शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम

मङ्गलबार, ११ असोज २०७९, १९ : ३३
मङ्गलबार, ११ असोज २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालको समीक्षा गरेका छन् । उनले मन्त्रीमा पदबहाली गरेको ९० दिनको अवसरमा गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । 

टडकारो रूपमा देखिएको वैदेशिक रोजगार सम्बन्धी सबैको चासोको विषय बनेको छ । मन्त्री कुँवरले उक्त विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका बताएका छन् । सीपसहितको आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न नसकिने उनको ठहर छ । 

नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको प्राविधिक सहयोगमा सम्भवतः राष्ट्रिय स्तरमा दक्षिण एसियामै पहिलो पटक नेपालमा अनौपचारिकताको निदान सम्बन्धी कार्ययोजना बनाउने प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ । यो कार्यले श्रमिकहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्न सजिलो हुने र समग्र देशको अर्थ नीतिलाई औपचारिक करण गर्दै मुलुकको विकासमा थप टेवा पुग्ने मन्त्री कुँवरले विश्वास लिएका छन् । 

मन्त्री कुँवरले आफ्नो ९० दिने कार्यकालमा आन्तरिक रोजगारीको प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुने गरी कार्यान्वयन गरिएको जनाएका छन् । त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण सम्बन्धी निर्देशिका, २०७९ स्वीकृति भएको छ । यसबाट आप्रवासन प्रक्रियाको महत्त्वपूर्ण कार्य गर्न सहयोग र सहजीकरण हुनेछ ।

स्विस सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन एकीकरण परियोजना (रेमी) संघीय, प्रादेशिक र स्थानीय तहमा सञ्चालन हुने गरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुनः कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको छ । दक्षिण कोरिया सरकार (कोइका) को सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । त्यस्तै रोजगारी सम्बन्धी कार्यक्रमहरूको एकीकृत तथ्यांक व्यवस्थापनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गर्न उच्चस्तरीय समिति गठन भई काम भइरहेको छ ।  

श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भई तदनुरूप जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप