मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने

बुधबार, १२ असोज २०७९, १० : ४३
बुधबार, १२ असोज २०७९

जलवायु परिवर्तनको असर न्यूनीकरण  तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समिटकाे आयोजना गर्न लागेका हुन । ताहाचलस्थित होटल सोल्टी काठमाण्डौमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।

पत्रकार सम्मेलनमा एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष एव एनआरएनका पूर्व अध्यक्ष शेष घलेले विश्वमै वातावरणीय र आर्थिक रुपले बलियो विकल्पका रुपमा देखा परेको हाईड्रोजन उत्पादनलाई नेपालमा पनि सम्भाव्य बनाउने बहस गर्न समिट आयोजना गरिएको जानकारी दिए । ‘हरित हाईड्रोजन उत्पादनमा सरकारले अब प्रष्ट भिजन बनाएर निजी क्षेत्रलाई पनि अग्रसर बन्ने वातावरण बनाउनु पर्छ,’ उनले भने, ‘दातृ निकाय, निजी क्षेत्र पनि अब नेपालमा हाइड्रोजन उत्पादन सम्भाव्य बनाउने तर्फ अग्रसर हुनुपर्छ ।’
 
पत्रकार सम्मेलनमा ग्लोबल एनआरएन फाउण्डेसनकी संस्थापक सदस्य जमुना घलेले सम्मेलनमा हाइड्रोजन उत्पादनका सन्दर्भमा अन्तरराष्ट्रिय अनुभव हालसम्मको ज्ञान र प्रविधि नेपालमा गर्नुपर्ने नीतिगत तथा अन्य व्यवस्थाका विषयमा गम्भिर मन्थन हुने जानकारी दिए । ‘जलस्रोतको अपार सम्भावनालाई हाइड्रोजन उत्पादनमा पनि उपयोग गरी वातावरण, जनस्वास्थ्य, निर्यात व्यापारको सुधारका लागि पनि उपयोगमा ल्याउन सवै सरोकारवाला लाग्न जरुरी छ,’ उनले भने ।

त्यस्तै विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुसल गुरुङले सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिए । ग्लोबल एनआरएन फाउन्डेसनकी संस्थापक सदस्य जानकी गुरुङले सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने बताए ।

नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । त्यस अर्थमा यो हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलन हो । योसँगै नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन, हरित एमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने उदेश्य छ । त्यस्तै अन्तराष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल टेन्डको बारेमा जानकारी पनि दिनेछन् । हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने पनि सम्मेलनको उदेश्य रहेको गुरुङले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप