बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा औद्योगिक क्षेत्रका उद्योग थलिँदै

स्वदेशी उद्योग र तिनका उत्पादनलाई सरकारले प्रोत्साहन गर्न नसकेको उद्योगीको गुनासो
आइतबार, ०९ असोज २०७९, १० : ३४
आइतबार, ०९ असोज २०७९

हेटौंडा औद्योगिक क्षेत्र देशकै सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हो । कोभिड–१९ महामारीका कारण देशका अन्य क्षेत्रमा रहेका उद्योगहरुजस्तै हेटौंडा औद्योगिक क्षेत्रका उद्योग पनि नराम्ररी थलिए । कोभिड महामारी विस्तारै कम हुँदै गर्दा कतिपय उद्योग अहिले सरकारी नीति, ऐन–कानुनका कारण थप संकट झेल्न बाध्य भएका छन् ।

लगातार ३ वर्षसम्म कोभिड–१९ का कारण उत्पादन नै ठप्प पारेर बसेका उद्योगहरु अहिले ऐन–कानुन, आर्थिक तथा मौद्रिक नीति समयानुकुल हुन नसक्दा थप संकट झेल्नुपरेको उद्योगीहरुको भनाइ छ । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलका अनुसार हेटौंडासहित जिल्लाभर सञ्चालनमा रहेका विभिन्न प्रकारका उद्योगले संकट झेलिरहेका छन् । कोराना महामारीको समयमा थलिएको उद्योग क्षेत्र अझै तङ्ग्रिन नसकेको उनले बताए ।

‘हामीले विगतको द्वन्द्वकालीन अवस्थाको सामना ग¥यौं, भूकम्प, नाकाबन्दी र राजनीतिक परिवर्तनले सिर्जना गरेको जटिल परिस्थितिबाट पनि हामी गुज्रिनु प¥यो,’ उनले रातोपाटीसँग भने, ‘पछिल्लो समय कोभिड महामारीको असरका कारण २ वर्षभन्दा बढी त उद्योगधन्दा ठप्प पार्नुपर्ने अवस्था बन्यो । अहिले बजारमा देखिएको आर्थिक संकटले उद्योग क्षेत्रमा थप समस्या परेको छ ।’

समस्याका बिचमा पनि चलेका केही उद्योगका उत्पादनले पनि सरकारी नीतिकै कारण बजार पाउने अवस्था नरहेको उनले बताए । विदेशी सामग्री आयातलाई राज्यको नीतिले प्राथमिकता दिएका कारण स्थानीय उद्योगको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ ।

वित्तीय संस्थाहरुले पनि उत्पादनमा भन्दा आयातजन्य काममा लगानी बढाउँदा तरलता अभाव सिर्जना भएको उनले बताए । बैंकहरुको बढ्दो व्याजदरले पनि कतिपय उद्योग संकटग्रस्त अवस्थामा पुगेको उल्लेख गर्दै उनले भने, ‘हेटौंडा औद्योगिक क्षेत्रमा रहेका ठुला तथा बहुराष्ट्रिय कम्पनीहरुको समस्या भनेको बजार खुम्चिनु हो भने मझौला तथा साना स्वरोजगारमूलक उद्योगहरुको समस्या भनेको बजारसँगै बाह्य उत्पादनसँगको प्रतिस्पर्धा गर्नु हो ।’

उद्योगहरुलाई आवश्यक कच्चा पदार्थको लागत बढ्दा उद्योगीहरुलाई प्रत्यक्ष रुपमा असर परेको पनि उनले बताए ।

यस्ता छन् उद्योगका समस्याहरु

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कतिपय उद्योग बन्द अवस्थामा छन् भने केही बन्द हुने सँघारमा पुगेका छन् । उनका अनुसार केही उद्योग कच्चा पदार्थको अभावमा समस्यामा परेका छन् । विभिन्न मुलुकले त्यस्ता कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध गर्नु, नेपाल सरकारले आयात कर बढाउनु र नेपालको भन्सार राजस्वमा वृद्धि हुँदा ती उद्योगमा कच्चा पदार्थको अभाव देखिएको उनले बताए ।

बजेटमा भएका केही प्रावधानले पनि उद्योगमा समस्या परेको उनको भनाइ छ । सरकारले केही उत्पादन आयातमा भन्सार तथा कर छुट दिँदा स्वदेशी उद्योगमा समस्या उत्पन्न भएको उनले बताए ।

‘तारजाली उद्योगहरु, रडमा भएको करको दर बढ्दा समस्यामा परेका छन् । उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा सरकारले कर बढाउँदा उद्योगहरु सञ्चालन हुने अवस्थामा छैनन्,’ उनले भने, ‘सरकारले बजेट मार्फत् ल्याएका केही प्रावधानका कारण उद्योगहरु थप समस्यामा परेका छन् । सरकारले सेनेटरी प्याड आयातमा कर छुट दिँदा स्वदेशी उद्योगका उत्पादनहरु विक्री हुने अवस्थामा छैन । ती उद्योगहरु धरासायी बन्न पुगेका छन् ।’

प्याकुरेलका अनुसार हेटौंडामा रहेको उड सिजिनिङ्ग उद्योगले काठको पोल उत्पादन गरेर विद्युत प्राधिकरणलाई बेच्थ्यो । सरकारले काठको पोल प्रयोग नगर्ने नीति अवलम्बन गरेपछि त्यो उद्योग बन्द अवस्थामा रहेको उनले बताए ।

त्यस्तै हेटौंडाको बालाजी मेटल उद्योग पनि सरकारको नीति परिवर्तनका कारण बन्द हुन पुगेको उनले बताए । हेटौंडामै सेनेटरी प्याड उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको अवस्थामा सरकारकै नीतिका कारण रोकिएको उनको भनाइ छ ।

उद्योग सञ्चालनका लागि सरकारले आफ्ना नीतिहरुलाई स्थायित्व प्रदान गर्नु सक्नुपर्ने भए पनि त्यसमा चुक्दा कतिपय उद्योग डुब्ने अवस्था बनेको उनले बताए । त्यस्तै, नेपालका उद्योगहरुले ‘साफ्टा’को समेत सदुपयोग गर्न नसकेको उनको भनाइ छ । सरकारले साफ्टा अन्तर्गत रहेर सार्क राष्ट्रहरुबाट आयात हुने सामग्रीको नेपालमा उत्पादनको अवस्थाबारे जानकारी राख्न नसक्दा समस्या भइरहेको उनले बताए ।

९० उद्योग उत्पादन कटौती गरेर सञ्चालित

हेटौंडा औद्योगिक क्षेत्रका कुल १३६ वटा उद्योगमध्ये ९० उद्योगमात्र पूर्ण रुपमा सञ्चालनमा छन् । १२ वटा उद्योग आंशिक रुपमा सञ्चालनमा छन् भने अन्य ३४ वटा उद्योग पूर्णरुपमा बन्द छन् ।

आंशिक रुपमा सञ्चालनमा रहेका उद्योगहरुले माग आएमात्र उत्पादन गरेर सामान बजार पठाउने गरेका छन् । अन्यथा ती उद्योग बन्द अवस्थामा छन् ।

पूर्णरुपमा सञ्चालनमा रहेका ९० वटा उद्योगले पनि उत्पादन क्षमता घटाएका छन् । तीन सिफ्ट सञ्चालन हुने उद्योगहरु २ सिफ्टमा चलिरहेका छन् भने उत्पादन क्षमतामा पनि भारी कटौती गरेका छन् । उत्पादित सामग्रीले बजार पाउन छोडेपछि उद्योगहरुले उत्पादन क्षमतामा आधाभन्दा बढी दरले कटौती गरेका हुन् । हाल हेटौंडा औद्योगिक क्षेत्रका कुनै पनि उद्योग कोभिड अगाडिको उत्पादन गर्ने क्षमतामा फर्कन सकेका छैनन् ।

उद्योगको अवस्थाबारे औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बेखबर

हेटौंडा औद्योगिक क्षेत्रमा १४८ वटा उद्योग तथा प्रतिष्ठानहरुले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । २ हजार ८२९ रोपनी क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा १३६ वटा उद्योग र १३ वटा विभिन्न सरकारी प्रतिष्ठान छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका अनुसार हेटौंडा औद्योगिक क्षेत्रको १३६ वटामध्ये १२१ वटा उद्योग सञ्चालन तथा निर्माणको चरणमा छन् । १५ वटा उद्योग बन्द तथा निर्माण नै हुन नसकेको अवस्थामा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी दीपक आचार्यले जानकारी दिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले दिएको तथ्याङ्कमा पछिल्लो समयमा बन्द भएका उद्योगको संख्या भने समावेश छैन । कार्यालयको तथ्याङ्कमा पूर्णरुपमा बन्द भएर जग्गा भाडा तथा अन्य सुविधाहरु भुक्तान गर्न नआएका उद्योगमात्र समावेश गरिएको छ । कोभिडपछि केही उद्योग धरासायी भएर पलायनसमेत भइसकेका छन् भने केहीले अन्य उद्योगलाई स्वामित्व हस्तान्तरण गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप