शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समायोजित सेनाको मागप्रति सकारात्मक छु : अध्यक्ष प्रचण्ड

आइतबार, ०९ असोज २०७९, १३ : ३१
आइतबार, ०९ असोज २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताएका हुन् ।

उनले भने, “उहाँहरुको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो । यसमा मैले सङ्गठनमा बस्न मिल्छ, निर्वाचन लड्न पनि मिल्छ भनेको छु ।” पूर्व सेनाको सङ्गठनमा बसेरसमेत काम गर्नसक्ने उनको भनाइ थियो । 

कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरुको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आएका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष दाहालले आज माछा व्यवसायीसँग समेत भेट गर्नुभएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उनले माछा व्यवसायीहरुको माग सम्बोधन गर्न राज्य लाग्ने बताए । उनले भने, “नीति निर्माणको काम सम्पन्न भएको छ । कार्यान्वयनमा नजाँदा समस्या आएको हो ।” 

माछा व्यवसायीले भन्सार छलि आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गरेका थिए । सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातित अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप