शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नेपालीलाई विश्वकप फुटबल हेर्न महँगो पर्ने, नर्ससँग पैसा असुलेको गुनासो

मङ्गलबार, ११ असोज २०७९, २० : ५६
मङ्गलबार, ११ असोज २०७९

 

आज २०७९ साउन असोज ११ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुने 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गर्दैछ । आज मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । 

बाबुराम ‘इन’ नारायणकाजी ‘आउट’

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई बलियो दाबेदार बनेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए । तर, राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठ भट्टराई ‘इन’ भएसँगै ‘डेन्जर जोन’मा पर्दै चुनाव नै नलड्ने निष्कर्षमा पुगेका छन् । 


९० दिनमा गरेका महत्त्वपूर्ण काम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालको समीक्षा गरेका छन् । उनले मन्त्रीमा पदबहाली गरेको ९० दिनको अवसरमा गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । ​

बिग मर्जर नीतिको प्रभाव 

नेपाल राष्ट्र बैंकले लिएको बिग मर्जर नीतिले बैंकहरुको संख्या कम र पुँजीकोष वृद्धि हुन थालेको छ । पछिल्लो समय बढ्दो बैंक मर्जरको लहरले अबको केही महिनाभित्रै वाणिज्य बैंकहरुको संख्या घटेर २१ मा झर्नेछ । कुनै समय ३२ वटासम्म वाणिज्य बैंक रहेकोमा सो संख्या घटेर अहिले २६ वटामा झरिसकेको छ । थप १० वटा बैंकहरु मर्जरको लाइनमा छन् । 

दसैँ चहलपहल 

दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसलदेखि मोबाइल पसलसम्म भिड उस्तै बाक्लो छ ।

नागरिकतामा राजनीति

नेपालमा हरेक राजनीतिक परिवर्तनपछि नागरिकताको विषयमा  बहस र विवाद हुँदै आएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको नागरिकता विवादको अहिलेसम्म दीर्घकालीन समाधान हुन सकेको छैन । नागरिकताको विषयमा पटकपटक ‘हट इस्यू’का नयाँनयाँ विवाद र समस्या आउने गरेका छन् ।

नेपालीलाई विश्वकप फुटबल हेर्न महँगो पर्ने

सन् २०१८ को विश्वकप फुटबल हेर्न दर्शकले नेपालकै दुई वटा तथा विदेशका अन्य टेलिभिजनहरुमा पनि सजिलै पाएका थिए, त्यो पनि कुनै अतिरिक्त शुल्क नतिरी । नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनबाहेक स्टार स्पोर्टस् र सोनी च्यालनमा विश्वकप हेरेका दर्शकले यसपटक ती च्यानलबाट विश्वकप हेर्न पाउने छैनन् । त्यसका लागि उनीहरुले अतिरिक्त शुल्क तिरेर छुट्टै च्यानलमा विश्वकप हेर्नुपर्नेछ ।

एमालेको ‘चुनावी सारथि

राष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल गर्न तयार भएपछि एमाले पनि त्यसमा सकारात्मक भएको एमाले नेताहरुको भनाइ छ ।

नर्ससँग पैसा असुलेको गुनासो

सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससँग विभिन्न वहानामा पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न एजेण्ट तथा कन्सल्टेन्सीले पैसा उठाइरहेको गुनासोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । 

जीतको खुसी

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप