शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुखुरापालनबाटै राम्रो कमाइ

सोमबार, १० असोज २०७९, १८ : ०४
सोमबार, १० असोज २०७९

मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् ।

एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा  व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए । रु दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले अहिले लेयर्स जातका कुखुरा पालेका छन् । “स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरूमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ”, गिरीले सुनाए । 

बिबिएस पास गरेका उनी आयुर्वेदका ज्ञातासमेत छन् । कृषिमा ठूलो सम्भावना देखेर रहरले सुनसरीको तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकोमा यसबाट आफू खुशी भएको उनले सुनाए । फार्ममा दैनिक पाँच हजार अन्डा उत्पादन हुन्छ । अन्डा प्रतिगोटा रू ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्सजातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ ।

कुखुराको सुली (मल) बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा रू तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुई वटा ठूला ठूला कटेरोमा  कुखुरा पालिएको छ । कुखुरापालनसँगै बाख्रासमेत पालेर उनले आफ्नो कृषि पेसा अगाडि बढाएका छन् । उनले उन्नत बोयर  जातका ५० भन्दा बढी बाख्रा पालेका छन् । “कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु¥याएर काम गर्दा नाफा हुन्छ”, उनले भने । 

कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए । सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिका लागि धेरै सम्भावना र अवसर भएको बताए । उनले गिरीले गरेको कृषि कार्य उदाहरणीय भएको बताए । “उद्यमशील किसानलाई  सरकारले आवश्यक सहयोग गर्न जरूरी छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप