शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगको जरिवाना : चुनाव जितेकाहरू तिर्न तयार, हारेकाहरू आक्रोशित

केशव स्थापित भन्छन्–चुनाव हारेको चिन्ताले विवरण बुझाउनै छुटेछ
शनिबार, ०८ असोज २०७९, १५ : ०६
शनिबार, ०८ असोज २०७९

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नम्बर ४ का चन्द्रमान खोयाहाङ लिम्बुले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए । निर्वाचनमा भाग लिएपछि चुनाव खर्च विवरण नबुझाएका कारण उनी १ लाख ५० हजार रुपैयाँ जरिवानामा परेका छन् । उनले आयोगलाई निर्वाचन खर्च बुझाउनुपर्छ भन्ने कुरा नै थाहा नभएको बताए । पछि पनि आयोगले स्पष्टीकरण सोधेको कुरा पनि उनले थाहा पाएनन् । तर अहिले जरिवानामा परेको थाहा पाएपछि उनी चकित भए । उनले भने–‘म त सामान्य किसान हुँ, मसँग त आयोगले तोकेको जरिवाना तिर्नका लागि पैसा पनि छैन । आयोगले किन यसो गरेछ, हामीलाई फसाउन खोजेको हो कि जस्तो छ ।’

गत स्थानीय तह चुनावमा काठमाडौँको शंखरापुर नगरपालिकामा प्रमुख पदको उम्मेदवार रहेका कृष्णलाल बजगाईँ पराजित भए । देशभरका १ लाख २३ हजार उम्मेदवार जस्तै उनी पनि जरिवानामा परेका छन् । उनको भागमा ४ लाख ५० हजार जरिवाना परेको छ ।

रातोपाटीसँग कुरा गर्दै उनले भने–‘मैले त समयमा बुझाएको थिएँ तर मेरो नाम पनि जरिवानामा सूचीमा निकालिएछ । पछि पनि मैले विवरण पठाएको थिएँ । उनीहरू हामीले बुझाएको विवरण राख्न सचेत भएनन् । त्यसरी जरिवाना गर्ने काम नै अन्यायपूर्ण भयो । त्यो रकम म तिर्न सक्दिन यो त अन्यायपूर्ण काम भयो । आयोगको त्यो निर्णयप्रति खेद प्रकट गर्न चाहन्छु । विवरण बुझाउँदा बुझाउँदै पनि त्यसरी नाम निकाल्नु उनीहरूको लापरबाही हो । जरिवाना गर्ने उनीहरूको नीति नै हुनुपर्छ नत्र मैले विवरण बुझाउँदा पनि कसरी त्यस्तो हुन्छ ?’ आयोगले राजनीतिमा अघि बढ्न निषेध गर्ने तरिकाले जरिवानाको नीति ल्याएको हुनसक्ने बताए । 

यता काठमाडौँ महानगरपालिकाका प्रमुखका पराजित उम्मेदवार केशव स्थापित खर्च विवरण नबुझाएका कारण ७ लाख ५० हजार रुपैयाँ जरिवानामा परेका छन् । उनले पहिले पहिलेको चुनावमा पनि आयोगले खर्च विवरण माग्ने तर यसरी जरिवाना तोक्ने नगरेको बताए । रातोपाटीसँग कुरा गर्दै स्थापितले चुनाव हारेको चिन्ताका कारण आयोगलाई निर्वाचन खर्च बुझाउन नसकेको बताउँदै १ लाख बढी उम्मेदवार जरिवानामा परेकाले राजनीतिक छलफलबाट यसको हल खोजिनुपर्ने बताए । स्थापितले यसबारे पार्टीमा छलफल गर्ने तयारी गरेको बताए । उनले भने–‘जरिवाना तिर्ने कुरा मेरो मात्र व्यक्तिगत विषय हैन, १ लाख भन्दा धेरै जरिवानामा परेका छन्, यसबारेमा पार्टीमा छलफल गर्दैछु ।’

आयोगको आँकडा अनुसार स्थानीय तहका १ लाख ४५ हजार उम्मेदवार मध्ये १४ प्रतिशतले मात्र चुनाव खर्च बुझाएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । 

जित्नेहरू भन्छन् : कानुन पालना गर्न तयार छौँ 

यता स्थानीय तह निर्वाचनमा विजेता बनेकाहरूले भने आयोगले कानुन अनुसार निर्णय गरेकोले निर्णय पालना गर्ने बताएका छन् ।  

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी नगरका अन्य जनप्रतिनिधिसँग छलफल गरेर जरिवाना तिर्न पर्ने भए तिर्ने बताउँछन् । उनले भने–‘हामी छलफल गर्दैछौ, बैठकमा यो बारे कुरा उठाउँछौ । भदौमा विवरण बुझाउन अलिकति ढिला भयो । सम्पत्ति विवरण बुझाउनुपर्छ भन्ने त थाहा थियो तर यो केश के हो मलाई  थाहा थिएन । हामी यसबारे छलफल गर्छौ, भदौ ३० गतेभित्र बुझाएको स्पष्टीकरण चित्त बुझ्दो भएन भन्ने सुनेको छु । अब के हुन्छ साथीहरूसँग छलफल गर्दछु । कानुनबमोजिम तिर्नुपर्ने भएमा म तिर्छु ।’

यता दक्षिणकाली नगरप्रमुख मोहन बस्नेत आयोगले जरिवाना गर्छु भनेपछि कानुन मान्दिनँ भन्न पनि नसक्ने बताए । 

रातोपाटीसँग कुरा गर्दै उनले भने–‘नेपालको कानुन मान्दिनँ भनेर म भन्दिनँ तर निर्वाचन आयोगमा हामीले विवरण बुझाउन केही दिन ढिलो हुँदैमा उहाँहरूले यसो नगरेको भए हुन्थ्यो । हामीले चुनाव खर्च, सम्पत्ति विवरण त सबै बुझाइसकेको हो । म कानुन मान्दिन भन्ने कुरा रहेन । कानुन अनुसार हुने कुरालाई त स्विकार्नुपर्छ । अब यसो त्यसो भन्ने कुरा रहेन ।’

उनले निर्वाचन आयोगले कानुन अनुसार जरिवानाको निर्णय गरे पनि यो विषय एउटा सोचनीय परिस्थिति त बनेको बताउँदै तिर्न नसक्नेहरूका लागि आयोगले यसबारेमा बिचार गर्नुपर्ने बताए । 

उनले भने–‘महिला दलित लगायतका उम्मेदवारलाई अलि बिचार पुर्‍याएर जरिवाना गर्नुपर्ने कुरा हो । कानुन अनुसार हुने कुरामा कानुनमा सबैलाई न्याय हुनेगरी निर्वाचन आयोगले केही कुरा गर्ला । 

यस्तै चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले यसरी जरिवाना गर्ने कुरामा  आयोगले अगाडि नै सचेत नगराएकोमा गुनासो गरे । 

नेपाल सरकारको कानुन बमोजिम तिर्न बाध्य भयो तर अब कस्तो देखिन्छ भने यो त देश भरीको समस्या भयो नि । पहिलो पटक जरिवाना गराउन खोजिएको हुनाले एकपटक पुन: दरखास्त दिन लगाएर सचेत गराएर छोडिदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे । 

उनले भने–‘हामीलाई यसरी जरिवाना हुन्छ भन्ने बारेमा पूर्ण जानकारी थिएन । पहिले पनि साथीहरू निर्वाचनमा सहभागी हुन्थे, खर्च विवरण पुर्‍याइदिन भन्थे, हामी पुर्‍याइदिन्थ्यौँ, कहिले छिटो हुन्थ्यो, कहिले ढिला हुन्थ्यो । त्यसमा केही फरक पर्दैनथ्यो । तर यो पटक पनि हामीले पठाएका थियौँ, कागज आयोगमा हराएछ, त्यो त हाम्रो जिम्मेवारी हैन नि । फेरी पछि बुझाउँदा म्याद सकिएछ । स्पष्टीकरणका लागि पछि चिठ्ठी आएपछि कार्यव्यस्तता नभ्याएको भनी लेखि पठाएको थिए तर आयोगले स्पष्टीकरण सन्तोषजनक नभएको भनी जरिवानाको लिस्ट निकालेछ ।’

आयोग जरिवानाबाट पछि नहट्ने 

यता निर्वाचन आयोगले पनि आफूले गरेको जरिवानाको निर्णयबाट पछि नहट्ने बताएको छ । ६ महिना समयभित्र जरिवाना नतिर्ने जनप्रतिनिधिको फागुन मसान्तपछि पद धरापमा पर्ने र चुनावमा पराजित भएका उम्मेदवारहरूले जरिवाना नतिरे कालोसूचीमा राखेर अर्को चुनावमा भाग लिन नपाउने आयोगको भनाई छ । 

रातोपाटीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग जरिवाना लिने कामबाट पछि नहट्ने बताए । उनले विद्यमान ऐन कानुन अनुसार नै खचै विवरण नबुझाउने तथा समयमा नबुझाउनेलाई कारबाही स्वरूप जरिवाना गरिएको बताए । 

उनले भने–‘फागुनसम्म जरिमाना लिएर उनीहरूको नाम जरिमाना सूचीबाट हटाइदिन्छौँ । जरिवाना नतिर्नेलाई कानुनमा व्यवस्था भए अनुसार के गर्नुपर्ने हो गर्छौँ । आयोगले यसमा केही गर्न सक्ने अवस्था छैन, अप्रिय भए पनि यो निर्णय भइसकेको छ । यसमा आयोगले पुनर्विचार गर्ने ठाउँ नै छैन ।’

आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई चुनाव खर्चको विवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई गत साउन ३१ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । गत भदौ १ गते एक साताको समय दिएर स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण चित्त नबुझेपछि आयोगले १ लाख २३ हजार उम्मेदवारको सूची सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप