शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर ४ मा कुन–कुन दल बन्दैछन् एमालेको ‘चुनावी सारथि’ ?

मङ्गलबार, ११ असोज २०७९, १४ : १२
मङ्गलबार, ११ असोज २०७९

राष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल गर्न तयार भएपछि एमाले पनि त्यसमा सकारात्मक भएको एमाले नेताहरुको भनाइ छ ।

हालसम्म महन्थ ठाकुर नेतृत्वको लोसपा, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र नेपाली कांग्रेस (बीपी) एमालेसँग चुनावी तालमेल गर्न तयार देखिएका हुन् ।

एमालेसँग चुनावी तालमेल गर्न आफूहरु तयार कुरा राप्रपा र लोसपाका नेताहरुले सार्वजनिक रुपमै भनिसकेका छन् । उक्त प्रस्तावलाई एमालेले पनि ‘ग्रीन सिग्नल’ दिएर उनीहरुको शक्ति अध्ययन गरिरहेको छ । ती पार्टीहरूलाई एमाले अध्यक्ष केपी ओलीले आफूले दावी गर्ने क्षेत्र र एमालेलाई सघाउनसक्ने क्षेत्रको शक्तिसहितको प्रस्ताव लिएर आउन भनिसकेका छन् । ओलीले भनेअनुसार राप्रपा, लोसपा र सिके राउतले सिट र क्षेत्रको मागसहितको प्रस्ताव ओलीलाई बुझाइसकेका छन् ।

तर एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजाल लोसपा र राप्रपाबाट चुनावी तालमेलका लागि प्रस्ताव आएपनि अन्य दलहरूको प्रस्तावबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

‘लोसपा र राप्रपाले चुनावी तालमेल गरौं भनेर प्रस्ताव राखेको सार्वजनिक नै भैसकेको कुरा हो । तर, अन्य पार्टीको हकमा मलाई जानकारी भएन, लोसपा र राप्रपाको हकमा पनि पार्टीले ठोस निर्णय गरिसकेको अवस्था होइन’, एमाले प्रचार विभाग उपप्रमुख रिजालले रातोपाटीसँग भने । ठाकुर नेतृत्वको लोसपाले त गत शुक्रबार मात्रै एमालेसँग चुनावी तालमेलका लागि ६ सदस्यीय वार्ता समिति नै गठन गरिसकेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा वरिष्ठ नेता शरत सिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेका छन् । लोसपाको वार्ता समिति र एमाले नेतृत्वबीच मंगलबार वार्ता गरेर कहाँ कहाँ तालमेल गर्ने भन्नेबारे छलफल गरिने भनिएपनि अहिलेसम्म समय निश्चित नभएको लोसपा नेता लक्ष्मणलाल कर्णले बताए ।

‘आज एमालेसँग वार्ता गर्ने कुरा थियो । अहिलेसम्म कुनै खवर आएको छैन’, कर्णले भने, ‘वार्तामा बसेपछि बल्ल कुरा सुरु होला ।’  

यसैगरी त्रिपाठीले नेतृत्व पार्टीले एमालेसँग संघमा ५ देखि ७ र प्रदेशमा ८ देखि १० सिटमा दाबी गरेको छ ।  सो पार्टीका महासचिव ईश्वर दयाल मिश्रले नयाँ पार्टी भएकोले धेरै सिटहरूका दाबी नगर्ने तर चुवान तालमेल गरेर जित्न सकिने क्षेत्रहरू नछाडिने रातोपाटीलाई बताए । 

एमालेले कहाँ–कहाँ गर्दैछ तालमेल ?

एमालेले क्षेत्रगत रुपमा फरक फरक पार्टीसँग चुनावी तालमेल गर्ने रणनीति बनाएको छ । लोसपासँग र जनमत पार्टीसँगको तालमेल मधेस प्रदेश केन्द्रीत हुनेछ भने राप्रपासँगको तालमेल झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौ, सिन्धुपाल्चोक लगायतका जिल्लामा हुनेछ । त्यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालसँग मकवानपुर, काठमाडौ र हृदयेश त्रिपाठी नेतृत्वको पार्टीसँग नवलपरासी र कपिलबस्तुमा हुने एमाले नेताहरुको भनाइ छ । 

त्यस्तै कांग्रेससँग असन्तुष्ट गोविन्दराज जोशी पक्षसँग पनि एमालेले चुनावी तालमेल गर्ने तयारी गरेको छ । जोशीसँग तनहुँ र वीपी कांग्रेससँग डडेलधुरा लगायतका जिल्लामा तालमेल गर्ने एमालेको तयारी छ । गत शुक्रबार मात्रै वीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल ओली निवास बालकोट पुगेर दुई घण्टा छलफल गरेका थिए । ओली र मल्लबीचको छलफलका क्रममा गठबन्धनका उम्मेदवार हराउने सर्तमा एमालेले देउवाको गृहजिल्ला डडेलधुरामा एमालेले सघाउने र त्यसको साटो कैलालीमा वीपी कांग्रेसले एमाले उम्मेदवारलाई सघाउनेबारे छलफल भएको थियो । यस्तै एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग पनि एमालेले तालमेल गर्ने बताइएको छ । 

गठबन्धनको निर्णय कुर्दै ओली

मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवारको उम्मेदवारी दर्ता असोज २३ गतेलाई तोकिएको छ । सो समयलाई मध्यनजर गर्दै सवै राजनीतिक दलहरु आफ्ना उम्मेदवार तय गर्न आन्तरिक गृहकार्यमा लागेका छन् । सत्ता गठबन्धनमा महिनौँदेखि सिट बाँडफाँटका लागि गृहकार्य भएपनि सहमति जुट्न सकेको छैन । कांग्रेसकै शेखर कोइराला पक्षले समानुपातिक उम्मेदवार छनोटमा पार्टीमा न्यायसंगत नभएको भन्दै विद्रोहको चेतावनी दिएको छ । यस्तो अवस्थामा गठबन्धनभित्रको असन्तुष्टिलाई समेत मध्यनजर गरेर एमालेले प्रत्यक्ष तर्फका आफ्ना उम्मेदवार टुंगो लगाउने भएको छ ।

एमालेका एक पदाधिकारीका अनुसार गठबन्धनले सिट बाँडफाँट गरेपछि मात्रै एमालेले उम्मेदवार टुंग्याउने रणनीति बनाएको छ । ‘हामी लगभग तयार अवस्थामा छौ । गठबन्धनले कसरी सिट बाँडफाँट र उम्मेदवार तय गर्छ त्यसको समेत विश्लेषण गरेर कसलाई उम्मेदवार बनाउने वा कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्छ’, ओली निकट ती पदाधिकारीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप