बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको घोषणापत्र : ५ वर्षमा गर्नसक्ने विषयमात्र समेट्ने

आइतबार, ०९ असोज २०७९, १५ : ०४
आइतबार, ०९ असोज २०७९

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र  प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनावी घोषणापत्र मस्यौदा समितिको बैठकले स्पष्ट र छोटो घोषणापत्र बनाउन उपयुक्त हुने निश्कर्ष निकाल्दै सोही अनुसार मस्यौदा तयार पार्ने काममा मस्यौदा कार्यदलका नेताहरु जुटेका छन् ।  एमालेले घोषणापत्र निर्माण गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ सदस्यीय ‘चुनावी घोषणापत्र मस्यौदा समिति’ गठन गरेको थियो । जसमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

घोषणा पत्र मस्यौदा समितिका सदस्यहरुबीच शुक्रबार भएको छलफलमा घोषणापत्रमा समेट्ने विषयबारे विमर्श   भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्  ।  मस्यौदा समितिका सदस्य समेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीले निर्माण गर्ने शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखिने बताइन् ।

​अघिल्ला चुनावको घोषणापत्र समेत विश्लेषण गरेर कार्यान्वयन हुनसक्ने विषयलाई मात्र यो बर्ष समेट्ने तयारी भएको शाक्यको भनाइ छ । ‘युवाहरुलाई स्वदेशमा अड्याउने कुरा धेरै ठुलो चुनौतीको विषय बन्यो, यो कुरामा हामी पार्टीहरुले जिम्मेवार भुमिका निर्वाह गर्न जरुरी छ । त्यसका लागि युवा स्वरोजगारका साथै शिक्षा, स्वास्थ्य रोजगार पहिलो प्राथमिकता हुनेछ’, शाक्यले रातोपाटीसँग भनिन्,‘शिक्षा स्वास्थ्य रोजगार भनेर पार्टीहरुले नाममात्रैको बनाउँदै आएका छन्, हामी अलि फरक ढंगले जान्छौ ।’

यसअघि २०७४ को निर्वाचनमा एमालेले पुर्वाधार विकासमा जोड दिएको थियो । ‘पुर्वाधार पनि चाहिन्छ तर त्यसका साथै सामाजिक क्षेत्रमा विशेष ध्यान दिनुपर्छ’, शाक्यको भनाइ छ । त्यसका लागि उनले पार्टीका नेताहरु मात्रै बसेर घोषणापत्र बनाउने प्रक्रियालाई तोड्दै सर्वसाधारणको समेत सुझाव लिएर घोषणापत्र निर्माणको काम भइरहेको बताइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सामाजिक सञ्जालमार्फत भिडियोमार्फत सुझाव पठाउन आग्रह गरेका थिए । ‘सुझावहरु आइरहेका छन्, त्यसरी आएका उपयुक्त सुझावलाई समेट्ने कुरा भएको छ’, उपाध्यक्ष शाक्यको भनाइ छ ।

पहिला प्रत्यक्षका उम्मेदवार छनोट

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अुनसार आयोगले आगामी असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन समय तोकेको छ । प्रतिनिधि सभाका ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको एमालेले प्रतिनिधि सभा र प्रदेशतर्फका प्रत्यक्ष उम्मेदवार छनोट गरिरहेको छ । निर्वाचन आयोगले असोज १६ गते समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम सुची सार्वजनिक गरेपछि प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया अघि बढाउँदैछ । असोज १६ बाट नेपालीहरुको चाड दशैं सुरु भइसक्ने र २३ मा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले एमालेले दशैं अगावै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० जना उम्मेदवार छान्ने भएको छ ।

१६५ वटा निर्वाचन क्षेत्रमध्ये एमालेका ५७ जना उम्मेदवार एकल रूपमा सिफारिस भएका छन् । त्यस्तै, अरू थप ५० वटा निर्वाचन क्षेत्रबाट दुईजनाको मात्र नाम सिफारिस भएको तथा बाँकी क्षेत्रबाट भने तीनजना उम्मेदवार सिफारिस भएको एमालेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप