शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी अस्पताल भवन निर्माणमा लापरबाही : निर्माण कम्पनी फेरि भाग्ने आशङ्का

आइतबार, ०९ असोज २०७९, ०७ : १५
आइतबार, ०९ असोज २०७९

दुई महिनादेखि बेपत्ता कोशी अस्पताल भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी धरौटी जफत हुने भएपछि काममा फर्किएको छ । विराटनगरको कोशी अस्पताल प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी अस्पताल हो । उक्त अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अनुसार ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लागेको थियो । 
तर, २०७८ असोजदेखि ठेक्का पाएर काम सुरु भएको १ वर्षसम्म लक्ष्य अनुसार काम भएको थिएन ।

काम सम्पन्न नहुँदै तीन महिनादेखि निर्माण कम्पनी वेपत्ता जस्तै बनेको थियो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो ।

उक्त टेण्डरमा रमन, भूमि, बिआईपीएल जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा ठेक्का हात पारेको थियो । सो कम्पनीसँग ठेक्का पाएपछि २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाइसँग सम्झौता भएको हो भने २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । 

उक्त भवन निर्माणको लक्ष्य अनुसार हालसम्म ४० प्रतिशत काम सम्पन्न गरिसक्नु पर्ने हो । तर, हालसम्म २० देखि २५ प्रतिशत मात्रै काम भएको भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले जनाएको छ । विगत ३ महिनादेखि वेपत्ता भएको कम्पनीले काम भने सुरु गरेको कार्यालयका प्रमुख गणेशबहादुर महर्जनले बताए । ‘पाँच दिनदेखि काम भइरहेको छ,’ उनले भने । 

निर्माण कम्पनीले काम रोकेपछि २६ साउनमा सहरी विकास तथा भवन निर्माण विभागको कार्यान्वयन इकाइले सम्झौता गरेको अवधिमा काम सक्ने गरी काम गर्न निर्देशनसहितको पत्र काटेको थियो ।

‘निर्माण कार्यको सहरी विकास मन्त्री मेटमणि चौधरी तथा शहरी विकास तथा भवन निर्माण विभागका उच्च पदाधिकारीहरूबाट अनुगमन हुँदा निर्माण कार्य अन्त्यन्त सुस्त गतिमा भइरहेको र कार्य तिब्रता बढाइ सम्झौता अवधिभित्र सम्पूर्ण कार्यहरु सम्पन्न  गर्न गराउन निर्देशन समेत भएकोले सोही अनुसार तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्नेगरि संसोधित कार्यतालिका समेत यस कार्यालयमा पेश गर्न हुन जानकारी गराइन्छ,’ रमन, भुमी÷ बि.आई. पि.एल. जे.भीलाई काटेको पत्रमा उल्लेख छ । 

९ भदौमा उक्त जेभीलाई पत्र काटेको १५ दिन पनि पूरा भएको हो । तर, पत्र बुझेको निर्माण प्रक्रियाको काम भने ढिलो गरी अगाडि बढाएको कोशी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए । समयमै काम सम्पन्न हुनेमा आशङ्का रहेको उनको भनाइ छ ।

‘यसको काम गराइ हेर्दा समयमै सकिएला जस्तो छैन,’ बुढाथोकीले भने, ‘दुई दिन काम गर्ने, पाँच दिन काम गर्ने, दुई महिना, तीन महिना हराउने भइरहेको छ, यस्तो तरिकाले कसरी काम सम्पन्न होला र ।’

निर्माण कम्पनीको लापरबाहीको कारण कोशी अस्पताल अस्तव्यस्त बनेको पनि उनले बताए । ‘अस्पताल परिसर हेर्नु न कति अस्तव्यस्त छ, यो काम छिटो सकिए अस्पताल सञ्चालनमा धेरै सहजता हुने थियो,’ उनी भन्छन् । 

कम्पनीले समयमै काम सम्पन्न नगरे वा बीचैमा छोडेको खण्डमा कानुन अनुसार ठेकेदार कम्पनीले राखेको बैंक ग्यारेन्टी तान्नेदेखि विभिन्न कारवाहीको प्रक्रिया अगाडि बढ्न सक्ने प्रावधान छ ।

निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ७ करोड ५ लाख ७ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले २०८० पुस २२ गतेसम्म निर्माण सम्पन्न गरी पाँच तलाको सुविधा सम्पन्न भवन हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ  । 

टेन्डर आव्हान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेभीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरू बताउँछन् । निर्माणाधीन नयाँ भवन ४ कट्ठा २ धुर जमिनमा फैलिएको छ ।

भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ, दोस्रो तलामा एचडियूसहितको डाइलोसिसलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ ।

तेस्रो तला  ५० शैय्याको हुनेछ । चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला पनि ५० शैय्याको नै हुनेछ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु-याउने कोशी अस्पतालको लक्ष्य छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप