बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा मतदाताको मुड नाप्दै महतो

शनिबार, ०८ असोज २०७९, २२ : ५८
शनिबार, ०८ असोज २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो मतदाताको मुड मापनका लागि सर्लाही पुगेका छन् । सर्लाही उनको गृह जिल्ला हो । यसअघि धनुषा–३ बाट चुनाव जितेका उनलाई यसपटक सर्लाहीबाट चुनाव लड्न प्रस्ताव गरिएको छ । सर्लाहीबाट उनको नाम केन्द्रमा सिफारिस पनि भइसकेको छ । जिल्लाको वास्तविक माहौल के हो भनेर बुझ्नका लागि उनी असोज ६ गतेदेखि सर्लाहीमा छन् । 

सर्लाही क्षेत्र नम्बर २, ३ र ४ बाट उनको नाम केन्द्रमा सिफारिस भएको छ । त्यसमा क्षेत्र नम्बर २ र ३ बाट उनको एकल नाम सिफारिस भएको छ । उता, धनुषा–३ बाट पनि उनको एकल नाम नै सिफारिस भएको छ । चुनावको मिति घोषणा हुनुभन्दा पहिलादेखि नै सर्लाहीका नेता तथा कार्यकर्ताहरू पटक पटक नेता महतो कहाँ डेलिगेसन लिएर गएका थिए । यसपटक सर्लाहीबाट चुनाव लड्न उनीहरुले आग्रह गरेका थिए । 

उम्मेदवार चयन गर्ने प्रक्रिया पार्टीमा सुरु भएसँगै सर्लाहीको क्षेत्र अनुगमन तथा त्यहाँका मतदाताको मुड मापनका लागि सर्लाही पुगेका हुन् । उनका प्रेस सहयोगी किशोर गुरुले भने, ‘महतोजीलाई पहिलादेखि नै यहाँ (सर्लाही) का नेता तथा कार्यकर्ताहरू सर्लाहीबाट चुनाव लड्न आग्रह गर्दै आइरहनुभएको थियो । त्यसै बारेमा उहाँले जनतासँग विचार विमर्श गर्न यहाँ आउनुभएको छ ।’

तर यसपटक पनि महतोले जनकपुरबाट नै चुनाव लड्ने तय भएको बताउँदै गुरुले त्यहाँ तयारी पनि भइरहेको जानकारी दिए । हरेक हिसाबले महतोका लागि धनुषा क्षेत्र सहज भएको उनको भनाई थियो । धनुषा–३ मा महतोलाई सबैभन्दा ठुलो डर काँग्रेसका नेता विमलेन्द्र निधिको थियो । निधि प्रत्यक्ष चुनाव नलड्ने भएपछि महतोलाई हाइसन्चो छ । यता एमालेसँग पनि चुनावी तालमेलका लागि वार्ता गर्न उनकै संयोजकत्वमा वार्ता समिति गठन भएको छ । गठबन्धन भए भने धनुषा–३ लोसपाले नै पाउने प्रबल सम्भावना छ । गठबन्धन नभए त्यहाँबाट एमाले नेतृ जुली महतो चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ । 

सर्लाहीमा आफ्ना कार्यकर्ताहरूसँग कुरा गर्दै नेता महतोले नागरिकता विधेयकको मामलामा काँग्रेस, माओवादी र एमाले उस्तै उस्तै रहेको धारणा राखेका छन् । कार्यकर्तासँग कुरा गर्दै उनले भने, ‘एमालेले नागरिकता विधेयक ल्याउँदा नेपाली काँग्रेस र माओवादी केन्द्रले अदालतमा मुद्दा हालेर त्यसलाई रोकेका थिए । अहिले काँग्रेस र माओवादी केन्द्रले नागरिकता विधेयक ल्याउँदा ल्याउँदा एमालेले रोकेको छ । यो यी तीनवटै दलको मिलेमतो हो । जनताले दुख मात्र पाइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप