शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : जमरा राख्दै भित्र्याइयो दसैँ

सोमबार, १० असोज २०७९, २१ : ११
सोमबार, १० असोज २०७९

आज २०७९ साउन असोज १० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा एमाले बनेका पूर्वमाओवादीलाई जसरी पनि जिताउने ओलीको आश्वासन, ‘गृहप्रवेश’ गर्दै प्रचण्डले चितवनवासीलाई भने– तपाईहरुकै काखमा आएको छु, जमरा राख्दै भित्र्याइयो दसैँ, सत्तारुढ गठबन्धनबीच १३५ सिटमा भागबण्डा मिलिसकेको दाबी, नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबल भोलि; भीआइपीका लागि टिकट शुल्क ५ हजार, सभामुखको कार्यकालबारे राष्ट्रियसभा अध्यक्षको चासो, शेखर कोइराला पक्षले कांग्रेस मुख्यालयमा धर्ना दिने लगायत छन् ।

१. एमाले बनेका पूर्वमाओवादीलाई जसरी पनि जिताउने ओलीको आश्वासन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई पुनः सांसद बनाउने आश्वासन दिएका छन् । ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई सकेसम्म प्रदेश वा प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने र त्यहाँबाट पूरा हुने स्थिति नदेखिएमा समानुपातिक वा राष्ट्रियसभामा भए पनि प्रतिनिधित्व गराउने बचन दिएका हुन् ।

​२. ‘गृह प्रवेश’ गर्दै प्रचण्डले चितवनवासीलाई भने– तपाईंहरुकै काखमा आएको छु
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चितवनमा निर्मित आफ्नो निजी घरमा विधिवत् ‘गृहप्रवेश’ गरेका छन् । उनले चितवनवासीकै काखमा आफू आइपुगेको बताए ।

​३. जमरा राख्दै भित्र्याइयो दसैँ
हिन्दु धर्मावलम्बीको प्रमुख चाड दसैँ सोमबार विधिवत् रुपमा भित्रिएको छ । पूजा कोठा तथा जमरा घरमा जमरा राख्दै दसैँ भित्र्याइएको हो । 

४. सत्तारुढ गठबन्धनबीच १३५ सिटमा भागबण्डा मिलिसकेको दाबी
आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका १६५ सिटमध्ये १३५ सिटमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलिसकेको गठबन्धन घटककै नेताले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका नेतासमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले १३५ सिटमा भागबण्डा मिलेको दाबी गरेका हुन् । 

५. भिसा लिन जाँदा सेक्युरिटी गार्डसँगको विवादमा तानिएका मन्त्री क्यानडा प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडाकै भिसा लिन जाँदा सुरक्षागार्डसँगको विवादमा मन्त्री श्रेष्ठ तानिएका थिए । 

६. नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबल भोलि, भीआइपीका लागि टिकट शुल्क ५ हजार
नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण फुटबल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । मंगलबार घरेलु मैदानमा लामो समयपछि हुन लागेको यो मैत्रीपूर्ण खेलमा एन्फाले महँगो दरमा टिकट बेच्न लागेको हो । 

प्रतिनिधिसभाको निर्वाचन प्रक्रिया सुरु भइसकेको भन्दै राष्ट्रियसभाका अध्यक्षले सभामुख र उपसभामुखको कार्यकालबारे चासोमात्र राखेका छैनन्, संसद सचिवालयका महासचिवलाई सभामुखकै अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयन नगर्न आदेश पनि दिएका छन् । संविधानविद् भने राष्ट्रियसभा अध्यक्षले सभामुखको कार्यकालबारे चासो राख्नु अस्वाभाविक भएको बताउँछन् ।

८. शेखर कोइराला पक्षले कांग्रेस मुख्यालयमा धर्ना दिने
नेपाली कांग्रेसमा असन्तुष्ट पक्ष भनेर चिनिँदै आएका डा. शेखर कोइराला पक्षले पार्टी मुख्यालय सानेपामा धर्ना दिने भएको छ । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सच्याउन दबाब दिँदै सो पक्षले धर्ना दिने भएको हो ।

९. निर्वाचन सुरक्षाका लागि ७५ हजार सैनिक फिल्डमा खटिने
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा योजना अन्तर्गत ७५ हजार सैनिक फिल्डमा खटिने भएको छ । सेनाले निर्वाचन सम्पन्न नहुन्जेलसम्म कारागार र विमानस्थलको सुरक्षा जिम्मेवारीसमेत सम्हाल्ने भएको छ ।

१०. र यो पनि,
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी गरेको छ । बलात्कार आरोपित लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेकप्रसाद राईले बताए ।  

ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपित सिद्धिचरण नगरपालिका–८ सल्लेरी निवासी २२ वर्षीय छलमाया धमला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । 

साउदी अरबमा ६ महिनादेखि अलपत्र परेका १४ जना नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) को पहलमा उनीहरू नेपाल फर्किन सफल भएका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप