बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले निम्त्यायो देउवाको गृहजिल्लामा असन्तुष्टि, वडा तहबाटै विद्रोहको तयारी

आइतबार, ०९ असोज २०७९, ११ : ४०
आइतबार, ०९ असोज २०७९

आसन्न निर्वाचनमा गठबन्धन गर्ने निर्णयले सबै तिर आशंका र सनसनी फैलिएको छ। डडेल्धुरामा गठबन्धनभित्रको प्रदेशगत सिट बाँडफाँटको चर्चाले नेपाली कांग्रेस डडेल्धुरामा व्यापक असन्तुष्टि प्रकट भएको छ । कांग्रेसले प्रतिनिधिसभाको सिट मात्र पाउने चर्चाले पार्टीका जिल्लाका नेता कार्यकर्ता विद्रोहको तयारीमा छन् । 

विद्रोहको तयारी वडा तहसम्म  पुगि सकेको छ। जिल्लाका ५२ वटै वडासम्म विद्रोह हुने संकेत पाइएको छ। असोज ८ गते परशुराम नगरपालिका १ को बैठकले नेपाली कांग्रेसबाहेक अन्त भोट दिन नसकिने र अन्तै दिनु पर्ने बाध्यता पारे विवेकको मत दिइने र त्यसबाट हुने परिणामको जिम्मा नेतृत्वले लिनु पर्ने निर्णय गरेको छ ।

संघमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने र प्रदेशमा माओवादी र एकीकृत समाजवादीलाई दिने चर्चापछि कांग्रेस डडेल्धुरामा असन्तुष्टिको स्वर प्रकट भएको हो । 

पार्टीका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल एमालेको सहयोगमा देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । यता देउवामाथि पार्टीभित्र नेता व्यवस्थापनको चुनौती थपिएको छ । गत स्थानीय चुनाव जस्तै आसन्न निर्वाचनमा पनि गठबन्धनका दलबीच मित्रवत प्रतिस्पर्धा हुनुपर्ने नेताहरूको जोड छ। डडेल्धुरामा विगतको चुनावको अभ्यास हेर्दा कांग्रेसविरुद्ध सबै दलहरू एक भएर जाने गरेका थिए ।

गत स्थानीय निर्वाचनमा पनि वैमनस्यता र बढी विवाद माओवादी केन्द्रसँगै रहेको र द्वन्द्वकालमा माओवादीबाट सबैभन्दा बढी कांग्रेसजन प्रताडित रहेकाले यहाँ गठबन्धन गर्न नहुने कांग्रेस नेताहरुको भनाइ छ ।

माओवादीहरूले कांग्रेस नेताहरु चक्रबहादुर बिष्ट, हरिलाल साउद, प्रेमबहादुर बिष्ट, शिवलाल साउद, दुर्गादत्त जोशीलाई छानी छानी हत्या गरेकाे तितो ताजै रहेको अवस्थामा तिनैसँग मिलेर जाने कुरा क्रूर र अप्राकृतिक पनि हुने कांग्रेस डडेलधुराका नेताहरुको ठम्याइ छ। त्यसैले गठबन्धन नरुमल्लिन र दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बन्नुपर्ने अधिकांश नेता कार्यकर्ताको जोड छ।

डडेलधुरा कांग्रेस क्षेत्रीय कार्य समितिहरुले पनि मित्रवत प्रतिस्पर्धामा जानू पर्ने निर्णय गरेको थियो । पालिका सभापतिहरूको राय पनि कांग्रेसले छुट्टै आफ्ना उम्मेदवार प्रस्तुत गर्न पाउनुपर्छ भन्ने छ ।

दुबै क्षेत्र गुमाउँदा संगठन शून्य हुन जाने र गठबन्धन आत्मघाती हुने कांग्रेस नेताहरुको दाबी छ । दुई प्रदेश रहेको डडेल्धुरामा (क) प्रदेशमा भागेश्वर, परशुराम र आलिताल क्षेत्र पर्छन। यो प्रदेशमा जिल्लाका ५२ वडामध्ये २७ वडा छन् । जनसंख्या र मतदाताका हिसावले पनि यो प्रदेश ठूलो हो।

सत्ता गठबन्धनमा उक्त प्रदेश माओवादीले पाउने चर्चापछि कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको हो । ३ पालिकामध्ये २ पालिका र बहुमत वडा जितेको कांग्रेसले प्रदेश माओवादीलाई जिम्मा लगाए यसको असर प्रदेश मात्र होइन संघको निर्वाचनमा पनि असर पर्नेमा दुई मत छैन ।

यस्तै डडेलधुराको प्रदेश (ख) मा पनि यही स्थिति देखिन्छ। यो प्रदेशमा संगठन नै नभएको समाजवादीले दावी गरेपछि कांग्रेस थप संकटमा पर्ने देखिन्छ। जलाधार नै नभएको पार्टीले दाबी गरेपछि प्रदेशमा कांग्रेसभित्र ठूलै विद्रोह हुने खतरा छ । कांग्रेसको वडा, गाउँ, नगर र प्रदेश कमिटीमा मात्रै होइन साधारण कार्यकर्ता पनि यो गठबन्धनको विरोधमा खुलेरै लागेको देखिन्छ।

कांग्रेसले कार्यकर्ताको मनोभावना विपरीत निर्णय लादे परिणाम जस्तोसुकै पनि आउन सक्ने त्यहाँका आम बुद्धिजीवीको ठम्याइ छ। ‘२०४८ सालदेखि निरन्तर कांग्रेसलाई भोट हालियो अब जीवनको उत्तरार्धमा हँसिया हथौडामा भोट हालिँदैन, बरु घरमै बसिन्छ,’ एकजना शिक्षकले भने।

माओवादीले विगतमा दिएको पीडा हेर्दा अहिलेकै घट्ना जस्तो लाग्ने गरेको एकजना माओवादी पीडितको भनाइ छ । ‘माओवादीलाई कसरी भोट हाल्नु ? बरु बहिष्कार गरिन्छ,’ माओवादी पीडित कांग्रेसका एक नेता भन्छन् ।

प्रदेशमा कांग्रेस बलियो रहँदा रहदै अरुलाई निःशर्त सुम्पिने केन्द्रको हल्लाले यहाँका आम कार्यकर्ताहरु निर्णयका विरुद्ध खुलेरै लाग्नेको प्रष्ट छ। डडेलधुराबाट सातौं पटक देउवा चुनावी मैदानमा आउने तयारीमा छन् । गठबन्धनका नामका नेताको व्यवस्थापन नगर्दा देउवालाई ठूलो जोखिम हुने कांग्रेस नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप