बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ : मन्त्री चौधरी

आइतबार, ०९ असोज २०७९, ११ : १०
आइतबार, ०९ असोज २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताएका छन् ।  

थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘राजनीतिक दलहरु असफल भए । तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए । अब पुराना दलहरुले जनताको समस्या हल गर्न सक्दैनन् । त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन् । फराकिलो सोंच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ ।’

सीमान्तकृत जनजातीहरुलाई राज्यको मुल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरूलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए । उनले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा समेत राखेका थिए ।  

मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसको  मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चलाउँथ्यो । तर अहिले समय निकै बदलिसकेको छ । अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन । नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ ।’

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अड्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आशा व्यक्त गरे ।

पूर्व मन्त्री पार्वत गुरुङले थामी जातिलाई अघि बढाउन सधैँ लागिपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरुले आआफ्ना धारणा राखेका थिए । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप