बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग : आपसी झगडाको नतिजा

सोमबार, १० असोज २०७९, १५ : ३४
सोमबार, १० असोज २०७९

कतिपय मानिसको अनावश्यक झगडा गर्ने बानी हुन्छ । यस्ता मानिसलाई निउँ नै चाहिन्न । विना काम स–साना कुरालाई नै ठूलो बनाई झगडा गरिरहेका हुन्छन् तर के बिर्सन्छन् भने यसले न आफूलाई फाइदा गर्छ न जोसँग झगडा गरिएको हो उसैलाई गर्छ । यदि फाइदा हुन्छ भने तेस्रो पक्षलाई हुन्छ, झसको झगडासित कुनै सम्बन्ध नै रहेको हुँदैन ।  

धेरै पहिलेको कुरा हो । एक दिन दुई जना सज्जन बिहानी भ्रमणमा निस्केका थिए । बिहानको मौसम थियो साह्रै सुन्दर । चिसो हावा, वातावरण स्वच्छ । दुवै सज्जन आपसमा गफिँदै हिँडिरहेका थिए । त्यत्तिकैमा त्यतै नजिक जङ्गलबाट आएको कोइलीको सुरिलो आवाज सुनियो । उनीहरू दुवै अन्धविश्वासी थिए । कोइलीको स्वरमा कुनै शुभशकुन छिपेको हुन्छ भन्ने ठान्थे । कोइलीको आवाज सुनेर दुई सज्जनमध्ये एउटाले भने–

‘अहा ! एकाबिहानै कोइलीको कति मीठो आवाज सुनियो । आजको दिन मेरा लागि निकै शुभ छ । लाग्छ ठूलै लाभ हुनेवाला छ ।’

उनको कुरा सुनेर अर्काले विमति जनाउँदै भने–

‘होइन मित्र ! तिमी भ्रममा छौ । कोइलीले तिमीलाई होइन मलाई शुभसङ्केत गरेको छ । आजको दिन मेरा निम्ति निकै फलदायक रहेछ । के थाहा ठूलै धनराशि हात लागि हुने पो हो कि ।’

उनको कुरा पहिलोलाई मन परेन र प्रतिवाद गर्दै भने–

‘भ्रममा म होइन मित्र ! तिमी छौ । कोइलीको आवाज पहिले मैले सुनेको हुँ । त्यसैले उसले शुभसङ्केत तिमीलाई होइन मलाई गरेको हो ।’

दोस्रो पनि के कम थिए र जङ्गिँदै भने–

‘ठूलै विद्वान् ठानेको थिएँ तर तिमी त मूर्ख रहेछौ । होइन भने यस्तो कुरा गर्ने थिएनौ । आवाज जसले पहिले सुने पनि के फरक प¥यो र ? आखिर उसले शुभसङ्केत मलाई नै गरेको थियो क्यारे ? लाग्छ तिमीले उसको आवाजलाई गहिरिएर सुनेकै रहेनछौ ।’

यसरी उनीहरू बिहानको स्वच्छ हावा खानुको सट्टा कोइलीको आवाजलाई लिएर झगडा गर्न थाले । एउटा आफूलाई कोइलीले शुभसङ्केत गरेको तर्क गर्थे । अर्को उनको भनाइलाई खण्डन गर्दै आफूलाई शुभसङ्केत गरेको जिद्दी गर्थे । अन्ततः उनीहरूबीच झगडा बढ्दै गएर हानाहान पर्न थाल्यो, जसले गर्दा दुवै यति बढी घाइते भए कि उठेर हिँड्नै नसक्ने भए ।

त्यति बेलासम्म बिहानै भ्रमणमा हिँडेका अन्य मानिसहरू पनि आइसकेका थिए । उनीहरूले सज्जन द्वयको अवस्थालाई देख्न सकेनन् र दुवैलाई उठाएर डक्टर कहाँ पु¥याए । डक्टरले पहिले उनीहरूलाई मलमपट्टी गरी ठीकठाक बनाए । अनि जानेबेलामा घाइते हुनुको कारण जान्न चाहे । त्यसपछि उनीहरूले आफूहरूबीच भएको समग्र वृत्तान्त बताउँदै डक्टरसँग सोधे–

‘अब भन्नुस् त डक्टर साब ! कोइलीले कसलाई शुभसङ्केत गरेको थियो ?’

पहिले त डक्टर बोलेनन् । चुपचाप उनीहरूको कुरा सुनिरहे । जब पुनः त्यही कुरा दोर्‍याएर जिद्दी गर्न लागे । त्यसपछि भने मौन रहन सकेनन् र मुस्कुराउँदै भने–

‘ए कोइलीले ? उसले त तिमीहरू दुवैलाई शुभसङ्केत गरेको थिएन ।’

‘कस्तो सङ्केत गरकोे थियो त ?’

‘अशुभसङ्केत गरेको थियो ।’

‘अशुभ सङ्केत ?’

‘हो, अशुभ सङ्केत ।’

‘कहाँ त्यस्तो हुन्छ ?’

‘कहाँ हुन्छ होइन मित्र ! भयो ।’

‘के भयो डाक्टर साब ?!

‘यही कि उसले तपार्ईँहरूलाई शुभसङ्केत गरेको थिएन ।’

‘त्यसो भए कसलाई शुभसङ्केत गरेको थियो त ?’

‘उसले त मलाई पो आजको दिन शुभ छ भनिरहेको थियो ।’

डक्टरको कुराको बुझ्न नसकेर उनीहरूले पुनः सोधे–

‘डक्टर साब ! हामीले तपार्ईँको कुरा बुझेनौँ । कोइलीको आवाज हामीले सुनेका थियौँ । तपार्ईँ आफूलाई शुभसङ्केत गरेको थियो भनिरहनुभएको छ । यस्तो कसरी सम्भव हुन्छ ?’

त्यसपछि डाक्टरले सम्झाउँदै भने–

‘हेर्नुस् तपाईँहरूले अनावश्यक झगडा गरेर आफूलाई चोट पुर्‍याउनुभयो । शरीरबाट रगत बग्यो । उपचारमा पैसा पनि खर्च भयो । त्यसैले उसले त्यही भनिरहेको थियो आजको दिन तिमीहरूका निम्ति अपशकुनी छ । जहाँसम्म मेरो कुरा छ । तपार्ईँहरू घाइते बनेर मकहाँ उपचार गराउन नआउनुभएको भए मलाई यसरी अप्रत्यासित फाइदा हुने थिएन । अब भन्नुस् शुभसङ्केत कसलाई गरेको रहेछ ?’

डक्टरको कुरा सुनेर सज्जनद्वय लाजले रातोपीरो हुँदै घरतिर लागे ।

यो एउटा दृष्टान्त हो । जहाँ पनि र जहिले पनि झगडाको परिणाम यस्तै हुन्छ । झगडा हुन्छ दुईवटा पक्षमा फाइदा हुन्छ तेस्रो पक्षलाई । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप