नेपाली श्रमिकका समस्या समाधान गर्छु : राजदूत पौडेल
मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् ।
मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रम स्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ ।
मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए । मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् ।
नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उनले बताए ।
नेपाल–मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले मलेसियाका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उनी मलेसिया प्रस्थान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण