बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनः निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।


उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए । उनले पहिलेका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए ।



मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।



उनले भने, ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । शहरका पहिलेका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरु गर्नुहुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ । पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेका छौँ । अब क्रमशः देशको पर्यटनको काम बढ्नेछ, पर्यटनबाट आर्थिकोपार्जन हुनेछ । रोजगारीको लागि कोही पनि मानिस विदेश जान नपर्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको बताए । उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकहरूलाई भित्र्याउन नसकेको बताए ।

उनले भने, ‘अहिले हामी बिस्तारै आधुनिकताको नामबाट हिजोका हाम्रा संस्कृतिहरूलाई भुल्दै गएका छौँ । नयाँ घर निर्माण गर्दा आधुनिक शैली अपनायौँ । जसले गर्दा हिजोको पहिचान मेटिँदैछ । हाम्रो उद्देश्य भनेको यसलाई पुरानै शैलीमा लैजानु हो । हिजोका सम्पदाका शैलीलाई त्यही रुपमा स्थापना गर्ने हाम्रो उद्देश्य छ ।’ 

मन्त्री श्रेष्ठले भने– ‘यो बाटोमा सबै घरहरु पुरानै शैलीमा जाओस् भन्ने योजना बनाएका छौँ । एशियाली विकास बैंकले यसमा अध्ययन गरेर संलग्न हुन चाहन्छौँ भन्ने कुरा राख्नुभएको छ, यो एउटा नयाँ सम्भावना छ । हामीले पनि हाम्रो पहुँचबाट कसरी अघि बढाउनुपर्छ नेर सोचेका छौँ । यो काम निरन्तर अघि बढ्दै जानेछ । महानगर र आम नागरिकको सहयोग चाहिन्छ । निर्माणसँगै यो सिंगो क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सम्भावना देखिएको छ । हामीले चासो नदिएका कारण पर्यटनलाई बढाउन सकेका छैनौँ । पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर जान सकेनौँ ।’

हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदा मार्ग निर्माण हुँदैछ । पर्यटकहरूलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गरे ।

उनले पुराना सीप, शैली,पेशा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । काठमाडौंका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकहरूलाई घुमाउन ४० जना जनशक्ति सञ्चालन गरेको बताए । मन्त्री श्रेष्ठले पर्यटकहरुले शान्तिपूर्ण रुपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै उनले यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।