मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटको टुङ्गो नलाग्दै घरदैलो

मङ्गलबार, ११ असोज २०७९, १६ : ०७
मङ्गलबार, ११ असोज २०७९

आसन्न निर्वाचनमा टिकटको टुंगो नलाग्दै नेताहरूले  प्रचार अभियानलाई तीव्रता दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शम्भु यादवले लोसपाको तर्फबाट मधेस प्रदेशको सप्तरी क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने भन्दै प्रचार प्रसारलाई तीव्रता दिएका हुन् । 

सो क्षेत्रबाट शम्भुसहित अन्य पाँचको नाम केन्द्रमा सिफारिस भएको छ । त्यसमा शम्भु यादवको नाम चौथो नम्बरमा छ । सूचीको एक नम्बरमा शैलेश चौधरीको नाम छ भने दुई नम्बरमा डा.शरतसिंह यादवको रहेको छ । त्यसपछि क्रमशः विनोद यादव, शम्भु यादव र राजकुमार दासको नाम सिफारिस भएका छन् । नाम सिफारिस भएकै दिनदेखि उनी सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट प्रचार प्रसार सुरु गर्नुको साथै घरदैलो पनि सुरु गरेका छन् । 

२०७४ को स्थानीय तहको चुनावमा शम्भु यादव तत्कालीन राजपा नेपालको तर्फबाट राजविराज नगरपालिकाको मेयरमा विजयी भएका थिए । तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर जसपा नेपाल बनेको थियो । पछि पार्टी विभाजन भएर लोसपा बन्दा उनी जसपामै बसेका थिए । तर २०७९ को स्थानीय तहको चुनावमा उनले जसपाबाट टिकट नपाउने भएपछि माओवादी केन्द्रमा प्रवेश गरेर मेयर पदमा चुनाव लडेका थिए । तर उनी चुनाव हार्न पुगेका थिए ।

माओवादीबाट मेयरमा चुनाव हारेपछि उनले मधेस प्रदेशको प्रदेशसभामा चुनाव लड्ने प्रस्ताव पार्टीमा राखे । तर प्रदेशसभामा माओवादीका उमेश यादव लड्ने भएपछि उनी सो पार्टी छाडेर लोसपामा प्रवेश गरे । शम्भु यादव भन्छन्–‘टिकट कन्फर्म भएर नै म प्रचार प्रसारमा लागेको हुँ, १५ दिनदेखि घरदैलो गरिरहेको छु, चार–पाँच दिनमा घरदैलो कार्यक्रम पनि सकिनेछ ।’ 

पाँचजनाको नाम सिफारिस भएपनि टिकट पाउने आफूले नै हो भन्दै उनले पार्टीले आफूलाई टिकट दिनेमा विश्वस्त रहेको बताए । उनको उम्मेदवारीको विषयमा पार्टीमा पनि विरोध भइरहेको छ । विभिन्न पार्टी चहार्दै आएका व्यक्तिलाई टिकट दिन नहुने भन्दै सोही क्षेत्रका अर्का उम्मेदवार शैलेश चौधरीले विरोध गरेका छन् । तर नेता शम्भु यादवले आफू सद्भावना पार्टीदेखि नै मधेस राजनीतिमा लागेको बताउँदै विभाजन हुँदा आफूले जसपा नछाडेको तर जसपाले टिकट नदिँदा माओवादीको हँसिया हथौडाबाट चुनाव मात्र लडेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप