शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा सैन्य ‘कू’ को हल्ला : सी जिनपिङ यहाँ देखिए

बुधबार, १२ असोज २०७९, ०९ : २२
बुधबार, १२ असोज २०७९

चिनियाँ राष्ट्रपति सी चिनपिङ एससीओ शिखर सम्मेलनबाट फर्केपछि मंगलबार पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन् । उनी कम्युनिष्ट पार्टीको प्रदर्शनी हेर्न आएका थिए । पार्टी र देशले विगत एक दशकमा हासिल गरेका उपलब्धिको बारेमा यो प्रदर्शनी भएको थियो, जसको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

समाचार एजेन्सी पीटीआईले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै भनेको छ – प्रदर्शनीमा सी जिनपिङले चिनियाँ योग्यताका साथ समाजवादको नयाँ विजयतर्फ अघि बढ्न ठोस प्रयास आवश्यक रहेको बताए ।

सैन्य ‘कू’को चर्चा

यस पटक सी जिनपिङको सार्वजनिक उपस्थिति यसकारण पनि महत्त्वपूर्ण छ किनभने केही दिनअघि चीनमा सैन्य ‘कू’ को समाचार सामाजिक सञ्जालमा ट्रेन्डिङ हुन थालेको थियो । यसलाई अफवाह पनि भनिएको थियो ।

यसैबीच, चिनियाँ राजधानी बेइजिङमा कम हवाई उडान भइरहेको दाबी गरियो र बेइजिङतर्फ जाने चिनियाँ सैन्य गाडीको भिडियो पनि भाइरल भयो ।

सेप्टेम्बर १६ मा उज्वेकिस्तानमा भएको सांघाई सहयोग संगठनको बैठकबाट फर्किएपछि सी जिनपिङलाई नदेखिएको भनेर धेरैले लेखिरहेका थिए । यस्तै, चीनको जनमुक्ति सेनाले सी जिनपिङलाई घरमै नजरबन्दमा राखेको र सी जिनपिङको नेतृत्वलाई लिएर चिनियाँ कम्युनिष्ट पार्टीमा मतभेद भएको पनि धेरैले बताएका थिए ।

तर, यी समाचारहरूको बारेमा कुनै ठोस जानकारी बाहिर आएको छैन र मंगलबार सी जिनपिङ आफै सार्वजनिक रूपमा देखा परेका छन् । अहिले सार्वजनिक भएको भिडियोमा सी जिनपिङसँगै धेरै अधिकारीहरु प्रदर्शनीमा पुगेका छन् ।

विज्ञहरूका अनुसार सी जिनपिङ सार्वजनिक रूपमा अनुपस्थित हुनुको कारण चीनको शून्य(कोविड नीति हो, जसले विदेशी यात्राबाट फर्केपछि अनिवार्य सात दिन क्वारेन्टाइन र तीन दिन घरमा बस्नुपर्छ ।

तर, यी हल्लालाई चिनियाँ सञ्चारमाध्यममा उल्लेख गरिएको छैन र राष्ट्रपतिको भ्रमणको मात्र जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप