडियो नेपालको ‘आधुनिक संगीत पुरस्कार (२०४१, २०४७ र २०५०) लगायतबाट उनी पुरस्कृत भइसकेका छन् । 

संगीत अभिलेखालय

हरिप्रसाद सोडारीको सम्पादनमा ०७६ सालमा प्रकाशित पृथ्वीनारायणसम्बन्धी एउटा पुस्तक छ, ‘अनेकौंका दृष्टिमा राष्ट्रनिर्माता’ । यस पुस्तकको तयारीका क्रममा सोडारी संस्कृतिविद् डा. जगमान गुरुङलाई भेट्न पुगेका थिए । गुरुङले सोडारीलाई भने– पृथ्वीनारायणसम्बन्धी कर्खा बुलु मुकारुङसँग संग्रहित छ, उनलाई भेट्नू । यसरी उक्त पुस्तकमा बुलुको आलेख छापियो, ‘पृथ्वीनारायण शाहको ऐतिहासिक कर्खा’ शीर्षकमा । अर्थात्, पुराना चिजको संकलन र संग्रह गर्ने बुलुको बानी र रुचि छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा बुलुले पाँच रोपनी जग्गा किनेर ‘संगीत पुस्तकालय तथा अभिलेखालय’ खोलेका छन् । अहिले यो अभिलेखालय दर्ताको प्रक्रियामा छ । उति पर गाउँमा संगीत पुस्तकालय ? उनी भन्छन्, ‘जहाँ अँध्यारो छ, त्यहीँ बत्ती बाल्नुपर्छ । संगीतको अध्ययनमा रुचि भएकाहरू त्यहाँ जान्छन्, केही दिन बस्छन्, अध्ययन गर्छन् । नेपालमा अहिलेसम्म संगीतको कुनै लाइब्रेरी छैन । पुराना भाका र लयलाई रेकर्ड गरी डिजिटलाइज्ड गरेर राख्ने मेरो योजना छ ।’

पछिका पुस्ताका लागि सोचेर आफूले यो पुस्तकालयको स्थापना गरेको बुलु बताउँछन् । बुलुले अहिलेसम्म डोल्पाबाहेक देशका सबै जिल्ला घुमिसकेका छन् । उनले ०६२ सालमा गोरखाको घ्याम्पेसालका लालबहादुर गन्दर्भलाई भेटेर भ्वाइस रेकर्डरमा पृथ्वीनारायणको कर्खा रेकर्ड गरेका रहेछन् । यस्ता थुप्रै भ्वाइस रेकर्ड उनीसँग सुरक्षित छ, यसलाई र अरु थप सामग्री रेकर्ड गरेर आफ्नो लाइब्रेरीमा संग्रहित गर्ने उनको योजना छ । संगीत पुस्तकालय मात्रै होइन, उनले त्यहाँ बगैँचा, ध्यान केन्द्र पनि स्थापना गर्दै छन् । 

अहिले उनको पुस्तकालयमा संगीतसम्बन्धी आठ–नौ दराजजति पुस्तक छन् । पुस्तकालय सञ्चालनमा एकजना कर्मचारी पनि राखेका छन् । ‘कोभिडले गर्दा पुस्तकालयको काम धेरै ढिला भयो,’ उदयपुरस्थित पुस्तकालयमै रहेका बुलुले बुधबार टेलिफोनमा भने, ‘तैपनि किताबहरूको फोटो खिचेर पठाउँछु है ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप