बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारले संघीयतालाई झन् कमजोर बनायो : अध्यक्ष भट्टराई

शनिबार, ०८ असोज २०७९, १५ : ५७
शनिबार, ०८ असोज २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाएका हुन् । 

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार (आज) काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको दोस्रो संविधान सभाबाट जुन सरकार बन्यो, जुन नेतृत्व बन्यो, तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीजी, र उहाँको टिमले यो उपलब्धिहरूको रक्षा गर्नुको साटो, सबलीकरण गर्नुको साटो धमिराले झैँ भित्रभित्रै ती संस्थाहरूलाई कमजोर पार्ने, जुन प्रयत्न गर्नुभयो, त्यो प्रक्रिया अहिले पनि रोकिएको छैन । अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसङ्गतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अङ्गहरू, राज्यका सबै अङ्गहरू बेथितिपूर्ण ढङ्गले अत्यन्त अराजक ढङ्गले जसरी चलिरहेका छन्, त्यसले हामीले यत्रो सिङ्गो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ । त्यसै विरुद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौँ । हामी अत्यन्त गम्भीर अवस्थामा छौँ ।’

अध्यक्ष भट्टराईले सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेको बताए । उनले बजारमा बनेको सामाजिक सञ्जालरूपी विषालु मादक पदार्थले मानिसको चेतना र विचार नै विभ्रमित पार्ने काम गरिरहेको जिकिर गरे ।फरक प्रसंगमा डा.भट्टराईले नेपालमा भूराजनीतिक सङ्कट निम्तिएको बताए । उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए ।

अध्यक्ष भट्टराईले भने, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकि पुराना शक्तिहरूले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक सङ्कट चीन अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढङ्गले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठुलो सङ्कट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरूलाई बलियो बनाउने गरेर हामी अघि बढौँ । केही समय यता नेपालमा राजनीतिको गम्भीर ढङ्गले स्खलन भएकै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप