शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोइला अभावमा हेटौंडा सिमेन्टको उत्पादन ठप्प

सोमबार, १० असोज २०७९, १० : ३५
सोमबार, १० असोज २०७९

हेटौंडा सिमेन्ट उद्योग दसैँपछि मात्र सञ्चालनमा आउने भएको छ । कोइला अभावका कारण उत्पादन ठप्प भएको उक्त उद्योगले दसैँसम्ममा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला आयात गर्ने र उद्योग सञ्चालन गर्ने तयारी गरेको हो ।

कोइला अभावका कारण करिव डेढ महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द छ । आगामी २ सातामा उद्योग सञ्चालनको लागि आवश्यक मात्रामा कोइला प्राप्त हुने र उक्त समयमा दसैँ पनि पर्ने भएकाले त्यस लगत्तै उद्योग सञ्चालन गरिने उद्योगका प्रवक्ता अशोक गौतमले जानकारी दिए ।

विभिन्न समस्या भोग्दै आएको उद्योगले पछिल्लो समय कोइला अभावका कारण गत साउनदेखि उत्पादन बन्द गर्नु परेको हो । लगातारको वर्षाका कारण उद्योग सञ्चालनका लागि आवश्यक कोइला आपूर्ति हुन नसक्दा उद्योग नै ठप्प हुन पुगेको प्रवक्ता गौतमको भनाइ छ ।

उनका अनुसार केही दिनमै उद्योग सञ्चालनका लागि आवश्यक मात्रामा कोइला आपूर्ति हुने र उद्योग पुनः सञ्चालनमा आउने छ । कोइला आपूर्ति सुरु भइसकेको र हालसम्म करिब आठ सय टन कोइला प्राप्त भएको उनले बताए । प्राप्त कोइला उद्योग सञ्चालनका लागि पर्याप्त नहुने भएकाले उद्योग बन्द गर्नैपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

उद्योग सञ्चालनका लागि मासिक ३ हजार टन कोइला आवश्यक पर्ने उनले जनाए । कोइला अभावका कारण उद्योगको किलमा समस्या आएको छ । उद्योगको किलमा सिमेन्ट उत्पादनका लागि क्लिङ्कर बनाउने गरिन्छ । हाल उद्योगमा करिब ४० हजार बोरा सिमेन्टको क्लिङ्कर मौज्दात रहेको उनले बताए ।

बजार मूल्य समायोजन नहुँदा बिक्री घट्दो

बजार मूल्य समायोजन नहुँदा उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री घट्दो क्रममा छ । निजी उद्योगको तुलनामा हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट महँगो छ । जसले गर्दा हेटौंडा सिमेन्टको बिक्री पनि घटेको छ ।

गत माघ १ गतेदेखि लागू हुने गरी तत्कालीन महाप्रबन्धक प्रेमशङ्कर सिंहले सिमन्टको मूल्य वृद्धि गरेका थिए । हेटौंडा सिमेन्टको तुलनामा शिवम् सिमेन्टको मूल्य प्रतिबोरा ६५ रुपैयाँ सस्तो छ भने रिद्धिसिद्धि सिमेन्ट ७५ रुपैयाँ सस्तो छ । स्थानीय बजारमा शिवम् सिमेन्ट ५० किलोग्रामको ७१० रुपैयाँ र रिद्धसिद्धि सिमेन्ट ७०० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्ता छन् उद्योगका समस्या

विभिन्न कारणबाट हेटौंडा सिमेन्ट उद्योग लामो समयसम्म बन्द हुने र उत्पादन ठप्प हुने तथा उत्पादित सिमेन्टको बजारीकरण हुने जस्ता समस्या भोग्दै आएको छ । नीतिगत समस्या सहित दैनिक व्यवस्थापकीय समस्याहरु भोग्न उद्योग बाध्य छ ।

उद्योगले आवश्यक कच्चा पदार्थ, प्रविधि, जनशक्ति अभाव जस्ता समस्या दैनिक रुपमा भोग्दै आएको छ भने उद्योगसँग सञ्चालनको दीर्घकालीन रणनीति नै छैन । त्यस्तै उद्योगले आफ्नो व्यापार नीति पनि बनाउन नसकेको अवस्था रहेको छ । जसका कारण उद्योगले थप समस्याहरु भोग्दै आएको छ ।

उद्योगले उत्पादन र बजार प्रवर्द्धन नीतिको अभावका कारण बर्सेनि घाटा व्यहोर्दै आएको छ । बजार प्रवर्द्धन नीति नहुँदा निजी उद्योगका उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न हेटौंडा सिमेन्ट उद्योगले सकिरहेको छैन ।

उद्योगले बैंक ग्यारेन्टीका आधारमा सिमेन्ट बिक्री गर्ने नीति बनाए पनि मूल्य महँगो हुँदा कतिपय खरिदकर्ताले सिमेन्ट खरिद नगर्ने गरेको र उत्पादित सिमेन्ट बिक्री हुन सकेको छैन ।

उद्योगका प्रवक्ता गौतमका अनुसार उद्योगमा सिमेन्ट खरिदका लागि २६ वटा फर्मले बैंक ग्यारेन्टी गराएका छन् । त्यसमध्ये १६ फर्मले प्रतिवद्धता अनुसार सिमेन्ट खरिद गरी उद्योगबाट उठाउने गरेका छन् भने १० वटा फर्मले प्रतिवद्धता अनुसार सिमेन्ट उठाउन छोडेका छन् ।

क्षमता ५२ लाख बोरा, उत्पादन लक्ष्य २५ लाखमात्र

हेटौंडा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता ५२ लाख बोरा हो । तर, विविध समस्याका कारण उद्योगको उत्पादन क्षमतामा ह्रास आएको छ । उद्योगले आर्थिक वर्षमा २०७७÷०७८ मा वार्षिक ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

सो वर्षमा उद्योगले निर्धारित लक्ष्य पूरा गर्न सकेन । आर्थिक वर्ष २०७७÷७८ मा १८ लाख ५३ हजार ७६४ बोरा मात्र सिमेन्ट उत्पादन गरेको थियो ।

लक्ष्यअनुसार सिमेन्ट उत्पादन गर्न नसकेपछि उद्योगले उत्पादन लक्ष्य घटाएको छ । उद्योग व्यवस्थापनले गत आर्थिक वर्ष २०७८÷०७९ बाट ३० लाख २० हजार बोराबाट वार्षिक उत्पादन लक्ष्य घटाएर २५ लाख बोरामा झारेको थियो । गत आर्थिक वर्षमा घटाएर निर्धारण गरिएको उत्पादन लक्ष्यसमेत उद्योगले पूरा गर्न सकेन । गत आर्थिक वर्षमा उद्योगले १६ लाख १३ हजार ९६४ बोरामात्र उत्पादन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप