शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपांगतामैत्री बनाउन मन्त्रालयको भौतिक परीक्षण

आइतबार, ०९ असोज २०७९, १९ : २४
आइतबार, ०९ असोज २०७९

लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भौतिक परीक्षण गरेको छ  । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश समितिको पहलमा सम्बन्धित सरोकारवाला निकाय समेत रहेको मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँच, भौतिक अवस्था,  पहुँचसहितका विषयमा भौतिक परीक्षण गरिएको हो ।

विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुले सहज रूपमा सेवा पाउनबाट के कस्तो रूपमा अवरोध भएको छ भन्ने विषयमा भौतिक परीक्षण गरिएको  राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका संयोजक सरोजा भण्डारीले जानकारी दिइन् । उनका अनुसार कार्यालयमा सहज रूपमा प्रवेशको लागि ¥यामको  सुविधा, शौचालय, सूचना बोर्ड, कार्यालयमा सहज पहुँच लगायतको विषयमा परीक्षण गरिएको हो । 

लमही नगरपालिकाका सब ईन्जीनियर रजना पोख्रेल र विमला भट्टराईले राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार कार्यालय भवन, सेवा प्रवाहको अवस्थाको विषयमा भौतिक परीक्षण गरेका थिए । मुख्य सडकदेखि मन्त्री, कार्यालयका प्रमुख सचिवसहितको अन्य बैठक कोठा लगायतमा नापजाँच गरिएको हो । जसअनुसार कार्यालयको नागरिक बडापत्र नै नभएको, सेवा प्रवाह गर्न आउने सेवाग्राहीका लागि सूचना पार्टी नभएको, शौचालय अपाङ्गतामैत्री भएपनि सोही अनुसारको ह्विलचियर जान सक्ने गरी निर्माण नगरिएको पाइएको, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थीले जानकारी दिए । भौतिक परीक्षण कार्यक्रममा सहभागी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य पीताम्बर लम्सालले सेवा प्रवाहका लागि बहिरापना भएका व्याक्तिहरुलाई  दोभाषेको व्यवस्थापन  गर्नुपर्ने बताए ।

मन्त्रालयका उपसचिव तथा प्रशासन महाशाखा प्रमुख डिल्लीराज बेल्बासेले मन्त्रालयको आफ्नै भवन नभएको कारण कर्मचारी समेत व्यवस्थापन गर्न नसकिएको बताउँदै सेवा प्रवाहलाई के कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा अधिकतम प्रयास गर्ने बताए । उनले अपाङ्गता भएका समुदायको काम गर्ने भनेर नै स्थापना भएको मन्त्रालयले  सो समुदायको लागि निरन्तर पहल गर्ने समेत प्रतिबद्धता जनाए ।  भौतिक परीक्षण कार्यक्रममा दृष्टिविहीन सेतो छडी प्रयोगकर्ता, शारिरिक अपाङ्गता, बहिरा, अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्याक्तिहरुसहितको सहभागिता रहेको भण्डारीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप