मदन पुरस्कार विजेता लम्साल

अक्षर, समय र ईश्वरलाई धन्यवाद !

person explore access_timeअसोज ११, २०७९ chat_bubble_outline0

आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रा मेरो अभिष्ट । आज म धन्य छु, धन्यधन्य भएको छु ।
म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति÷स्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । आज यो भव्य सम्मान ग्रहण गरिरहँदा ती सबै अग्रजहरूप्रति नतमस्तक छु ।


ज्ञान परम्परा र वर्तमान
हो, आज म बाँचेको युग सङ्गत÷विसङ्गतको दोसाँधमा छ । जीवनका आयाम र आयतन अनुत्तरित छन् । अन्योलपूर्ण उत्साह र उत्साहपूर्ण अन्योलको बीचबाट मान्छेको जीवन थर्थराएको छ । छन्, धेरैधेरै प्राप्ति छन्, आविष्कार, प्रविधिको विस्तार, भौतिक विकास, विश्व सम्पर्क, उत्पादन, यान्त्रिक सुविधाआदि प्रशस्त छन् तर पनि किन अन्तर उज्यालो हराउँदै गएझैँ लाग्छ ? किन बाहिरी उज्यालोले आफैँ तिर्मिराएझैँ लाग्छ ? के हो यो, सार कि निस्सार ? आफूभित्रको आफैँ किन हेर्दैन मान्छे ? आफैँभित्र के देखिन्छ ? किन देखिन्छ र कसरी देखिन्छ ? बाहिरी हेराइ बहुरूप र बहुकोणमा त छ तर पनि मान्छे भित्रको स्वतन्त्र, अविभाज्य र स्वाधीन अस्तित्व कहाँ छ ? अन्तर स्वतन्त्रताको मूल धमिलिएको त छैन ? मुहानको शान्ति खलबलिएको त छैन ? लेख्नु भनेको यही स्वाधीन स्वत्वको उपल्लो अभिव्यक्ति हो । लेख्नु भनेको निराशा बग्ने धमिलो नदीलाई शुद्ध÷सङ्लो पार्नु हो ।



आज कहाँ पाउनु वेदका ऋचा लेखूँजस्तो लाग्ने नदी किनार ? समवेत स्वरमा देउराली घन्किने गायन कहाँ पाउनु ? कहाँ पाउनु लगौँटी कँसेर खगोल अध्ययन गर्ने ज्योतिष बा र कहाँ पाउनु उही पवित्र स्वरमा टाढा कतै गुन्जिरहेको आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डितः ? कतै समय, हृदय र मान्छे आपसमा छुट्टिएर आआफ्नै बाटोमा लागेका त होइनन् ?



म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति/स्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म ।


आज आफ्नै कञ्चन रङमा फूलले हाँस्न सकेको छैन । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुनसक्छ ?

क्षमा गर्नुस्, यो निराशा होइन । म पुराना सन्दर्भतिर फर्कन खोजको मात्रै हुँ । आफूले आफैँलाई सम्झन खोजेको हुँ । षड्दर्शन, षड्शिक्षा, अन्तरको अँध्यारो फाल्ने शैक्षिक साधना र वयं राष्ट्रे जागृयामसँग आजको शिक्षाको सम्बन्ध के होला, होला कि नहोला ? 

दुरुह, क्लिष्ट र खतराजन्य ज्ञानले जीवनलाई जीवन बनाउला कि यन्त्र ? मान्छे मान्छे हो कि मेशिन ? हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ?

ज्ञान अन्तर उज्यालो हो कि आर्जनको भर्‍याङ ? मानव जीवन रहस्य हो कि समस्या ? सत्यको परख कसरी गर्ने ? बाँच्नुको दर्शन के हो ? लेख्नु आनन्द हो कि परिवर्तन ? दुवै हो कि, दुवै होइन ? मेरा अक्षरहरू मैलाई सोधिरहन्छन् र आफ्नै प्रश्नले आफैँ थिल्थिलो हुन्छु, आफैँ निथ्रुक्क हुन्छु ।

लेख्नुअघि म आफैँलाई विनम्रतापूर्वक सोध्छु, लेख्ने के हो, पढ्ने के हो ? पढ्ने पाठक को हो ? यही विषय नलेखे के हुन्छ ? मैले नलेखे के हुन्छ र अहिल्यै नलेखे के हुन्छ ? साँच्चै कहिल्यै नलेखे के हुन्छ ? लेख्दै नलेखे के हुन्छ ? लेख्नु भन्नु त आफैँ पोखिनु हो । पोखिनुअघि पूर्ण रूपमा भरिनु जरुरी छ । आज कुन लेखक कहाँबाट कुन अमृत बिन्दु टिपेर कसरी भरिने हो ?

चक्र शरीरमा पनि छ र समाजमा पनि छ । षड्चक्रभन्दा माथि छ, सहस्रार चक्र । जीवनका गिर्खागिर्खीभन्दा माथि छ, साधनापूर्ण विजय प्राप्त गरेपछि अनुभूत हुने त्यो उपल्लो मेधा शक्ति । लेखनको उद्देश्य त त्यतै जाने र लैजाने हो । एक्लै गएर कहीँ पुगिन्न । सँगै जानु छ समाजसँगै, सँगसँगै र हिँड्न नसक्नेलाई पनि सँगसँगैै लैजानु छ अक्षरको बाटो हिँडाएर– संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् ।

महाकाव्य परम्परा र अग्नि
महाकाव्य परम्परा महाजीवन परम्परा भएर समाजमा लपक्क छ । रामायण र महाभारत हुन् वा अन्य विविध धार्मिक ग्रन्थहरू । भानुभक्त आचार्यको रामायण, शाकुन्तलआदि देवकोटेली महाकाव्य विरासत, आफैँ तात्न खोजेको चिसो चुलो, नरसिंह अवतारआदि हुँदै बगेको महाकाव्य परम्परामा अग्नि भएर मिसिन पाउँदा मभित्र खुसीको भर्भराउँदो ज्वाला उठेको छ ।  

हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ?


यसो भन्नु मेरो घृष्टता पनि होला तर भन्न मन छ – आज अग्निलाई साथमा राखेर यसरी उभिन पाउँदा सीमान्तकृत कर्ण, नेपाली धराको बहुलता र जनताको मुक्ति आवाज एकै पटक सम्मानित भएको महसुस गरेको छु ।

लेखकीय सत्ताको सर्वोच्चता 
मान्छेभित्रको मनुष्यत्व र त्यही मनुष्यत्वको अविभाज्य स्वतन्त्र चेतना मान्छेको मूलशक्ति हो । स्वतन्त्र मान्छेले मात्र स्वतन्त्र धारणा बनाउन सक्छ र त्यही धारणाको स्वस्फूर्त नित्य निमग्नता लेखनकोे जग हो । आदेश, उपदेश वा कुनै पनि निर्देशनको परिधीय सीमा लेखनसत्ता हुन सक्तैन । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ ।

नीति कि अनुभूति ? बोध कि अवधारणा ? परिवर्तन कि रूपान्तरण ? अन्तरबोध कि वचनको भारी ? चित्र र चरित्रको भित्री भेद खुट्टिएन भने लेखकीय इमान मर्छ । लेखकीय इमान मर्नु भनेको व्यक्ति स्वतन्त्रता र लेखकीय सत्ताको संयुक्त मृत्यु हो । 

कुनै योगीको ब्रह्मस्वरूप आनन्द र कविता उज्यालोको आलम्वन, मलाई उस्तै उस्तै लाग्छ ।  चैतन्यबोध गरेको योगी त्यो चरम आनन्द बताउन सक्तैन तर एउटा कवि त्यही आनन्दमा पुगेपछि बल्ल उपल्लो कविता लेख्न शुरु गर्छ र काव्य निर्माण हुन्छ । कविता भन्नु आफैँलाई बिर्सिएपछिको आफ्नै बोधको उपल्लो कोटिको उज्यालो हो । 

र अन्त्यमा 
आजको यो क्षण मेरो जीवनकै उपल्लो खुसीको क्षण हो । मेरो लेखन कर्मले फेरि एक पटक सामाजिक स्वीकृति पाएको छ । जीवनमा यो ठाउँमा यसरी उभिन आइपुग्छुजस्तो लागेको पनि थिएन । अक्षर, समय र ईश्वरलाई धन्यवाद । 
यतिखेर अग्नि महाकाव्यको पात्र ठुले कामीलाई सम्झेको छु । छेलाङी विश्वकर्मा र जुनीमायालाई सम्झेको छु । अर्धनग्न शरीर लिएर आरनमा प्यात्त निदाइरहेका तिनका सन्तानलाई सम्झेको छु । 
मैले खोज्दै हेर्दै हिँडेका आरनहरू सम्झेको छु । त्यहाँका अग्निज्वाला सम्झेको छु । आफैँभित्रका निजी आवेग, संवेग सम्झेको छु र आफ्नै सात वर्षकी नातिनी आयरालाई सम्झेको छु, जो अग्नि लेख्ने बेला मेरो काखमा लुटुक्क निदाउँथी ।

सम्झनाको यो उज्यालो, मेरो अन्तरको उज्यालो र त्यो परको परम दिव्य उज्यालो एकाकार होस्, चैतन्यतर्फको अक्षर यात्रा जारी राख्न सकूँ । अक्षर ईश्वर हो र यसैको पूजामा निरन्तर निरन्तर लागिरहनु सकूँ । सबैको आशीर्वाद मिलोस् ।

(मदन पुरस्कार विजेता कवि नवराज लम्सालले मंगलबार आयोजित पुरस्कार वितरण समारोहमा दिएको मन्तब्यको सम्पादित सार)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।