शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटामा माओवादीले संघ र प्रदेश नपाउने सुइँको पाएपछि विद्रोह

आइतबार, ०९ असोज २०७९, १६ : ३४
आइतबार, ०९ असोज २०७९

सत्ता गठबन्धनको भागबण्डामा धनकुटा नेकपा माओवादी केन्द्रले नपाउने सुइँको पाएपछि नेताहरुले सामूहिक राजीनामा दिएका छन् । २०७४ सालको चुनावमा तत्कालीन एमाले माओवादी गठबन्धन हुँदा प्रतिनिधिसभा र प्रदेशका दुई सिटमा माओवादीले टिकट पाएका थिएनन् । आगामी चुनावमा समेत प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा माओवादीले नपाउने भएपछि पार्टीका नेताहरुले विद्रोह गरेको प्रदेशका एक पदाधिकारी बताए । 

प्रतिनिधिसभा चुनावमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीले आकांक्षा राखेका थिए । भण्डारी २०६४ सालको चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीसहित प्रदेशसभामा समेत एक सिट समेत नपाउने भएपछि नेताहरुले विद्रोह गरेको ती पदाधिकारीले बताए ।

‘तत्कालीन एमाले माओवादी तालमेल हुँदा प्रतिनिधिसभा र प्रदेशका दुबै सिट एमालेलाई दिँदा जिल्लाको पार्टी तहसनहस भयो । अब पनि प्रतिनिधि सभा एक प्रदेशसभा दुई सीट अर्कै दललाई दिने चाल पाए । यस्तो हुँदै गएमा माओवादी झन कमजोर हुने निष्कर्ष निकाले । त्यसपछि राजीनामा दिने निर्णयमा पुगेका हुन्’ ती पदाधिकारीले भने, ‘त्यसैले, पार्टीबाट राजीनामा दिएर भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । पार्टीले निर्णय सच्याएमा फर्किने नसच्याएमा स्वतन्त्र भएपनि चुनाव लड्ने भण्डारी कमरेडको तयारी छ ।’

धनकुटा अन्तर्गत पोलिटब्युरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन्।  माओवादी धनकुटा पार्टीले विद्रोह गरेपछि सत्ता गठबन्धनको सीट बाँडफाँट झन पेचिलो हुने आकलन गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप