शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माटोको मूर्ति बनाएर जीविकोपार्जन गर्दै राजेन्द्र राम

शनिबार, ०८ असोज २०७९, १५ : ०९
शनिबार, ०८ असोज २०७९

सिरहाको सखुवाननकारकट्टी गाउँपालिका–५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थालेका हुन् । हाल उनी ६८ वर्षको भए । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिए । उनले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गरेका छन् ।

सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई धौ धौ थियो । पछिल्लो समय भने यसबाट राम्रै आम्दानी गर्न सफल भएको उनी बताउँछन् । “जीवन गुजाराको माध्यम यसैलाई बनाएको छु”, रामले भने । रामलीला तथा भजन कीर्तन मण्डलीसमेत सञ्चालन गर्दै आएका उनलाई उक्त क्षेत्रमा नचिन्ने कमै छन् । रामलीला सञ्चालन गर्न उनी सिरहा, सप्तरी, धनुषा तथा भारतको विहारसम्म पुग्छन् ।

आधुनिक जीवनशैलीमा रमाउन थालेपछि माटोको मूर्ति बनाउनेको सङ्ख्या घट्दै गएको छ । तर रामलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ । “युवापुस्ता माटाको मूर्ति बनाउन इच्छुक देखिदैन”, उनले भने । हिन्दू परम्परा तथा मिथिलाञ्चलमा मनाइने प्रायःजसो चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । चाडपर्वमा माटोबाट निर्मित रङगिविरङ्गी मूर्ति प्रयोग गरिएको छ । विशेषगरी कृष्णाअष्टमी, विश्वकर्मा पूजा, दसैँ, तिहार, छठ, सरस्वती पूजा, जितिया पर्व, गणेश, अनन्तचतुर्दशी, नागपूजा, महायज्ञलगायतमा मूर्ति खपत हुन्छ । 

देविदेवताका मूर्ति बनाउन राम बढी सक्रिय रहन्छन् । उनले बुवा मधुलालबाट सो सीप सिकेका हुन् । “बुवाकै सङ्गतबाट सबै कुरा सिके”, उनले भने, “पहिला मूर्तिको पारिश्रमिक न्यून पाइन्थ्यो, अहिले राम्रै आम्दानी हुन्छ ।” बुवाबाट आफु हुँदै उनले छोरालाई पनि मूर्ति बनाउने सीप बाँडेका छन् । हाल उनका ३५ वर्षीय छोरा शिवराम पनि मूर्ति बनाउनमै सक्रिय ह । उनले पनि बुवा राजेन्द्रबाट सीप सिकिरहेका छन् ।

सबै जसोलाई कोरोना महामारीले प्रभावित पारेपनि राजेन्द्रलाई भने यसबाट खासै असर परेन । मूर्ति बनाउन उनलाई कोरोना कहरले पनि छेकेन । “कोरोना सङ्क्रमणका बेला पनि खासै समस्या भएन”, उनले भने, “बनाएका मूर्ति सबै बिक्री भए, छ जनाको परिवारको खर्च यसैबाट चलेको छ ।” 

अहिले राजेन्द्र अरुबेला भन्दा बढी व्यस्त रहेका छन् । बिहानदेखि रातिसम्म वडादसैँका पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त देखिन्छन् । “वर्षमा दुई याम कामको निकै चाप हुन्छ । अहिले नौ ठाउँबाट  मूर्ति बनाउन माग भएको छ”, उनले भने ।

यसबापत राजेन्द्रले रु आठ लाख ३० हजार पारिश्रमिक लिएका छन् । सबै खर्च कटाएर रु पाँच लाख जति नाफा हुने उनको भनाइ छ । राजेन्द्रले ६ जनालाई रोजगारसमेत दिएका छन् । उनी भन्छन्, “यही पेशाबाट गुजारा चलाएको छु, केही रकम जोहो पनि गरेको छु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप