शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनाअघि नै लामखुट्टे नियन्त्रण अभियान नचलाउँदा यो अवस्था आयो

शनिबार, ०८ असोज २०७९, १९ : १०
शनिबार, ०८ असोज २०७९

वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले डेंगु प्रकोपबारे सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । नेताहरूले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेंगुले धेरैको ज्यान गइसकेको बताए ।  

आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. दीक्षितले नेताहरूले विगतमा ओमिक्रोनको बारेमा पनि एक शब्द नबोलेको स्मरण गराउँदै डेंगु भयङ्कर फैलिरहेको भए पनि नेता र पार्टी कहीँ कतै नबोलेको टिप्पणी गरे । 

उनले भने, ‘यहि क्लबबाट विगतमा कोरोनाले महामारीको रूप लिन्छ है भन्दा हामीहरूमाथि जताततैबाट अट्याक गरिएको थियो । डेंगुले यति गर्दा पनि सरकारले गम्भीरता देखाएको देखिएन ।’ लामखुट्टे मार्ने धुवाँ समेतको प्रयोग नगरिएको भन्दै सरकारको आलोचना गरे । 

डेंगु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै दीक्षितले स्वास्थ्य मन्त्रालय मातहतका निकायहरूको पनि भएको बताए । मन्त्रालयको नियन्त्रणमा रहेर प्रत्येक वडा, वडाध्यक्ष, सदस्यले गम्भीरताका साथ खटिनुपर्ने बताए । 

डेंगु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएको बताएका छन् । आफूले प्रत्येक दिन चेकजाँच गर्ने १० बिरामीमध्ये २/३ जना डेंगु सङ्क्रमित हुने उल्लेख गरे ।  

कोरोना भाइरससँग लड्ने क्षमता, प्रतिरोध गर्ने क्षमता बढेकोले कोरोना मत्थर भएको  सुनाउँदै उनले डेंगु एक पटक सङ्क्रमित भएर दोस्रो पटक फेरि भएमा त्यसको रूप झन् चर्को हुने बताए । उनले अरू रोग एक पटक लागेपछि रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकोले मत्थर बनाउन सकिने तर यसमा भए दोस्रो पटक सङ्क्रमण भएमा कडा रुप लिने जानकारी दिए । 

डा. दीक्षितले डेंगु सङ्क्रमित गराउने लामखुट्टे मलेरिया गराउने जस्तो नभएको हुनाले बाहिर बस्दा लामो लुगा लगाउन सबैलाई आग्रह गरे । एउटा लामखुट्टेले ४/५ जनालाई टोकेर सङ्क्रमित गराउने र मलेरियामा जस्तो टोकेपछि चिलाउने यसमा लक्षण नदेखिने उनले स्पष्ट पारे ।  

डेंगु सङ्क्रमित लामखुट्टेले टोकेमा  ५ वा ६ दिनपछि ज्वरो आउने त्यसको ५/६ दिनमा प्राय ज्वरो हराउने र ज्वरो ७ दिन भन्दा बढी आएमा खतराको संकेत हुने उनले थप जानकारी दिए ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु नियन्त्रणमा निराशा देखिएको बताए । स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने टिप्पणी गरे । एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर–घरमा डेंगु पुगेको महसुस गर्न थालेको उनले बताए ।  

डा. पुनले भने,“अस्पतालमा डेंगुबाट बिरामी हरेक दिन नढलेको दिनै छैन,मेरो रुम इमर्जेन्सी नजिकै छ, कोभिडको दोस्रो महामारीमा कोभिडका बिरामी जसरी ढल्ने गर्थे त्यही सम्झना आइरहन्छ । जुन साह्रै पीडादायी थियो । लाइनमै बस्न नसकेर मानिसहरू ढल्ने गरेका छन् ।”

डा.पुनले आफूले एक दिनमा ७०/८० जनासम्म डेंगुका बिरामी जाँच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीहरूले वरिपरि लामखुट्टे धपाएर बस्ने कि कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए ।

नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्ताउला भन्न नसकिने उनको भनाइ थियो । उनले डेंगुको प्रकोप आम मानिसको लुकेको पीडा भएको बताए ।  

सरुवा रोग विशेषज्ञ डा.गरिबदास ठाकुरले डेंगु रोग चार प्रकारको हुने बताए ।  यसबाट सङ्क्रमित हुन एउटा लामखुट्टे एक व्यक्तिको आवश्यकता पर्ने उनले बताए । डेंगु एउटा मानिसबाट अर्को मानिसमा नसर्ने उल्लेख गर्दै लामखुट्टेको टोकाइबाट मात्र सङ्क्रमित हुने स्पष्ट पारे । सबै लामखुट्टेले टोक्दैमा सङ्क्रमित नहुने जानकारी दिँदै डा. ठाकुरले एडिस जातको पोथी लामखुट्टेले टोकेमा मात्र महामारी फैलिने बताए । डेंगु महामारी सेप्टेम्बरमा सुरु भएर नोभेम्बरमा सम्म हुने र वर्षातको सिजनमा धेरै समस्या उत्पन्न गराउने बताए । 

डा. ठाकुरले २००४ मा आफ्नो नेतृत्वमा नेपाल डेंगु प्रभावित राष्ट्रको रूपमा विश्व स्वास्थ्य संगठनमा राख्न सफल भएको पनि बताए । हरेक ३ देखि ४ वर्षमा यसको प्रकोप देखा पर्ने भन्दै उनले प्रत्येक वर्ष सचेत हुनुपर्ने बताए । उनले भने,‘अझै तीन देखि चार वर्षसम्म बेस्सरी सचेत हुनुपर्छ । यसको लागि बजेटको व्यवस्थापन, एक्सपर्टहरूलाई डेंगुको नियन्त्रण गर्ने तालिमको व्यवस्थापन र नियन्त्रणबारे सरकारले विशेष ध्यान दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप