बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कमाउन साउदी गएका देवराज ९ महिना अस्पतालको बेडमा बसेर फर्किए

आइतबार, ०९ असोज २०७९, २१ : ०८
आइतबार, ०९ असोज २०७९

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१२ निवासी २४ वर्षीय देवराज पौडेल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका थिए । हेभी सवारी चालकको काम गर्दै आएका उनी एउटा दुर्घटनामा परे ।

मध्यरात व्यस्त सडकमा १४ चक्के गाडी गुडाइरहेका उनी आफूभन्दा अगाडिको गाडीले एक्कासी ब्रेक लगाएपछि झस्किए । सामानले भरिएको अघिल्लो गाडी झ्याप्प ब्रेक लागेर रोकियो तर उनको खाली गाडी ब्रेक लगाउँदा पनि घस्रिएर अगाडिको गाडीमा ठोक्किन पुग्यो । उनले आफ्नो गाडीमा एक्कासी ब्रेक लगाएकोसम्म थाहा पाए तर त्यसपछि के भयो भन्ने उनलाई केही थाहा भएन । १५ घण्टापछि होसमा आउँदा उनी अस्पतालको बेडमा थिए । उनको हातदेखि कम्मरमुनिको कुनै भाग चल्ने अवस्थामा थिएन ।

‘म त १५ घण्टापछि होसमा आएँ । हातखुट्टा केही चलेका थिएनन् । गर्धनमा ब्याण्डेज लगाएर राखेको थियो,’ उनले भने । उनको मेरूदण्ड भाँच्चिएको थियो । घरमा चार वर्षकी छोरी र श्रीमती छोडेर दुईचार पैसा कमाउन साउदी पुगेका देवराज सो दुर्घटनाका कारण थला परे । उनीसँगै गाडीमा तनहुँका कमल परियार थिए । उनैले प्रहरी र एम्बुलेन्स बोलाएर अस्पतालसम्म लगेका थिए । उनी नभएको भए जे पनि हुनसक्थ्यो ।

कम्पनीले उनकै गल्ती देखाएर उपचार खर्च नव्यहोर्ने भयो । इन्सुरेन्सबाट आउने उपचार खर्चसमेत कम्पनीले बन्द गराइदियो । ‘दुर्घटनापछि गल्ती मेरै देखायो । कम्पनीले केही पनि गर्न सक्दिन भन्यो । इन्सुरेन्स पनि बन्द गराइदियो । पछि दूतावासमा कुरा गरेर दुतावासले नै कम्पनीलाई खर्च व्यहोर्नुपर्ने भनेपछि मात्रै कम्पनीले खर्च व्यहोरेको हो,’ देवराजले भने । ९ महिना साउदीको अस्पतालमा उपचार गराएर उनी यतिबेला नेपाल फर्किएका छन् । घर फर्किन लाग्ने सम्पूर्ण खर्च कम्पनीले नै व्यहोरेको उनको भनाइ छ ।

उनी २० सेप्टेम्बरमा नेपाल आइपुगेका थिए । यतिबेला उनी साँगास्थित स्पाइल इन्जुरी पुनर्स्थापना केन्द्र उपचार गराइरहेका छन् । डाक्टरले थेरापी गराएर उपचार गर्ने तर, त्यसको परिणाम के आउँछ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन् । ‘ठ्याक्कै यही हुन्छ भन्न सकिने अवस्था छैन । उपचार गराउन धेरै ढिला भइसकेको रहेछ । थेरापी गराउँछौं र त्यसको रिजल्ट के आउँछ, हेर्दै जानुपर्छ भनेका छन्,’ उनले भने । उनले त्यति पीडा त दुर्घटनामा पर्दा भोगेनन्, जति पीडा साउदीमा उपचारको क्रममा भोगे । ९ महिनासम्म त्यत्तिकै जिउँदो लास जसरी अस्पतालको बेडमा राखियो । यदि अस्पतालमा राम्रोसँग उपचार भएको भए सायद उनी आज आफै हिँडडुल गर्न सक्थे ।

अस्पताल पुगेपछि उनको सबैभन्दा पहिला अप्रेशन गरियो । अप्रेशन गरेपछि वार्डमा सारियो । त्यसपछि त्यत्तिकै छोडिदियो । ‘इन्सुरेन्स खोलिदिएको भए सजिलो हुन्थ्यो । इन्सुरेन्स अप्रुभ गरिदिएको भए उपचार पनि राम्रै हुन्थ्यो होला । त्यो नभएपछि उपचार राम्रो भएन,’ उनले भने, ‘पहिला नै थेरापी गरिदिएको भए हुन्थ्यो । त्यो बेला खाली अप्रेशनमात्र गरिदियो । त्यो बाहेक केही पनि गरिएन । अप्रेशन गरेपछि वार्डमा लगेर राखिदियो ।’ उनको हेरचाहका लागि न डाक्टर आए, न त नर्सहरूले उनको केयर गरे । ९ महिनासम्म अस्पतालमा उनलाई त्यत्तिकै बेवारिसे बनाएर छोडियो ।

‘थेरापी र एक्सरसाइजका लागि भनेर डाक्टर एप्रुभ गरिएको थियो । तर, मतलबै गरिएन । डाक्टर हेर्नै नआउने, कहिले १५÷२० दिनमा आउने,’ उनले भने, ‘एकछिन यसो हेरेर जान्थे । उपचार नै त्यति प्रभावकारी भएन । प्रभावकारी ढंगबाट उपचार भएको भए सायद म यतिन्जेलसम्म अस्पतालमा बस्नुपर्ने थिएन ।’ अस्पताल बसाइको क्रममा कति खर्च भयो भन्ने उनलाई केही जानकारी छैन । केही महिना अगाडि उनले कति खर्च भयो भनेर सोधेका थिए । त्यो बेला २ लाख ६५ हजार साउदी रियाल खर्च लागेको थियो । त्यसपछि कति खर्च भयो उनलाई जानकारी छैन ।

विदेशमा अलपत्र परेका तथा समस्या परेका नेपालीलाई सहयोग गर्न धेरै संघसंस्था खुलेका छन् । तर, उनलाई ९ महिनाको अवधिमा न कुनै संघसंस्थाले सहयोग गरे, न कोही भेट्न आए । एनआरएनए साउदीले भने केही सहयोग गरेको थियो । त्यो बाहेक कुनै पनि संघसंस्थाले केही सहयोग नगरेको उनको भनाइ छ । साउदीका अस्पतालमा बिरामीलाई जतिबेला मन लाग्यो त्यति बेला भेट्न मिल्दैन । अस्पतालमा कुरूवा बस्नसमेत दिँदैनन् । भेट्न तोकिएको समयमा साथीभाइ भेट्न आउँथे र हालखबर सोधेर जान्थे । घर परिवारमा छुट्टिएर अलग बसेका उनको उपचार यतिबेला दाइले नै गर्दै आएका छन् । ‘म त कताबाट उपचार गराउने हो र ? दाइले सहयोग गरिराख्नुभएको छ । हेरौं, कहिलेसम्म उपचार गराउन सकिन्छ,’ उनले भने ।

बोर्डले दिन्छ आर्थिक सहायता

विदेशमा अलपत्र परेका तथा दुर्घटनामा परेकाहरूलाई सहयोग गर्न सरकारले वैदेशिक रोजगार बोर्डको स्थापना गरेको छ । सरकारले सोही बोर्ड मार्फत आर्थिक सहायता प्रदान गर्दै आएको छ । बोर्डले वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने लगायतका कार्य गर्दै आएको छ ।

पछिल्लो ४ वर्षमा बोर्डले ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति बापत उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका सिलसिलामा अङ्गभङ्ग तथा गम्भीर बिरामी भएका ९२७ जना पुरुष र ४९ जना महिला गरी ९६७ जनालाई आर्थिक सहयोग गरेको बोर्डले जनाएको छ । देवराजले बोर्डले आर्थिक सहयोग प्रदान गर्ने गरेको जानकारी पाएको भन्दै त्यसका लागि दाइलाई भनेको बताए । ‘अहिलेसम्म त कहीँ कतै कुरा गरेको छैन । मैले दाजुलाई बोर्डमा सम्पर्क गर्न भनेको छु । त्यहाँबाट केही सहयोग मिल्छ होला,’ देवराजले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप