बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेरुसेलममा दूतावास सार्न सक्ने ट्रसको भनाई, किन विवादित छ सहर ?

शनिबार, ०८ असोज २०७९, २१ : २५
शनिबार, ०८ असोज २०७९

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले इजरायलस्थित ब्रिटिस दूतावासलाई हालको सहर तेल अभिभबाट विवादित जेरुसेलममा सार्नेबारे विचार गरिरहेको बताएकी छन् । 

यसअघि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको देशको इजरायलस्थित दूतावास जेरुसेलम सार्ने निर्णय गरेका थिए । उनको सो निर्णयको धेरैले विरोध गरेका थिए ।

संयुक्त राष्ट्र संघको महासभाको लागि न्युयोर्कमा हुँदा बुधबार इजरायली प्रधानमन्त्री यएर ल्यापिडसँग भेटमा ट्रसले दूतावास स्थानान्तरबारे विचार गरिरहेको बताएकी थिइन् । 

किन विवादित मानिन्छ जेरुसेलम ?

इजरायलले ४२ वर्षअघि नै जेरुसेलमलाई आफ्नो राजधानी घोषणा गरे पनि दशकौँदेखि अधिकांश मुलुकले त्यस विवादित भूमिमा दूतावास सार्न अनिच्छा देखाएका छन् । सन् १९४७ मा अरबीको बसोबास रहेको प्यालेष्टाइनमा यहुदीहरूका लागि देश दिँदा संयुक्त राष्ट्र संघले जेरुसेलमलाई अन्तर्राष्ट्रिय सहरका रूपमा प्रस्ताव गरेको थियो । 

तर त्यसको एक वर्षपछि इजरायल राष्ट्रको स्थापना र लगतै इजरायल–अरब युद्धमा विजेता बनेको सो मुलुकले सहरको पश्चिम भाग कब्जामा लियो । सन् १९६७ को ६ दिने इजरायल–अरब युद्धमा इजरायलले जोर्डनको नियन्त्रणमा रहेको पूर्व हिस्सा पनि लिएर सम्पूर्ण जेरुसेलममाथि कब्जा जमायो । 

सन् १९८० जुलाईमा इजरायलको संसद्ले एकीकृत जेरुसेलमलाई इजरायलको राजधानी घोषित गर्‍यो । यस निर्णयलाई धेरैले मान्यता दिएका छैनन् । ​जेरुसेलममाथि अरबी प्यालेस्टाइनीहरुको पनि दाबी रहेकाले यस सहरको हैसियत इजरायल–प्यालेस्टाइन विवादको सबैभन्दा जटिल विषय मानिन्छ । प्यालेस्टाइनी नेताहरू पूर्वी जेरुसेलमलाई तिनको भावी राष्ट्रको राजधानीको रूपमा हेर्छन् । 

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेतृत्व प्रतिस्पर्धामा रहँदा नै ट्रसले ‘कन्जरभेटिभ फ्रेन्ड्स अफ इजरायल’लाई चिठ्ठी लेख्दै आफूले दूतावास सार्नेबारे सोचिरहेको बताएकी थिइन् । 

यसअघि सन् २०१७ मा ट्रम्पले तेल अभिभमा रहको अमेरिकी दूतावासलाई जेरुसेलम सार्ने घोषणा गरे । एक वर्षपछि त्यो काम सम्पन्न भएको थियो । सो कदमको प्यालेष्टाइन र अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका थिए । 

सन् १९८० मा इजरायलले सम्पूर्ण जेरुसेलमलाई देशको राजधानी तोके पनि ट्रम्पअघिको हरेक अमेरिकी राष्ट्रपतिले त्यसलाई मान्यता दिन अस्वीकार गर्दै आएका थिए । अमेरिकाले दूतावास सार्नुअघि इजरायलमा राज दूतावास रहेका सबै ८६ मुलुकको सो कार्यालय तेल अभिभमै थियो । 

अमेरिकी कदमपछि कोसोभो, होण्डुस र ग्वाटेमालाले तिनको राजदूतावास जेरुसेलम सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप