बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा मतदाता थपिए, मतदान केन्द्र घट्यो

आइतबार, ०९ असोज २०७९, ०६ : ४९
आइतबार, ०९ असोज २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो । सोही अवधिमा उक्त मतदाता थपिएका हुन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६ महिला र एक हजार चार सय ६८ पुरुष मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिए ।

यससँगै जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख आठ हजार तीन सय ६९ पुगेको छ । स्थानीय तह निर्वाचनमा कुल मतदाताको सङ्ख्या दुई लाख छ हजार तीन सय ३६ थियो । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएको उनले बताए । 

कार्यालय प्रमुख झाका अनुसार गत असार १ देखि साउन १९ सम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा बाहिरी जिल्लाबाट आएका र स्थायी बासिन्दा गरी चार हजार दुई सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको थियो ।

मतदान केन्द्र घट्यो 
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कायम रहेका मतदान केन्द्र घटेको छ । मतदानस्थल भने बढेको निर्वाचन कार्यालय प्रमुख झाले बताए ।

“प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर चारवटा मतदान केन्द्र र सातवटा मतदानस्थल थप्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको थियो । निर्वाचन आयोगले यसअघि कायम रहेका दुई सय ६८ मतदान केन्द्रमा एउटा घटाएर दुई सय ६७ वटा र एक सय ४४ मतदानस्थलमा सातवटा थपेर एक सय ५१ कायम गरी पठाएको छ”, उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप