बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन युद्धका लागि रिजर्भ फोर्स परिचालनको निर्णयपछि रुस छाड्नेको लर्को

शनिबार, ०८ असोज २०७९, २० : १६
शनिबार, ०८ असोज २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधबार (२१ सेप्टेम्बर २०२२) आंशिक सैन्य परिचालनको घोषणा गरेर करिब तीन लाख मानिसहरूलाई युद्धमा बोलाउन सक्ने बताए । घोषणापछि कयौँ रुसीहरू देश छोडिरहेको देखिएको छ ।

नागरिक परिचालनको निर्णयसँगै आम मानिसमा आक्रोश र भय बढेको छ । बुधबार यता रुससँग सिमाना जोडिएका मुलुकका विभिन्न नाकामा देश छाड्न लागेका युवाहरूको लामो लाइन बनेको छ । 

पुटिनको निर्णयको विरोधकाबीच रुसी रक्षा मन्त्रालयले हाल परिचालित हुनेमा आईटी क्षेत्रमा काम गर्नेहरू, बैंकर र सरकारी मिडियाकर्मी नपर्ने बताएका छन् । यसका लागि सरकारले ती कम्पनीहरूबाट कर्मचारीको सूची बुझाउन आग्रह गरेको छ । 

२६ वर्षका पीएचडी विद्यार्थी सर्गेई (नाम परिवर्तन) एक प्रसिद्ध रुसी विश्वविद्यालयका अध्यापक पनि हुन् । उनलाई सादा लुगा लगाएका दुई व्यक्तिले सैन्य परिचालनमा सहभागिताको लागि कागजातमा हस्ताक्षर गराउँदै बिहीबार ड्राफ्ट सेन्टरमा पुग्न भने ।

सम्बोधनमा राष्ट्रपति पुटिनले परिचालित हुने तीन लाखमा यसअघि सेनामा रहिसकेका र विशेष सीप तथा युद्धको अनुभव भएका व्यक्तिहरूलाई मात्र बोलाइने बताएका थिए ।

तर सर्गेईमा त्यस्तो कुनै अनुभव छैन । सरकारको यो आदेश नमान्नु अपराध मानिने भएकाले सगेई र उनको परिवार चिन्तित बनेको छ । 

तर, रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले देश छोड्न चाहने नागरिकको तथ्यलाई भएभन्दा बढि बढाइचढाइ गरिएको प्रतिक्रिया दिएको छ ।

तर जर्जियासँगको रुसी सीमामा सवारीसाधनको कयौँ किलोमिटर लामो लाइन देखिएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । कतिपय लामो ट्राफिकका कारण सीमा कट्न समय लाग्ने भएर साइकल चढेर सीमासम्म पुगेको देखिएको थियो । 

सीमामा उभिरहेका एक व्यक्तिले बीबीसी संवाददाता नीना एकेमेटलीलाई आफ्नो नाम नछाप्ने सर्तमा स्थानीय समय अनुसार बिहीबार बिहान ९ बजेदेखि पर्खेर साँझ अबेरसम्म सीमा पार गर्न सफल भएको बताए ।

अर्का एक व्यक्तिले १२ घण्टाको पर्खाइपछि सीमा पार गर्न सफल भएको प्रतिक्रिया दिए । 

टर्कीका सञ्चारमाध्यमका अनुसार रुसबाट एकतर्फी टिकट बिक्रीमा अचानक वृद्धि भएको थियो । जर्मनीका आन्तरिक मामिला मन्त्री न्यान्सी फेसरले बिहीबार रुसको वर्तमान अवस्थाबाट भागेकाहरूले जर्मनीमा शरण पाउन सक्ने संकेत दिएकी छन् । 

तर, लिथुआनिया, लाटभिया, इस्टोनिया र चेक रिपब्लिकले रुसबाट आउनेहरूलाई शरण दिन अस्वीकार गरेका छन् । 

रुसी सरकारको घोषणापछि मस्को र सेन्ट पिटर्सबर्गमा मंगलबार विरोध प्रदर्शन भएको थियो । यस क्रममा कम्तीमा १३ सय जनालाई पक्राउ गरिएको छ ।

युक्रेन युद्ध अघि रुस र युक्रेनको सेनाको स्थिति

युक्रेनको कुल सेना सङ्ख्या –१०,९६,६००

  सक्रिय सैनिक सङ्ख्या–१,९६,६००

  रिजर्भ फोर्स –९,००,०००

रुसको कुल सेनाको सङ्ख्या –२९,००,००० 

   सक्रिय सैनिक सङ्ख्या –९,००,०००

   रिजर्भ फोर्स –२० लाख 

(रिजर्भ फोर्सका सैनिकहरूमा पछिल्लो पाँच वर्षको अवधिमा सेनामा सेवा गरेकाहरू समावेश हुन्छन्।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप