शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मानव सेवा आश्रम’ सँग नेपथ्यको हातेमालो

सोमबार, १० असोज २०७९, १० : १४
सोमबार, १० असोज २०७९

नेपथ्यले  सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । विशेष गरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । 

यो सहकार्य अन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरू मार्फत मानव सेवा आश्रमको अभियान प्रवर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । यस अभियान अन्तर्गत नेपथ्यले यो वर्ष आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताको लागि संगीत राख्ने निर्णय समेत गरेको छ ।

हेटौँडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लाहरूमा २३ वटा केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रले ७७ वटै जिल्लामा आफ्ना सेवा प्रवाह गरिरहेका छन् । यिनमा सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवहरूले आश्रय पाइरहेका छन् । उद्धार गरेर ल्याएकै क्षणदेखि खाने, लाउने, बस्नेदेखि लिएर औषधोपचार, मानसिक परामर्श अनि तालिमसम्म दिएर उनीहरूको अवस्थामा सुधार ल्याउने कामहरू हुँदै आएका छन् । परिवारसँग अलग्गिएकाहरूलाई फेरि परिवारमै पुनर्स्थापना गरिइदिनुका साथै पुनर्स्थापित हुन नसकेकाहरुलाई आत्मनिर्भर बनाइदिने सम्मका काम यो संस्थाले गर्दै आएको छ । साथै यसले टुहुरा तथा अनाथहरूका क्षेत्रमा पनि सेवा दिँदै आएको छ ।

यसै उद्देश्यका निम्ति नेपथ्यले आवाज बनिदिने मात्र नभइ कन्सर्टहरु मार्फत अर्थ संकलनमा समेत हातेमालो गर्नेछ । ‘नेपाली समाजले जसरी नेपथ्यलाई मनपरायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रूपमा उठाउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ मुलुक घुम्दाका नमिठो अनुभव थप्दै भन्छन्, ‘द्वन्द्वकालताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौँतारिएर हिँड्ने मानसिक सन्तुलन गुमाएकाहरूको सङ्ख्या बढेको देख्थ्यौँ । यिनीहरूको राज्यले उचित व्यवस्थापन गरिदिए हुने जस्तो लाग्थ्यो । यसै क्रममा एउटा संस्थाले उनीहरुको उद्धार गरेको सुन्दा मलाई मनमा सन्तोष लागेको थियो । अहिले त्यसै संस्थासँग हातेमालो गर्ने जोग मिलेकोमा म खुशी छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप