बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना

सोमबार, १० असोज २०७९, २० : ४७
सोमबार, १० असोज २०७९

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने बताए । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर आउँदै छ”, उनले भने, “भोलिदेखि नै नाकामा सुरक्षा टोलीसहितको तालिमप्राप्त कुकुर परिचालन गर्ने तयारीमा छौँ ।” उनले दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न  जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको बताए ।

“गड्डाचौकी नाकादेखि खक्रौला नाकासम्मको ४२ किलोमिटर राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेका छौं”, उनले भने, “यात्रुहरूको सहजताका लागि बस व्यवसायीहरूसँग समन्वय गरेर यातायात सेवामा सहजीकरण गरिराखेका छौँ ।” यो समयमा घर फर्किने र अन्य कामका लागि आवतजावत गर्नेहरुको बाक्लो भीड हुने भएकाले प्रहरीको गस्ती बढाइएको छ ।

विष्फोटक पदार्थ, लागूऔषध, हतियारजन्य वस्तुलगायत भित्रिन नपाओस भनेर सोमबारदेखि नाकामा कुकुरसमेत राखेर चेकजाँच सुरु गरिन लागेको हो । केही दिनयता गड्डाचौकी नाका भएर घर फर्किनेहरूको भीड लाग्न थालेको छ । दसैँ मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य कुनै आपराधिक गतिविधि हुन नदिन भनेर प्रहरीले सीमा नाकासँगै अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीले राजमार्ग क्षेत्रमा चेकजाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ । “राजमार्गमा सुरक्षा चेकजाँच बढेको छ भने अन्य क्षेत्रमा समेत प्रहरी खटाइएको छ”, उनले भने, “बजारमा भीडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप